कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४७६ दिनपछि खुल्यो रेलको 'घुम्टो', ईनर्वादेखि कुर्थासम्म सफल परीक्षण

श्यामसुन्दर शशि

जनकपुर — सीमावर्ती ईनर्वा रेल्वे स्टेशनमा थन्काइराखिएको नेपाल रेल्वेको दुई सेट रेलको 'घुम्टो' ४ सय ७६ दिनपछि हटाइएको छ । त्रिपाल ओढाइराखिएको उक्त रेलको शनिबार ईनर्वादेखि कुर्थासम्म गुडाएर परीक्षणसमेत गरिएको छ।

४७६ दिनपछि खुल्यो रेलको 'घुम्टो', ईनर्वादेखि कुर्थासम्म सफल परीक्षण

सम्बद्ध प्राविधिकहरूले रेलको परीक्षण सफल भएको जानकारी दिएका छन् । उक्त रेल २०७७ साल असोज ३ गते भारतीय कम्पनी कोंकन रेल्वे कार्पोरेशनका मेकानिकल विभागका प्रमुख दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण भएको साढे १४ महिनादेखि दुवै थान रेल सेट सशस्त्र प्रहरीको सुरक्षामा ईनर्वामा राखिएका थिए । एक वर्षे वारेन्टीसहित नेपाल रेल्वेले भारतीय कम्पनीसँग उक्त रेल सेट ८४ करोड ६५ लाखमा खरिद गरेको थियो ।

साढे १४ महिनादेखि रोकेर राखिएका रेल सेटको इन्जिन, ब्याट्री, चक्का, नाइनल, पिस्टन, जेनरेटर, मोबिल आदिमा खराबी आए/नआएको जाँच गर्न परीक्षण गरिएको महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । रेल सञ्चालनको सम्पूर्ण तयारी पूरा भइसकेकोले फेब्रुअरी मध्यसम्म नियमित रेल सेवा सञ्चालन हुने महाप्रबन्धक झाले बताएका छन् ।

परीक्षण सञ्चालनमा महाप्रबन्धक झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलासहित सुरक्षा निकायका उच्च अधिकारीहरू पनि सहभागी थिए ।

प्राथमिक चरणमा रेल सञ्चालन गर्न तथा नेपाली प्राविधिकहरूलाई तालिम दिन भारतको कोंकन रेल्वे कार्पोरेशन र नेपाल रेल्वेबीच डेढ वर्षअघि तत्कालीन महाप्रबन्धक गुरुप्रसाद भट्टराईकै पालामा समझौता भएको थियो । समझौता अनुसार कोंकन रेल्वे कार्पोरेशनले २६ सदस्यीय चालकसहितका प्राविधिक टोली उपलब्ध गराउने तथा सोही टोलीले रेल सञ्चालनमा सहयोग गर्नुका साथै नेपाली प्राविधिकलाई तालिम दिने उल्लेख छ ।

रेल्वे कम्पनी श्रोतबाट प्राप्त जानकारी अनुसार प्राविधिक सहयोग गरेवापत भारतीय कम्पनीलाई २२ करोड भारतीय रुपैयाँ भुक्तानी गर्नु पर्ने छ । जसको पहिलो किस्ता भारतीय कम्पनीलाई भुक्तान गरिसकिएको महाप्रबन्धक झाले कान्तिपुरसँगको फोन सम्पर्कमा भनेका थिए ।

शनिबार सोही कोंकन रेल्वे कार्पोरेशनका चालकदलले रेल गुडाएका हुन् । कार्पोरेशनका ८ जना प्राविधिक गत सातादेखि सीमावर्ती भारतीय नगर जयनगरमा छन् । विधिवत रेल सञ्चालन हुनुअघि नेपाली प्राविधिकलाई तालिम दिनु आवश्यक भएको उल्लेख गर्दै नेपाल रेल्वे कम्पनी पुस २६ गतेदेखि जनकपुरको मत्स्य विकास केन्द्रमा १५ दिने तालिम सञ्चालन गर्दैछ । श्रोतका अनुसार तालिममा सहभागी हुने ५५ कर्मचारीको नाम पनि सम्बन्धित निकायलाई बुझाइसकिएको छ ।

तर तालिममा सहभागी हुने कर्मचारीहरूको नाम भने सार्वजनिक गरिएको छैन । यस्तै तोकादेशको आधारमा कर्मचारी भर्ना गरिने बुझिएको छ । तत्कालीन महाप्रबन्धक भट्टराईले यसअघि तोकादेशको आधारमा नियुक्त गरेका कर्मचारीको हाजिर वर्तमान महाप्रबन्धक झाले भने रोक्का गरेका थिए । जबकि तीमध्ये केही कर्मचारीले कोंकन रेल्वे कार्पोरेशनका प्राविधिकहरूसँग पहिलो चरणको तालिमसमेत लिइसकेका थिए । कार्पोरेशनले उक्त तालिमवापत ८० लाख रुपैयाँ नेपाल रेल्वे कम्पनीसँग भुक्तानी गर्न ताकेता गरेको छ ।

प्रकाशित : पुस २४, २०७८ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?