कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सामा २० घण्टाभित्र २ बालबालिकाको शव भेटियो

शंकर आचार्य

पर्सा — पर्सामा २० घण्टाको अवधिमा २ जना बालबालिकाको शव फेला परेको छ । वीरगन्ज महानगर र जगरनाथपुर गाउँपालिकामा शुक्रबार साँझ र शनिबार बिहान २ बालबालिकाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार वीरगन्ज महानगरपालिका-१६ कञ्चनजंघा स्कुल नजिकै नयँ निर्माणाधीन घरको उत्तरतर्फको चेपमा शनिबार बिहान ११ बजे वीरगन्ज–१५ भिष्वामा डेरा गरी बस्ने सरोज कुशवाहाकी करिब १० वर्षीया छोरी रिजवाना खातुन मृत अवस्थामा फेला परेकी छन् ।

निधारमा चोट रहेको अवस्थामा बालिकाको शव फेला परेको छ । रिजवाना कुशवाहाकी झड्केलो छोरी हुन् । घटनापछि नाताभित्रकै शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेको छ ।

अनुसन्धानका लागि प्रहरीले घटनास्थल र वरपर तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । यसअघि शुक्रबार साँझ साढे ४ बजे जगरनाथपुर गाउँपालिका वडा नं ६ सन्ठी बस्ने नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेल मृत अवस्थामा फेला परेका थिए ।

घर नजिकै उखु बारीमा बालकको शव घोप्टो र घाँटीमा गम्छाले बाँधेको अवस्थामा फेला परेको थियो । बालक चार दिनदेखि घर परिवारको सम्पर्कमा नरहेको अभिभावकले प्रहरीलाई बताएका थिए । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १ जनालाई नियन्त्रणमा लिनुका साथै ३ जनासँग सोधपुछसमेत गरिरहेको डिएसपी खनालले बताए ।

प्रकाशित : पुस २४, २०७८ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?