कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओसिएको धान फिर्ता

शंकर आचार्य

पर्सा — किसानले चिसो धान ल्याएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगन्ज शाखाले फर्काउन थालेको छ । शाखा प्रमुख नरनाथ अधिकारीले किसानले बिक्रीका लागि ल्याएको धान ओसिएको भेटिएपछि फर्काउने गरेको बताए ।

ओसिएको धान फिर्ता

‘दैनिक २ देखि ४ किसानको धान यसरी फर्काउने गरेका छौं,’ उनले भने, ‘किसानलाई धान राम्रोसँग सुकाएर पुनः कम्पनीलाई बिक्री गर्न ल्याउन आग्रह गरेर फर्काउने गरिएको छ ।’ १८ प्रतिशतसम्म सुकेको धान कम्पनीले खरिद गर्ने गरेको उनले सुनाए । ‘हाम्रो म्वाइस्चर नाप्ने उपकरणले धानमा चिस्यानको परीक्षण गर्ने गरेका छौं, त्यसपछि १८ प्रतिशतभन्दा कम सुकेको पाइए त्यस्तो धान फिर्ता पठाउने गरेका छौं,’ उनले भने, ‘चिसो धान किन्दा कुहिने र बिग्रिने सम्भावना हुने भएकाले आवश्यक सजगता अपनाएका हौं ।’

सामान्यतया किसानले आफैं काटेर खेतमा सुकाउन राखेको धान सुक्ने तर मेसिनले काट्ने धान तुलनात्मक रूपमा कम सुक्ने गरेको पाइएको उनले बताए । पछिल्लो केही वर्ष यता कम्बाइन हार्भेस्टर उपकरणको प्रयोग गरी धान काट्न थालिएको छ । यो उपकरणले हरियै धानको बाला पनि काट्ने गरेकाले सुक्ने मौका कम मिल्छ ।


यसबाहेक एक सातायता बढेको चिसोको कारण पनि किसानको धान सुक्न पाएको छैन । सातायता केही दिन घामनै लागेको छैन । सोमबारयता घाम लागे पनि अत्यधिक चिसोको कारण धान सुक्न पाइरहेको छैन । सोमबारसम्म शाखाले ८ हजार ६ सय ५० क्विन्टल ३३ किलो सोना मन्सुली धान खरिद गरिसकेको छ । त्यसैगरी, ३२ क्विन्टल २० किलो जिरा मसिनो धान पनि शाखाले खरिद गरेको छ । शाखाले यस वर्ष १५ हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल जिरा मसिनो धान खरिदको कोटा पाएको छ । सोना मन्सुलीको कोटाको आधाभन्दा बढी धान खरिद भइसकेको छ । कोटा पूरा भएपछि थप धान खरिद गर्ने नगर्ने कुरो यकिन हुने अधिकारी बताउँछन् ।


केन्द्रबाट प्राप्त निर्देशनअनुसार धान खरिद गर्ने नगर्ने निर्णय हुनेछ । शाखाले सोना मन्सुली धान २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा प्रतिक्विन्टल मूल्यमा खरिद गरिरहेको छ । जिरा मसिनो धानको प्रतिक्विन्टल ३ हजार २० रुपैयाँ निर्धारण गरिएको छ । जिरा मसिनोको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गरेको हो भने सोना मन्सुलीको मूल्य मन्त्रिपरिषद्ले निर्धारण गरेको हो ।


व्यापारी तथा किसानबाट पनि भारतीय धान बिक्री गर्न ल्याउन सक्ने सम्भावना रहेकाले यसतर्फ पनि आवश्यक सजगता अपनाइएको शाखा प्रमुख अधिकारी बताउँछन् । ‘धान लिएर २/३ पटकसम्म आएका तथा व्यापारी रहेको शंका लागेकालाई धानसहित फिर्ता पनि पठाउने गरेका छौं,’ उनले भने, ‘किसान र व्यापारी चिन्न गार्‍हो, धान पनि नेपाली र भारतीय छुट्याउन गार्‍हो हुन्छ, तैपनि धान बिक्री गर्न विक्रेता सबैसँग नागरिकताको प्रमाणपत्र लिने र शंका लागेकाबाट सम्बन्धित वडा कार्यालयको सिफारिस पनि लिने गरेका गरेका छौं ।’

प्रकाशित : पुस ९, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?