कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शरीरमा सात गोली लागेका बने रोजगारदाता

सुनिता बराल

(महोत्तरी) — शरीरभरी गोलीका घाउ । गोलीका डोवले शरीरमा छालाको सतह नमिलेको प्रस्टै देखिन्छ । शरीरभरी जताततै सुकेका डोवैडोव । सशस्त्र द्वन्द्वका बेला सातवटा गोली लागेर घाइते भएका थिए ।

सोलुखुम्बुको काँकु–३ नगियाङमाका ३६ वर्षीय बलनारायण श्रेष्ठ (बलिदान) १६ वर्षे कलिलो उमेरमा माओवादी जनयुद्धमा होमिए । सुरुमा युद्धमा हिँडेकालाई गाउँगाउँ बाटो देखाउन अघि–अघि लागे । युद्धकै बेला उनलाई शरीरका विभिन्न भागमा गोली लाग्यो । गोलीले दुवै खुट्टा नचल्ने भयो । सात वटा गोली लागेर घाईते भएका श्रेष्ठ धेरैका लागि जीवन जीउने ऊर्जा बनेका छन् ।


०५८ असार ५ मा उनी घर छाडेर तत्कालीन माओवादीलाई गाउँ–गाउँमा बाटो देखाउन अघि बढे । पाँच कक्षापछि पढाइ छाडेर गाउँमा हल्लिँदै दिन कटाइरहेका बलनारायणलाई २ दिन बाटो देखाएपछि घर फर्कनै मन लागेन । सबै बन्दुक बोकेका मानिस देख्दा उनलाई पनि बन्दुक बोक्न र चलाउन सिक्न मन लाग्दै गयो । उनी गाउँघरभन्दा तत्कालीन माओवादी आन्दोलनमा हिँडेको समूहमै रमाउन थाले ।


उनलाई न त पढेर जागिर खाने सपना थियो नत घरपरिवारको चिन्ता, उनी देशको राज्यव्यवस्था परिवर्तन हुनुपर्छ भन्दै हिँडेको बताए । ०५९ मा खोटाङको ऐंसेलुखर्कमा भएको युद्धका क्रममा दाहिने खुट्टामा गोली लाग्यो । त्यसपछि ०६० मा सिन्धुली जिल्लाको डकाहामा भएको झडपका क्रममा फेरी देब्रे हातमा गोलि लाग्यो । खोटाङको याम्खामा ०६१ मा भएको भिडन्तका क्रममा चाहिँ उठ्नै नसक्ने गरी शरीरभरी एकैपटक ५ वटा गोलि लाग्यो, उनलाई ।


ढाडमा १, हिपमा २, कुममा १ र खुट्टामा १ गरि ५ वटा गोली लागेर ढलेका उनी झडप भएको अर्को दिन झन्डै १८ घण्टापछि पुन: होसमा आएका थिए । बिहान १० बजेतिरको न्यानो घामको प्रकाशले उनको निधारमा न्यानो महसुस गराएपछि जिउँदै रहेछु भनेर थामिनसक्नुको खुसी मिलेको उनी बताउँछन् ।


विस्तारै–विस्तारै होसमा आएपछि आफ्नो शरीरको कुनै भाग चलाउन नसक्दा अब बाँच्नु बेकार होला जस्तो पनि उनलाई लागेको थियो । ४ महिनासम्म उनले आफ्नो शरीरको कुनै अंग चलाउन नसक्दा जिन्दगी बेकार भयो भन्दै धेरै पटक रोएको सम्झिएर अहिले पनि भक्कानिन्छन् उनी । ‘निदाउँदा साथीहरूसँग जुत्ता लगाएर ठमठम हिँडेको सपना देख्थे,’ उनले भने, बिउझिँदा कम्मर मुनिको भाग हिउँजस्तै जमेको हुन्थ्यो, जीवनमा म त्यतिबेला धेरै रोएको छु ।’ खोटाङको लिकुवापोखरीको धनबहादुर महाराजीको घरमा बिताएको ६ महिनामा साथीहरूको साथले पुनर्जीवन पाएको उनी बताउँछन् । नयाँ जीवन पाएको महसुस भएपनि शरीर सग्लो नहुँदा डेढ सालदेखि प्रेम गरेकी प्रेमिकाले अव साथ नदिने होलिन् भन्ने चिन्ताले उनी साह्रै पिरोलिन थाले । एउटै उद्देश्य र उही लक्ष्यसहित जनयुद्धमै होमिएकी आङछीकी शेर्पा (प्रतिभा) पनि प्रेमिको हालत देखेर रुने मात्रै गर्थिन्, उनको मुखबाट एक शब्द निस्किँदैनथ्यो ।


बलिदान कसैको सहारा बिना केही गर्न नसक्ने अवस्थामा थिए । त्यस्तो अवस्थामा उनीहरूको प्रेम सम्बन्धका बारे जानकार टोली कमान्डरले प्रतिभा र बलिदानलाई विवाहको निधो गर्न निर्देशन दिए । बलिदानले आफ्नो अवस्था हेर्दै प्रतिभाले जीवनभरी पाउने दु:ख सम्झिएर विवाह गर्ने नगर्ने ? राम्ररी सोच भन्दै निर्णय गर्ने जिम्मा प्रतिभालाई दिए । बलिदानको अवस्था देखेर प्रतिभापछि हटिनन् प्रेम गरेपछि विवाह गर्नुपर्छ भन्दै जीवनभर साथ दिने बाचासहित वलिदानको हात थामेको प्रतिभा बताउँछिन् ।


शान्ति सम्झौतापछि काठमाडौँको क्यापिटल अस्पतालमा डाक्टरहरूले बलिदानको शरीरबाट २ वटा गोली निकाले । नेपालमा सम्भव भए जति उपचार पनि बलिदानको भयो । तर पनि बलिदान पूर्ण स्वस्थ हुन सकेनन् । समायोजनको समय राष्ट्रिय सेनामा सक्षम मान्छे जानुपर्छ भन्दै बलिदान ६ लाख लिएर बाहिर निस्के भने प्रतिभा पनि श्रीमान् र काखकी छोरीको लागि ५ लाख लिएर बाहिरिइन् । समायोजनपछि महोत्तरीको बर्दिवास ३ मा उनीहरूले स्थायी बसोवास थाले । बलिदानको अवस्था हेरेर यो मान्छेले काम गर्छ भनि कसैले पत्याएका थिएनन् । आर्थिक आयआर्जनको स्रोत नभएपछि ५ वर्षकी काखकी छोरी श्रीमान्लाई छाडेर प्रतिभा वैदेशिक रोजगारका लागि ०७१ मा मलेसिया गइन् ।


वैदेशिक रोजगारिमा उनीहरूले सोचेसस्तो राम्रो भएन । छोरीलाई आमाको जिम्मेवारी पूरा गर्दै बलिदान घर पेन्टिङको काम थाले । उनीसँग ५२ दिनसम्म सिटिईभिटिबाट तालिम लिएपछि वायरिङसम्बन्धी कामको पनि राम्रो ज्ञान थियो ।


घरमा छोरीको स्याहार सुसार गर्दै बलिदान काममा व्यस्त हुन थालेपछि प्रतिभा पनि बलिदानलाई साथ दिन ०७४ मा नेपाल फर्किइन् । बलिदानले गर्ने घर पेन्टिङ र वायरिङको कामप्रति मानिसहरू विश्वास गर्न थाले । काम दिनुस् भनेर कसैलाई नभन पनि काम गर्दिनुपर्‍यो भनेर आफूलाई खोज्दै आउने गरेका बलिदान बताउँछन् ।


अहिले महोत्तरीमा मात्रै नभएर उनी विभिन्न जिल्लामा काम गर्न पुग्छन् । उनले गरेको कामलाई धेरैले विश्वास गरेकै कारण बलिदानले अहिले अरू १० जनालाई रोजगारीसमेत दिएका छन् । सरकारी तथा गैरसरकारी संस्थाका भवन, स्कुल, व्यक्तिका घर बलिदानले वायरिङ र पेन्टिङ गर्ने ठेक्का लिने गरेका छन् । २२ हजार देखि ३० हजार सम्म तलब दिएर १० जनालाई रोजगारी दिएको उनले बताए । ३ वर्षदेखि सक्रिय भएर काम गर्न थालेका बलिदानलाई आजभोलि भ्याइनभ्याई छ । उकालो ओरालो हिँड्न लठ्ठीको सहारा चाहिने बलिदानको शारीरिक अवस्था भए पनि काममा उनी दिन प्रतिदिन सफल भएका छन् ।


लाखौँमा ठेक्का लिएर दर्जनौ घर स्कुल तथा कार्यालय भवनमा बलिदान र उनको समूहले काम गरिसकेको छ । मासिक ४० हजार आम्दानी गर्छन् । कयौँ युवा बेरोजगार भइरहेको अवस्थामा १० जनालाई रोजगारी दिनुचाहिँ आफू सफल भएको महसुस गर्छन् उनी ।


शारीरिक अशक्तताको अवस्थामा पनि सबैको मन जित्नेगरी काम गरेको भन्दै मानिसहरूले खोजीखोजी काम दिँदा र जहाँ जाँदा पनि सबैले माया गर्दा काम गर्ने ऊर्जा थपिने गरेको बलिदानले बताए ।

प्रकाशित : पुस २, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?