कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘विप्रेषण उत्पादनमूलक क्षेत्रमा लगाउन सास्ती’

सर्लाही — रोगजारीका क्रममा बिदेसिएका र विदेशबाट फर्किएकाहरूले विप्रेषणलाई उत्पादनमूलक कार्यमा लगाउन सास्ती खेप्नुपरेको बताएका छन् । उनीहरूले लगानी अनुसारको प्रतिफल नपाउँदा समस्या हुने भएकाले फेरि वैदेशिक रोजगारीतिर हानिने सुरसारमा रहेको समेत बताए ।

‘विप्रेषण उत्पादनमूलक क्षेत्रमा लगाउन सास्ती’

यहाँ आयोजित एक कार्यक्रममा हरिवन–१ का सुभाष श्रेष्ठले भने, ‘वैदेशिक रोजगारीबाट फर्किंदा स्वदेशमै मिहिनेत गर्छु भन्ने सोच बनाई पहिले कृषि क्षेत्रमा मिहिनेत गरें तर सकिनँ । केही महिना अटो पनि चलाएँ, आम्दानी राम्रो भए पनि लाइसेन्स पाउन यातायात कार्यालयमा २० हजार घूस मागेपछि लिन पाइनँ । अब वैदेशिक रोजगारीका लागि तयारी गरिरहेको छु ।’


वैदेशिक रोजगारीबाट फर्केर अन्य व्यवसाय गरिरहेका तथा वैदेशिक रोजगारीमा रहेका परिवारले समेत विदेशबाट आउने विप्रेषण उत्पादनमूलक काममा लगाउन खोज्दा अप्ठ्यारा र चुनौती भोग्नुपरेकाले गुनासो गरे । वैदेशिक रोजगारबाट फर्केकाहरू कृषिमा लगानी गरे पनि लगानीअनुसारको प्रतिफल नआउने गरेको उनीहरूको दुखेसो छ ।


विदेशबाट फर्केर व्यावसायिक रूपमा उखु खेतीका एक जनाले भने, ‘उखु खेती त गरियो तर भुक्तानीका लागि वर्षौ कुर्नुपरेको भन्दै फेरि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता आइलागेको छ ।’ स्वदेशमा उत्पादनमूलक कामका लागि स्थानीय तह र बैंकले साथ नदिएको गुनासो समेत वैदेशिक रोजगारबाट फर्केका युवाहरूको छ ।


बहराइनमा १२ वर्ष काम गरेर ४ वर्षअघि स्वदेश फिरेका हरिवन नगरपालिका–४ का दुर्गा भुजेलले सानो लगानीमा ब्याग बनाउने काम सुरु गरे । बजार सुनिश्चित भए पनि लगानी अभावले काम गर्न नसकेको उनको भनाइ छ । भुजेलले वैदेशिक रोजगारीमा मासिक नेपाली रुपैयाँ ३० हजार पाउँथे, त्योभन्दा झन्डै डब्बल रकम उनले अहिले ब्याग बनाउने कालीगढ र मजदुरलाई दिने गरेका छन् । ब्याग बनाउने पेसाबाटै उनले ८ जनाको परिवार पालिरहेका छन् ।


तर लगानी अभावका कारण सोचेअनुसारको प्रगति गर्न नसकेको उनले बताए । भुजेलले भने, ‘बजारमा प्रतिस्पर्धा छ, पुँजी अभावले मार खेपिरहेको छु, ऋणका लागि बैंकले पनि पत्याएको छैन, जग्गा नभएकाले बैकमा धितो राखी ऋण निकालेर व्यापार फस्टाउन सकेको छैन ।’


कार्यक्रममा सहभागी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डले युवाहरूको स्वरोजगारका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताए । उनले वैदेशिक रोजगारबाट फर्केकाहरूले स्वदेशमै रोजगार गर्न चाहे सरकारले लगानी लगाउनुपर्ने तर्क राखे । उनले भने, ‘विदेशबाट फर्केकाहरू स्वरोजगार बन्न चाहेमा तीनै तहका सरकारले सहयोग गर्नुपर्छ ।’


वैदेशिक रोजगारबाट नेपाल भित्रिने विप्रेषणको १.१ प्रतिशत मात्र उत्पादनशील क्षेत्रमा खर्च भइरहेको र बाँकी रकम साहु महाजनको कर्जा तिर्न, घरघडेरी तथा विलासी प्रयोगमा खर्च भइरहेको तथ्यांक छ । वैदेशिक रोजगारीबाट आएको रकमलाई गाँस र बासको व्यवस्थापनमा खर्च गर्नुलाई अनुत्पादक क्षेत्रमा खर्च भयो भन्न नमिल्ने उल्लेख गर्दै राज्य मन्त्री मण्डलले विप्रेषणलाई व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

प्रकाशित : मंसिर २९, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?