कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारिवारिक सहमतिमै अन्तरजातीय विवाह

पर्सा — हाम्रो समाजका सामान्यतया अन्तरजातीय विवाहको कारण प्रेम सम्बन्धलाई मानिन्छ । युवा–युवतीको प्रेम सम्बन्ध अन्ततः विवाहमा परिणत हुन्छ । प्रायः यस्ता विवाह अभिभावकको मञ्जुरीबिना हुन्छन् । यहाँ भने स्थिति अलिक फरक छ । जीवनमा एकअर्कालाई कहिल्यै नदेखेका पहाडी समुदायकी ब्राह्मण युवती र मधेसी समुदायका युवकबीच अभिभावककै मञ्जुरीले मागी विवाह भएको छ ।

वीरगन्ज १५ भिष्वा निवासी २६ वर्षीय आर्यन सुरज राउत र बनेपा निवासी २२ वर्षीया ईश्वरी आचार्यबीच बुधबार मागी विवाह भएको हो । राजधानीको बसुन्धरास्थित भूपू प्रहरी भवनमा यो जोडीबीच आदर्श विवाह भएको हो । दुवै पक्षका अभिभावकको मञ्जुरी र उपस्थितिमा यो विवाह भएको हो । सुरज हाल अस्ट्रेलियामा मेकानिकल इन्जिनियरिङ मास्टर्स तहको अन्तिम वर्षमा अध्ययनरत छन् । बेहुली ईश्वरी बीबीएस प्रथम वर्षमा अध्ययनरत छिन् ।


बेहुलाका बुबा राम आर्य जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब निरीक्षक पदमा कार्यरत छन् । बेहुलीका बुबा भीमसेन आचार्य भूतपूर्व प्रहरी हुन् । उनले प्रहरी नायब निरीक्षक पदबाट अवकाश पाएका हुन् । तर नेपाल प्रहरीमा कार्यरत दुवै सम्धिको यसअघि कहिल्यै भेट भएको थिएन । सुरज र उनका जेठान लक्ष्मण दीपेन्द्र प्रहरी विद्यालय साँगामा एउटै विद्यालय पढेका हुन् । सुरजभन्दा लक्ष्मण एक कक्षा जुनियर थिए ।

प्रनानि राम आर्यले यसअघि नै छोराको विवाहमा नगद र जिन्सी केही पनि दाइजो लेनदेन नगर्ने घोषणा गरेका थिए । सुरुमा अभिभावकहरूबीच आआफ्ना छोराछोरीको विवाह गर्ने सहमति भएपछि सुरज र ईश्वरीबीच करिब २ साता अघि सामाजिक सञ्जालबाट कुराकानी हुन थालेको हो । विवाह गर्नकै लागि सुरज अस्ट्रेलियाबाट आएका हुन् ।


अभिभावकको मञ्जुरी र आफ्नो पनि सहमतिले दाइजोरहित मागी विवाह गर्न पाउँदा आफू धेरै खुसी रहेको सुरज बताउँछन् । उनले भने, ‘शिक्षित वर्गबाटै दाइजो लेनदेनलाई बहिष्कार गर्दा तराईको ठूलो समस्या बनेको दाइजो प्रथा अन्त्य हुन धेरै समय लाग्दैन ।’


ईश्वरी पहाडी परिवेशबाट मधेस आउँदा केही नौलो लागे पनि शिक्षित र सभ्य परिवारको बुहारी हुन पाउँदा मधेसको संस्कृति, चलन, व्यवहार छिट्टै सिकेको बताउँछिन् । ‘मेरा लागि परिवेश मात्र बदलिएको हो,’ उनले भनिन्, ‘पति, सासू, ससुरा सबै सहयोगी हुनुहुन्छ, घरमा सबैले धेरै माया गर्नुभएको छ, मलाई केही अप्ठेरो अनुभव भएको छैन ।’


ईश्वरीका दाजु लक्ष्मण आचार्यले दुवै परिवारको सहमतिमा विवाह भएको बताए । उनले भने, ‘हामीले योग्य ज्वाइँ पायौं । जात, धर्म, समुदाय भन्ने कुरो गौण हो, केटा र केटीको मन मिल्छ भने हामी तगारो बन्ने कुरै भएन ।’

प्रकाशित : मंसिर २९, २०७६ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?