अन्नभण्डारमै घट्यो धानको उत्पादन 

एकै जातको बीउ निरन्तर छर्नु, रोप्ने बेलामा खडेरी वा डुबान र बाला लाग्ने समयमा सुक्खा हुँदा उत्पादन लगातार ओरालो लागेको हो 
प्रदेश ब्युरो

काठमाडौँ — अन्नभण्डार मधेसमा धानको उत्पादन बर्सेनि घट्दो छ । अत्यधिक विषादीको प्रयोगले माटोको उत्पादकत्वमा ह्रास आएसँगै उब्जनीमा कमी आएको हो । मौसमी असन्तुलन, एउटै जातको बालीको निरन्तरता र रोग–किराको प्रकोपले उत्पादन बर्सेनि घट्दै गएको छ । 

ZenTravel

रासायनिक मलको प्रयोगले माटोमा अम्लीय र क्षारीय मात्रा बढेको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथका धानविज्ञ फरहत अली धानको उत्पादन खस्कनुमा विषादीको बढी प्रयोगसँगै अरु पनि कारण जोडिएको बताउँछन् । ‘धान उत्पादनमा हृास आउनु विषादीको प्रयोग त प्रमुख कारण छँदै छ,’ अलीले भने, ‘रोग र किराको प्रकोप पनि बढेको छ ।’ उनका अनुसार एकै जातको विउ निरन्तर छर्नु र रोप्ने बेलामा खडेरी लगत्तै डुबान तथा बाला लाग्ने बेला फेरि सुक्खा हुँदा धानको उत्पादन लगातार आरालो लागेको हो ।

Meroghar


धनुषामा गतवर्ष २ लाख ५१ हजार टन धान फलेको थियो । यस वर्ष २ लाख ६ हजार टन धान मात्र उब्जियो । धनुषामा गतवर्ष ६३ हजार १ सय हेक्टरमा धान रोपियो । यसवर्ष ५९ हजार हेक्टरमा मात्र धान खेति गरिएको थियो । पर्सामा गत वर्ष २ लाख २७ हजार टन धान उत्पादन भयो । यसवर्ष २ लाख २५ हजार टन मात्र धान फलेको छ । पर्सामा गत वर्ष ४७ हजार ५० हेक्टरमा धान खेति गरियो । यस वर्ष ४५ हजार हेक्टरमा मात्र धान रोपियो । अन्नभण्डार प्रदेश २ का ८ वटै जिल्लामा बर्सेनि धानको उत्पादनसँगै खेती हुने क्षेत्रफल पनि खुम्चिँदै छ ।

‘किसानले धान खेतमा सिफारिसभन्दा बढी मल–खाद्य प्रयोग गरिरहेका छन्,’ धानविज्ञ अलीले भने, ‘धानलाई रासायनिक मल आवश्यक पर्छ तर उचित मात्रामा प्रयोग भइरहेको पाइएन ।’ उनका अनुसार एक कठ्ठा धान खेतमा ६ किलो युरिया र १ किलो पोटास छर्नुपर्छ । तर, धान हलक्के बढ्ने र बाला लाग्ने लोभमा किसानले मलको दोब्बर प्रयोग गर्छन् ।

माटो तथा मल परिक्षण प्रयोगशालाका प्रमुख सुनिलकुमार सिंहका अनुसार उब्जनी हुने जग्गामा पिएच मान ६.५ देखी ७.५ सम्म हुँदा त्यसलाई तटबस्थ माटो मानिन्छ । यस्तै, ६.४ भन्दा कम पिएच मान भएका माटोलाई अम्लिय र ७.६ पिएच मान भएको माटोलाई क्षारिय मानिन्छ । सप्तरीको जग्गामा ४.७ पिएच मानसम्म माटो पाइएको छ । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका ७ का कृषक देबेन्द्रप्रसाद साहको खेतको माटो परीक्षण गर्दा ४.७ पिएच मान फेला परेको हो । जुन माटो अम्लिय प्रकृतिको हो । वाराको माटोमा ८.२ पिएच मान फेला परेको छ । ७.६ पिएच मानभन्दा माथिको पिएच मान भएको माटोलाई क्षारीय भनिन्छ । बोट–बिरुवा उत्पादनका लागि नाइट्रोजन, फसफोरस र पोटास मुख्य तत्त्व हो । जिंक, बोरेन, मोलिबेन्डम र आइरनलगायतका तत्त्व पनि माटोलाई उब्जनीयोग्य बनाउँछ । सिंहले अन्नभण्डारको खेतीयोग्य जग्गामा यी सबै तत्त्व कमसल बनेको बताए ।

उब्जनीमा लगातार ह्रास देखिएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सप्तरीको राजविराजमा हालै माटो तथा मल परीक्षण प्रयोगशाला स्थापना गरेको छ । प्रयोगशालाले ८ वटै जिल्लाको माटो परीक्षण गरेको छ । रसायनिक मलको असन्तुलित र अत्याधिक प्रयोगले प्रदेश २ का ७० प्रतिशत खेतमा अम्लीय बढेको छ । ५ प्रतिशत खेतमा क्षारीयको मात्र छ भने २० देखि २५ प्रतिशत खेत मात्रै तटस्थ अवस्थामा छ ।

रासायनिक मलको प्रयोगपछि माटोमा अम्लिय, क्षारिय र तटस्थ गरि तिन किसिमको प्रतिक्रिया हुन्छ । खेतीका लागि तटस्थ माटो उपयुक्त हो । अम्लिय र क्षारिय माटो उत्पादनका लागि राम्रो मानिँदैन । प्रयोगशालाका अनुसार प्रदेश २ को सप्तरी, सिरहा र धनुषामा सबभन्दा बढी जग्गाको माटो अम्लिय बनेको परीक्षणले देखाएको छ । बारा जिल्लामा भने वालीनाली उत्पादनका लागि योग्य तटस्थ प्रकृतीको माटो भएको जग्गा बढी छ । बारामा माटोको पिएच मानका आधारमा कृषी चुनको प्रयोगले माटोको अम्लिय र क्षारिय स्वरुप परिवर्तन भई खेतीयोग्य तटस्थ प्रकृतिको जग्गा बढेको छ ।

निरन्तर एउटै बाली
अन्नभण्डारमा बर्सेनि एउटै जातको धानको बीउ छरिन्छ । पुरानो विउकै निरन्तर प्रयोगले पनि उत्पादनमा ह्रास आइरहेको धानविज्ञ बताउँछन् । ‘भारत र छरछिमेकबाट ल्याएको धानको बीउ बढी छरिन्छ,’ धानविज्ञ अलीले भने, ‘एउटै बीउ निरन्तर छर्दा १० वर्षमा उत्पादन आफैं घट्छ ।’ उनका अनुसार एउटै विउको निरन्तरताले यसवर्ष नै धानको बाला फुट्नै पाएन् । ‘धानको बाला यसपालि फस्टाएन । फुट्नै पाएन । घाँटीमै अड्कियो,’ अलीले भने ।
धानविज्ञले सुख्खा क्षेत्रमा सुख्खा र सिञ्चित क्षेत्रमा भेराइटीको धानको बीउ छर्न किसानलाई सल्लाह दिन्छन् । ‘३–३ वर्षमा धानको बीउ फेर्नुपर्छ,’ अलीले भने, ‘नयाँ र उन्नत बीउ छर्नुपर्छ ।’ धान उत्पादन घट्नुमा यस वर्ष रोपाइँ सुरुलगत्तै बाढी आउनु, त्यसपछि धानमा गाँज लाग्ने बेलामा पानी नपर्नु, मलखाद्यको अभाव र किसानले लगातार एकै जातको बाली लगाउनु कारण रहेको कृषि ज्ञानकेन्द्र पर्साका प्रमुख रामचन्द्र यादवले बताए ।

यादवका अनुसार पर्साका किसान दशकदेखि सोना मनसुली जातको मात्रै धान रोप्छन् । पर्सामा कुल धान खेतीमध्ये ७० प्रतिशत सोना मन्सुली जातकै धान उब्जनी हुन्छ । वैज्ञानिक नाम सोना मन्सुली एटियु ७०२९ रहेको धान बालीको सिफारिस नेपाल र भारत दुबै सरकारले गरेको छैनन् । दुबै मुलुकमा सिफारिस नरहेको यो जातको खेती दशकदेखि किसानले गरिरहेको छ ।

किसानले निरन्तर एकै जातको धानबाली लगाउँदा त्यसले माटोको उवर्राशक्ति घट्ने, बालीमा रोग किराको प्रकोप बढ्छ । केही वर्षयता सोना मन्सुली जातको धान बालीमा सिथ ब्लाइट रोगको प्रकोप देखिएको छ । सोना मन्सुली धानलाई बिस्थापनको लागि नेपाल सरकारले सुवर्णसव १, हर्दिनाथ १, लल्का बासमती १, चैते २, सामा मसुलीसब १ धान सिफारिस गरेको छ । सिफारिस धानको विउ ५० प्रतिशत अनुदानमा पर्सामा ८६ टन किसानलाई वितरण गरिएको यादवले बताए ।

उत्पादन घट्दै–बढ्दै
गतवर्ष धान उत्पादनमा बृद्धि भएको सर्लाहीमा यसवर्ष भने कमी आएको छ । गतवर्ष सर्लाहीमा धान उत्पादन पछिल्लो २५ वर्षयताकै बढी थियो । तर, यसवर्ष अघिल्लो वर्षभन्दा करिब ८.५ प्रतिशतले उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र मलंगवासँग यसवर्ष धान उत्पादन घटेको तथ्यांक छ । गतवर्ष मौसम अनुकूल भएकाले ४६ हजार हेक्टर खेतमा धान रोपाइँ भएकोमा प्रतिहेक्टर ४.१ का दरले १ लाख ९० हजार ५० टन धान उत्पादन भएको थियो । तर, यसवर्ष ४६ हजार हेक्टरमा धान रोपाइँ भएकोमा प्रतिहेक्टर ३.८ का दरले एकलाख ७४ हजार टन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द रायले बताए । सर्लाहीमा गत वर्षबाहेक पछिल्लो पाँच वर्षयता धानको उत्पादन बर्षेनी घट्दो छ । कृषिविज्ञ भाग्यनारायण झाले रसायनिक मलको बढ्दो प्रयोगले खेतको उर्वराशक्ति घटाएको बताए ।

सप्तरीमा कुल ८० हजार हेक्टर धान खेतीयोग्य जग्गामध्ये यसवर्ष ६६ हजार हेक्टर जग्गामा मात्र धान रोपियो । अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले धान उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र राजविराजका प्रमुख भागीरथ यादवले बताए । गतवर्ष ६३ हजार हेक्टरमा धान रोपाइँ भएकोमा १ लाख ८० हजार टन धान उत्पादन भएको थियो । तर, यसवर्ष ६६ हजार हेक्टरमा धान रोपाइँ भए पनि उत्पादन भने १ लाख ५५ हजार टन मात्र धान उत्पादन हुने अनुमान गरिएको ज्ञानकेन्द्र प्रमुख यादवले बताए । त्यसैगरी पर्सा, सिरहा र रौतहटमा पनि यस वर्ष धान उत्पादन घट्ने अनुमान छ ।

उब्जनी बढाउने उपाय
विषादीको सन्तुलित मात्रा, सिँचाइको उचित प्रबन्ध, फेरेर बीउ छर्ने र किरा हटाउने उपाय गरे धानको उत्पादन बढ्ने कृषिविज्ञको सुझाब छ । माटो तथा मल परिक्षण प्रयोगशालाका प्रमुख सिंहका अनुसार खेतीयोग्य माटोको परीक्षण गराइरहनुपर्ने बताउँछन् । सिंहका अनुसार माटो परिक्षण नगर्नु र कमपोष्ट मलको प्रयोग नहुँदा उत्पादन घटेको हो । रसायनिक मलको अत्यधिक र असन्तुलित प्रयोगले माटो अम्लिय र क्षारीय भए माटोको पिएच मानका आधारमा कृषि चुनाको सिफारिस गरिन्छ ।

नेपालमा ५२ जातका धानमध्ये झन्डै ४५ जात लोप भएका छन् । बाँस पाते, कनकजिरा, रतुवा, सुगन्ध, पहाडी अनदी, मधेसी मसिनो, एक्लो पहेले, साँवा, रामधानलगायत ५२ जातका धानमध्ये किसानले सावित्री, रामधान, राधा ४, सावाधान, हर्दिनाथ १ र सुख्खा २,४ मात्र रोप्छन् ।

अजित तिवारी (जनकपुर), अवधेश झा (सप्तरी), भरत जर्धामगर (सिरहा), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट) र शंकर आचार्य (पर्सा)

प्रकाशित : मंसिर २६, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

कान्तिपुर संवाददाता

काठमाडौँ — दोस्रोपटक हिमपात हुँदा हुम्लाको  जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहीबार बिहान ६ बजेबाट हिमपात सुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।

हुम्लाकाे हिँउले ढाकिएकाे क्षेत्र । फाइल तस्बिर

हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।

हिमपातका कारण चिसो अत्यधिक बढेको छ । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ । हिमपातले बिहानी कक्षा लिँदै आएका कैलाश बोर्डिङ र हिमाली बोर्डिङका विद्यार्थीलाई समस्या बनाएको कैलाश बोर्डिङका प्रधानाध्यापक छवाङ लामाले बताए ।
दोस्रो पटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताए ।

हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । सदरमुकाममा चहलपहल न्यून छ ।

प्रकाशित : मंसिर २६, २०७६ ११:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×