कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुर धेरैको रोजाइमा पर्दै

श्यामसुन्दर शशि

(जनकपुर) — जनकपुरमा मंसिरमित्रै महत्त्वपूर्ण पाँच इभेन्ट (कार्यक्रम) सम्पन्न भएको छ । सम्पन्न भएका कार्यक्रमहरूमा भ्रमण वर्ष २०२० को प्रवर्द्धन कार्यक्रम, नेपाल लिटरेचल फेस्टिवल, काठमाडौं–सिन्धुली–जनकपुर साइकल राइडिङ, रामजानकी विवाह महोत्सव, वाउ मधेस उत्सव तथा साग खेलकुद प्रतियोगिता रहेका छन् । 

प्रदेशको अस्थायी राजधानी जनकपुरमा एक वर्षयता आयोजित स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव, महोत्सवलगायतका गतिविधिले प्राचीन सहरको पहिचान र चर्चा चुलिएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो सहर ओझेलमा परेको बेला भएका इभेन्टले जनकपुर सांस्कृतिक, आर्थिक, खेलकुद र साहित्यको केन्द्रमा विकसित भएको आमजनको बुझाइ छ ।


मिथिला सभ्यताको उद्गमस्थल जनकपुरमा धार्मिक–सांस्कृतिक भई नै रहन्छ । तर, पछिल्लो समय त्यस्ता कार्यक्रममा पनि मानिसको उपस्थिति बढेको छ । छठ, तिहार, दसैं, कोजाग्रत पूर्णिमा, राम जानकी विवाह महोत्सव, रामनवमी, जानकी नवमी, झुलनोत्सव, फागु, जितिया, सामा–चकेवा, गणेश पूजा, तीजलगायतका पर्व–त्योहार यहाँ नियमित आयोजना हुन्छ । परापूर्वकालदेखि आयोजना हुने यी पर्व–त्योहारमा पछिल्लो समय पर्यटकको घुइँचो बढेको छ, जसलाई यहाँका पर्यटन व्यवसायीहरूले ‘सुखद शुभारम्भ’ को संज्ञा दिन्छन् ।


‘यी पारम्परिक पर्व–त्योहारमा पहिलेपनि हजारौं श्रद्धालु आउँथे । धेरै पर्यटक राति नै फर्किन्थे,’ होटल व्यवसायी विजय झुनझुनवालाले भने, ‘अहिले होटलमा बास बस्ने र यही खाना खाने पर्यटक बढेका छन् । यो सुखद आरम्भ हो ।’ उनका अनुसार पर्व–त्योहारको मौसम भनिने असोजदेखि फागुनसम्म यहाँका होटलहरू भरिभराउ हुन थालेको छ । मुलुकको सांस्कृतिक तथा आध्यात्मिक राजधानी भनिने मिथिला नगरी जनकपुरधाममा गत महिना आयोजना भएको नेपाल साहित्य उत्सवको जनकपुर संस्करणले सिङ्गै जनकपुरलाई साहित्यको रङमा रंगेको थियो ।


जानकी मन्दिरको खुला आकाशमुनि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले चन्दनको बिरुवा रोपेर महोत्सवको शुभारम्भ गरेका थिए । राजनीतिक तथा सामाजिक विश्लेषक चन्द्रकिशोर महोत्सवलाई ‘सिर्जनात्मक साझेदारी’ को संज्ञा दिए । ‘यो देश जोड्ने उपक्रम हो । मुलुकभित्रका भूगोल, हावापानी, भाषा, साहित्य, कला, संस्कृतिसँगै विचार मन्थन गर्ने थलो बन्यो,’ उनले भने । ब्रिटिस काउन्सिलको आयोजनामा मंसिर दोस्रो साता जनकपुरमा वाउ मधेस कार्यक्रममा देशी–विदेशी स्रष्टाहरू सहभागी भएर मिथिला संस्कृति, वेशभूषा, पेन्टिङ तथा खानपानबारे बुझ्ने मौका पाएका थिए ।


नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका पहलमानहरू सहभागी रहेको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सोमबार जनकपुरमा सम्पन्न भएको छ । नेपाली कुस्ती संघका अध्यक्ष राज मोहम्मद अन्सारी यस प्रतिस्पर्धाले जनकपुरलाई अन्तर्राष्ट्रिय पहिचान दिएको प्रतिक्रिया दिएका छन् । ‘५ देशका खेलाडी जनकपुर आए । यहाँको संस्कृति बुझ्ने मौका पाए । यो जनकपुरवासीका लागि ठूलो उपलब्धि हो,’ उनले भने । भ्रमण वर्ष प्रदेशका संयोजक मनीष झाले मुलुक संघीयतामा गएपछि जनकपुरमा इभेन्ट गर्ने क्रम बढेको बताए ।

प्रकाशित : मंसिर २५, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?