कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भ्रष्टाचारमुक्त प्रदेश’ बनाउने अठोट

सुनिता बराल

महोत्तरी — प्रदेश २ का प्रमुख तथा सरकारी कार्यालयका प्रमुखले भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले भ्रष्टाचारविरुद्धको १७ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, प्रदेश सचिव, ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सेवाप्रदायक संस्थाका प्रमुखलगायत स्थानीय तहका कार्यालय प्रमुखले भ्रष्टाचार नगर्ने अठोट गरेका हुन् । 

‘भ्रष्टाचारमुक्त प्रदेश’ बनाउने अठोट

प्रदेश २ का सरकारी कार्यालयका ५ सयभन्दा बढी प्रमुखलाई मुख्य सचिव रामकृष्ण सुवेदीले भ्रष्टाचार नगर्न शपथ खुवाए । ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न दिन्नँ,’ भन्ने नारा सुवेदीले लगाएपछि हलमा उपस्थित ५ सयभन्दा बढी सरकारी कार्यालयका प्रमुखले एकै स्वरमा शपथ खाए ।


मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा पहिला आफ्नै मुख्यमन्त्री कार्यालयबाट भ्रष्टाचारको अन्त्य गर्ने घोषणा गरे । मुखले बोलेर मात्रै हैन व्यवहारमा उतार्दै भ्रष्टाचार मुक्त प्रदेश बनाउन आफू प्रतिबद्ध रहेको मुख्यमन्त्री राउतले बताए । ‘प्रदेश २ लाई भ्रष्टाचारको कलंक लाग्दै आएको छ,’ मुख्यमन्त्री राउतले भने, ‘भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न तयार छु ।


भ्रष्टाचारविरुद्धको अभियानमा सहयोग र कारबाही गर्न तयार रहेको उनले बताए । सन् २००३ बाट डिसेम्बर ९ लाई संसारभरि नै भ्रष्टाचारविरुद्धको दिवसका रूपमा मनाउँदै आइएको छ । यस वर्ष ‘भ्रष्टाचारलाई नाइँ भनौँ, हरेक नाइँको मूल्य हुन्छ,’ भन्ने नारासहित मनाइएको भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले गैरकानुनी तबरले सम्पत्ति आर्जन गर्दै फजुल खर्चमा भड्किलो जीवनशैली जिउने होडबाजी बढेका कारण भ्रष्टाचार मौलाउँदै गएको बताए ।


राज्यको जिम्मेवार ठाउँमा हुने व्यक्तिले जबसम्म गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गर्ने सपना देख्छ, तबसम्म भ्रष्टाचार अन्त्य नहुने भन्दै परियारले त्यस्ता सपना देख्न छोडिदिन सबैलाई आग्रह गरे । राजनीतिबाटै भ्रष्टाचारले जरो गाड्ने भएकाले स्वस्थ राजनीति आजको आवश्यकता रहेको उनले बताए । उनले जिम्मेवार व्यक्तिको आचरण र व्यवहार पनि परिवर्तन हुनुपर्ने भर्न्दै आफैँबाट भ्रष्टाचार गर्दिन भन्ने सोचसहित अघि बढ्नुपर्ने बताए ।


प्रदेश २ लाई भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू लाग्ने परियारले प्रतिबद्धता पनि जनाए । मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, प्रदेश राज्यमन्त्री डिम्पल झालगायतले बोलेर मात्रै नभई आफ्नो मन्त्रालयबाटै भ्रष्टाचार अन्त्य गर्ने बताएका छन् ।


प्रदेश २ ‘भ्रष्टाचारमा पहिलो’

अख्तियारको तथ्यांकअनुसार नेपालमै सबैभन्दा बढी भ्रष्टाचार हुने प्रदेश २ देखिएको छ । प्रदेशका ७ र प्रदेश ३ का सिन्धुली र उदयपुर गरी ९ जिल्ला कार्यक्षेत्र रहेको अनुसन्धान आयोगको बर्दिबास कार्यालयले सबैभन्दा बढी भ्रष्टाचार धनुषा जिल्लामा भएको जनाएको छ ।


यस आर्थिक वर्षको चार महिनामा धनुषा जिल्लाबाट मात्रै अख्तियारमा ४ सय उजुरी परिसकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख नारायणप्रसाद सापकोटाले बताए । प्रदेश २ मा गत आर्थिक वर्षका २ हजार ७० वटा उजुरी परेकोमा अझै फर्स्योट गर्न बाँकी रहेको सापकोटाले जानकारी दिए । उनका अनुसार यस आर्थिक वर्षमा प्रदेश २ मा १३ सय उजुरी परिसकेका छन् ।


यस प्रदेशमा जति उजुरी कुनै पनि प्रदेशमा अहिलेसम्म नपरेको प्रमुख सापकोटाले बताए । २४ सैँ घण्टा अख्तियार जागा हुने भएकाले सम्बन्धित सबै कार्यालय प्रमुख तथा कर्मचारीलाई सचेत रहन उनले आग्रह पनि गरे । संघीय संरचना र निर्वाचनपछि ६० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित पर्ने गरेको र २० प्रतिशत शिक्षा क्षेत्र र अन्य क्षेत्रसँग सम्बन्धित २० प्रतिशत उजुरी पर्ने गरेको अख्तियार अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।

प्रकाशित : मंसिर २४, २०७६ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?