कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गढीमाईको आम्दानी २ करोड

लक्ष्मी साह

(बरियारपुर, बारा) — पाँचवर्षे गढीमाई मेला समितिले यसपालिको मेलाबाट दुई करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । बढी आर्थिक लाभमा केन्द्रित भएका समितिले व्यवसाय स्टल, मनोरञ्जनका साधन राख्न गरेको जग्गा बिक्री, मनोरञ्जन ठेक्का र राँगा दर्ता (बधशालामा प्रवेश गराएबापत शुल्क) बाट उक्त आम्दानी गरेको हो ।

गढीमाईको आम्दानी २ करोड

‘समितिले गढीमाईको पर्यटन पूर्वाधारसहित यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाउने उद्देश्यले ठेक्कामार्फत आम्दानी गरेको हो’, मेला समिति परिचालन गर्दै आएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले भने, ‘यो सबै रकम गढीमाईको विकासमा खर्च गरिनेछ ।’


मेला समितिका महासचिव मोतिलाल कुसवाहाका अनुसार १ करोड २२ लाखमा जग्गा ठेक्का, ६५ लाखमा मनोरञ्जन ठेक्का र २० लाख राँगाको दर्ताबाट आम्दानी आएको हो । यसबाहेक भेटी, पार्किङ, गुद्री बजारको ठेक्काबाट केही आम्दानी आएको हो । ‘यस क्षेत्रको विकासको लागि आर्थिक लाभमा केन्द्रित छौ,’ नगर प्रमुख यादवले भने, ‘गढीमाई विकासका लागि जहाँ हात बढाउँदा आफैं आम्दानी गरेर विकास गर्नु भनेर जवाफ पाएपछि आर्थिक पाटो मजबुत गर्न सबै प्रकारको ठेक्का गरिएको हो ।’ गढीमाई क्षेत्रको पर्यटन विकास हुन सकेको छैन् । पर्यटकीय, ऐतिहासिक र धार्मिक दृष्टिकोणले आकर्षण बोकेका मन्दिर क्षेत्रको वृहत् पर्यटन विकास हुन नसक्दा सरोकारवालाहरू चिन्तित छन् । मन्दिरको विकासको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणमा गुरुयोजना बन्न्नुपर्ने योजनाकारहरू सुझाउँछन् ।


दीर्घकालीन रुपमा सडक, बिजुली, बजार व्यवस्थापन, सवारी पार्किङ्ग स्थल, खानेपानी, शौचालय र व्यवस्थित पशु बधशाला स्थलको अभाव जस्ता समस्याले गर्दा दर्शनार्थीहरू प्रभावित हुँदै आएका छन् । ‘विश्वमा चिनाउने उदेश्यले पर्यटकीय विकास गर्ने गुरुयोजना छैन्’ गढीमाई ट्रष्टका रामचन्द्र साहले भने, ‘पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायत विभिन्न मन्त्रालय र अन्य कति लगानीकर्तालाई गुहार्दा पोखरी निर्माणबाहेक अरु योजना सफल हुन सकेको छैन् ।’


बधशाला र गढीमाई मन्दिर वरिपरिमा रिङ्ग रोड, विवाह मण्डपसँगै धर्मशाला निर्माण गर्नुपर्ने भएपनि अधुरै छन् । यसरी फोहोर व्यवस्थापनको लागि डम्पिङ साइड, कलैया–बरियारपुर सडक खण्ड पींच, व्यवस्थित फुल प्रसाद बिक्री केन्द्र, खानेपानी ट्याङ्की र स्थायी शौचालय निर्माण गर्ने योजना कागजमै छन् । यसैगरी मेलाक्षेत्र विस्तारको लागि भण्डै ३० विघामा जग्गा अधिग्रहण गर्ने, एम्बुलेन्स खरिद तथा विद्युतीकरणलगायतका काम बाँकी रहेको उनले बताए । टाढाबाट आउने भक्तजनहरूको लागि आवासको व्यवस्था छैन् । ‘यी ठाउँलाई विकास र संरक्षण गर्छौ भनेर चुनावी मुद्दा बनाइने गरिएको छ । तर यहाॅ विकास भने कतै भएको छैन्,’ उनले भने ।


व्यवसायीको आकर्षण

मेलामा व्यवसाय मार्फत आर्थिक लाभ लिने व्यवसायीहरूको आकर्षण पनि बढेको छ । यस क्षेत्रका सबै प्राय: स्थानीय व्यवसायीले अस्थायी सानातिना व्यवसाय थपेर आम्दानी गरेका छन् । खाना होटल, मनोरञ्जन, खाद्यन्न, तयारी पोशाक तथा कपडा र कस्टमेटिक व्यवसायमा बढी आकर्षण देखियो । बारा उद्योग वाणिज्य संघका एक पदाधिकारीका अनुसार जिल्लामा स्थायी व्यवसाय साढे तीन हजारको हाराहारीमा रहेपनि मेलामा त्यसको दोब्बर अस्थायी व्यवसायीले व्यवसाय थपेको बताए ।


‘मेलाले स्थानीय र बाहिरका व्यवसायीलाई आर्थिक विकासमा टेवा पुर्याएको छ,’ उनले भने, ‘आर्थिक दृष्टिकोणले व्यवसायीहरूलाई फाइदा छ ।’ भारतको युपी, विहार, उत्तर प्रदेश, बंगाललगायतका ठाउँबाट मनोरञ्जनका साधन थपिएका छन् । जसमा ८० प्रतिशत भन्दा बढी भारतीय व्यवसायीहरूको लगानी रहेको मेला समितिले जनाएको छ । मेलामा मनोरञ्जन तर्फ ‘डबल ट्रेकर मौतको कुवाँ’, रोटे पिङ, चाँद तारा, ब्रेक डान्स, रेल, सरकस, विभिन्न जादु, वैष्णोदेवी गुफा, डुंगा, थियटरलगायतमा भारतीयहरूको बढी लगानी देखिएको छ ।


५१ जनामाथि मुद्दा

प्रहरीले मेलामा चोरी गर्ने, दुर्व्यवहार गर्ने र बगली मार्ने ५१ जनामाथि मुद्दा चलाएको छ । ३ सय जना पक्राउ परेकोमा अरुलाई साधारण तारेख, जमानीमा छाडिएको छ । प्रहरी नायब उपरिक्षक रञ्जितसिंह राठौरका अनुसार अभद्र व्यवहार, सार्वजनिक मुद्दा र कतिपयलाई चोरी मुद्दा चलाइएको छ । उनकाअनुसार त्यस्ता गतिविधि गर्ने अधिकांस भारतीय पुरुष र महिला छन् । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ ।


मेलामा जडान गरिएको सिसी क्यामरा र सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीको कारण पाकेटमारहरूको पहिचान गरी पक्राउ गरिएको उनले जानकारी दिए । मेलामा चोरी, दुर्व्यवहार बाहेक अप्रिय घटना नघटेको उनले जानकारी दिए ।


प्रकाशित : मंसिर २१, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?