कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आज विवाह महोत्सव : जन्तीलाई सहरभरि स्वागत

रंगभूमि मैदानमा स्वयंवरपछि राम र सीताका डोला जानकी मन्दिरमा भित्रिएसँगै विवाह सम्पन्न हुन्छ । त्यसपछि जन्ती अयोध्या फर्कन्छन् । 
अजित तिवारी

(जनकपुर) — साधु–सन्तको आ–आफ्नै शैलीको भेषभूषा । महिलाहरूको निरन्तरको गायन । हातमा चन्दन र शरिरमा केसरिया रंगको पोशाक । जनकपुरभरि जन्तीको आउजाउ । स्वागत गर्न स्थानीय तमतयार । विवाहपञ्चमीको पूर्वसन्ध्यामा जनकपुरले त्रेतायुगीन वैवाहिक संस्कारको झल्को दिइरहेको छ । 

आज विवाह महोत्सव : जन्तीलाई सहरभरि स्वागत

त्रेतायुगमा राम–सीताबीच विवाह भएको दिनलाई अहिले जनकपुरमा हरेक विवाहपञ्चमीमा प्रतीकात्मक उत्सवका रूपमा मनाइन्छ । अहिले पनि अयोध्याबाट ‘रामका जन्ती’ आउँछन् । वैवाहिक विधि सम्पन्न गरेर फर्कन्छन् । नेपाल र भारतका हिन्दू धर्मावलम्बीहरू सहभागी हुने यो उत्सव एकैसाथ हजारौं पर्यटक भित्र्याउने माध्यम पनि बनेको छ ।


विवाहपञ्चमीका दिन राम मन्दिरबाट जन्तीसहित रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निकालेर रंगभूमि मैदानमा स्वयंवर गरिन्छ । त्रेतायुगमा उनीहरूको स्वयंवर यहीँ गरिएको जनविश्वास छ । स्वयंवरपछि दुवै डोला जानकी मन्दिरमा ल्याएर मिथिलाको संस्कृतिअनुसार वैवाहिक बिधि सम्पन्न गरिन्छ ।


यस वर्ष जन्तीलाई अयोध्यामा भारत, उत्तर प्रदेशका मन्त्रीहरूले बिदाइ गरे । जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरिन् । स्वागत समारोहमा पर्यटनमन्त्री योगेश भट्टराई र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रिमण्डलका अधिकांश सदस्य उपस्थित रहे । दुवै देशका अधिकारीले त्रेतायुगदेखिको यो सम्बन्धलाई अझै प्रगाढ पार्ने प्रतिबद्धता जनाए । गत वर्ष विवाहोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नै सहभागी थिए ।


‘वैवाहिक विधिलाई त्रेतायुगकै झल्को दिने प्रयास गरिएको छ,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले कान्तिपुरसँग भने, ‘त्यही माहोल र विधिलाई निरन्तरता दिइएको छ ।’ उनका अनुसार त्रेतायुगीन वैवाहिक विधि, चलन र खानपानलाई नै प्राथमिकतामा राखिएको छ ।


मटकोर विधिका लागि शनिबार अपराह्न जानकी मन्दिरबाट निस्केको लावालस्करलाई घरघरबाट फूल–अविर छरेर स्वागत गरिएको थियो । मटकोरमा अयोध्याबाट आएका जन्तीहरू पनि सहभागी भए । नेपाली सेनाको ब्यान्ड टोलीको सांगीतिक धुन र महिलाहरूको गायनले रमाइलो अझ थपेको थियो । विराटनगरबाट आएका व्यवसायी सन्तोष चौधरीले विवाहपञ्चमीको माहौलले त्रेतायुगकै झल्को दिइरहेको बताए । ‘जन्तीलाई सबैतिर स्वागत गर्ने परम्पराले लोभ्यायो,’ उनले भने, ‘सबै आ–आफ्नै लयमा राम–सीताको विवाहको साक्षी बन्ने धुनमा देखिन्छन् ।’


विवाह महोत्सवकै लागि जानकी मन्दिरलाई बेहुलीझैं सिंगारिएको छ । मन्दिरको बाहिरी र भित्रि परिसरमा पर्यटक खचाखच छन् । उनीहरू त्यहाा समूहमा बसेर गीत गाउँछन । वैवाहिक बिधिमा सहभागि हुन्छन् ।

विवाह महोत्सवकै बेला उप–निर्वाचन परेकाले यस वर्ष सहभागीको संख्या केही घटेको छ । महोत्तरीको सीमा सिल गरिएकाले भारतबाट आउने तीर्थालु उतै रोकिएका छन् । अघिल्ल वर्ष विवाहपञ्चमीको अघिल्लो दिनदेखि नै जनकपुरमा भीड लाग्थ्यो । शनिबार धनुषाबाहेक प्रदेश २ का ७ वटै जिल्लामा उपनिर्वाचन थियो । निर्वाचनका कारण सीमामा सुरक्षाकर्मीको कडाइ र सवारी आवागमन रोकिएका कारण विवाहोत्सवमा सहभागी कम देखिएका हुन् ।


प्रकाशित : मंसिर १५, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?