कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्याम्पसमै थुनिए क्याम्पस प्रमुख

भूषण यादव

वीरगन्ज — अनियमित तरिकाले आफ्नै परिवारको सदस्यलाई शिक्षकमा नियुक्त गरिएको भन्दै विद्यार्थी संगठनले ठाकुरराम बहुमुखी क्याम्पसका सहायक प्रमुखलाई २ घन्टा क्याम्पसमा थुनेका छन् । सहायक क्याम्पस प्रमुखद्धय प्रमोद गुप्ता, प्रमुख रोशन लामिछाने र प्रशासन शाखा प्रमुख राजकुमार श्रीवास्तवलाई विद्यार्थीले क्याम्पसको सभाकक्षमा बुधबार मध्यान्ह साढे १२ बजेको समयमा तालाबन्दी गरी थुनेका हुन् ।

क्याम्पसमै थुनिए क्याम्पस प्रमुख

यसैक्रममा प्रहरी र विद्यार्थीबीच झडप हुँदा केही विद्यार्थी सामान्य घाइते भएका छन् । गैरकानुनी रुपले आपसी मिलेमतोमा गरिएको नियुक्तिमा प्राध्यापक र कर्मचारीका आफन्त भर्ना भएको भन्दै अनेरास्ववियु, राष्ट्रिय विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियन विद्यार्थी संगठनले विरोध गर्दै आएका छन् ।

राजनीतिशास्त्र र समाजशास्त्रमा केही संख्यामा आंशिक शिक्षकको आवश्यकता रहेको भन्दै गत कात्तिक २१ मा क्याम्पसको नियुक्ति समितिले सूचना प्रकाशित गरेको थियो । खुल्ला प्रतिस्पर्धाबाट शिक्षक पूर्तिका लागि ७ दिन भित्र दरखास्त आह्वान र मंसिर २८ मा अन्तर्वार्ता लिइने जनाइएको थियो ।

कात्तिक २७ मा क्याम्पस प्रमुखले एक सूचना जारी गरी केही प्राविधिक कारणवश कात्तिक २८ मा राजनीतिशास्त्र र समाजशास्त्र विषयको आंशिक शिक्षकको अन्तर्वार्ता अर्को सूचना प्रकाशित नहुन्जेल सम्मको लागि स्थगित गरीएको छ । कात्तिक २८ मा अन्तर्वार्ता लिइने कुनै सूचना यसअघि प्रकाशित गरीएको थिएन । त्यसको एक दिनपछि कात्तिक २९ मा पुनः आंशिक शिक्षकको माग राखी सूचना प्रकाशित गरिएको थियो । मंसिर ५ गतेसम्म आवेदन लिएर ८ गते अन्तर्वार्ता र १० गते नतिजा प्रकाशन गरिएको हो ।


समाजशास्त्रमा २ जना आंशिक शिक्षक नियुक्त गरिएपनि विभागीय प्राध्यापकसँग सल्लाह गरिएको छैन् । समाजशास्त्र संकायमा विगत १० वर्षदेखि ५ जना विभागीय शिक्षक कार्यरत रहेका छन् । गत आइतबार विभागीय शिक्षकले आफूहरुलाई जानकारी नै नगराई आंशिक शिक्षक नियुक्ति थालेकोमा विज्ञप्ति मार्फत विरोध जनाएका थिए । ‘विभागीय सदस्यलाई समावेश गरी छनोट गर्नुपर्नेमा कसैलाई पनि जानकारी समेत नदिई क्याम्पसलाई अनावश्यक व्ययभार सिर्जना हुनेगरी शिक्षक नियुक्त गरिएको छ,’ समाजशास्त्रका पूर्व विभागीय प्रमुख वीरेन्द्रप्रसाद शाहले भने, ‘समाजशास्त्रमा अहिले थप शिक्षकको आवश्यकता नै थिएन ।’

अनावश्यक शिक्षक नियुक्त गर्न लागेको थाहा पाउनासाथ क्याम्पस प्रशासनलाई पटकपटक आग्रह गर्दा पनि सुनवाई नभएको जानकारहरु बताउँछन् । समाजशास्त्रमा नियुक्त भएकी दिप्ती कटवाल सहायक क्याम्पस प्रमुख रोशन लामिछानेकी श्रीमती हुन् । निमित्त क्याम्पस प्रमुख प्रमोद गुप्ता राजनीतिशास्त्र लगायत एक दर्जन विषयको विभागीय प्रमुख र संयोजक हुन् ।

स्रोतअनुसार गत वर्ष नियुक्ति नहुँदा पनि गुप्ताले रितिका जैसवाललाई केही दिन ठाकुरराम क्याम्पसमा अध्यापन गराउन लगाएका थिए । ‘विरोध भएपछि करिब ६ महिनादेखि जैसवाल क्याम्पस आएकी थिइनन्,’ स्रोत भन्छ, ‘अहिले त्यही रितिका आंशिक शिक्षकमा नियुक्त भएकी छन् ।’

यसअघि गत मंसिर ६ मा विद्यार्थी संगठनले अनियमित तरिकाले हुन लागेको शिक्षक नियुक्ती रोक्न माग गर्दै क्याम्पसको स्टोर, प्रशासन, लेखा लगायतका शाखामा तालाबन्दी गरेका थिए । ‘क्याम्पसका सबै शाखामा तालाबन्दी हुँदाहुँदै बिना दर्ता, चलानी घरमा बसेर आफ्नो मान्छे नियुक्त गरिएको छ,’ अनेरास्ववियुका नेता सन्दीप विक्रम शाहले भने, ‘श्रीमती र नातेदार नियुक्त गरिएको छ ।’ सहायक क्याम्पस प्रमुख गुप्ताले आवश्यकता देखिएकाले शिक्षक नियुक्त गरिएको बताए ।

‘शिक्षक नियुक्तिमा विद्यार्थी संगठनको के चासो,’ उनले भने, ‘चित्त नबुझेकासँग टेबुल टक गर्न तयार छौँ ।’ नियुक्तिको सम्बन्धमा विद्यार्थी संगठनले सभाकक्षमा छलफल गर्न बोलाएर तालबन्दी गरेको भन्दै उनले आपत्ति समेत प्रकट गरे । गलत प्रक्रियाबाट भएको नियुक्तिको विरोध गरेका विद्यार्थी क्याम्पसको सबै शाखामा तालाबन्दी हुँदाहुँदै शिक्षक नियुक्त भएकोमा आश्चर्यमा परेका छन् ।

‘तालाबन्दीका कारण सबै फाइल र कागजात बन्द कोठामा छन्,’ अनेरास्ववियुका शाह भन्छन्, ‘तर, दरखास्त र अन्तर्वार्ता लिएर बिना चलानी र दर्ताको नतिजा प्रकाशित भएको छ ।’ गलत प्रक्रियाबाट गरीएको नियुक्ति खारेज नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थी संगठनले जनाएका छन् ।

प्रकाशित : मंसिर ११, २०७६ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?