कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यरातसम्म कार्यालयमै कर्मचारी

सुनीता बराल

(महोत्तरी) — चार वर्षसम्म सेवाग्राहीको काम गर्न नपाउँदा उङ्दै कार्यालय समय कटाउने गरेका नापी कार्यालय बर्दिबासका कर्मचारी अहिले राति ११ बजेसम्म कार्यालयमै व्यस्त हुन थालेका छन् । 

कार्यालय स्थापनाको ४ वर्षपछि सेवा सुचारु हुँदा कर्मचारी अभाव छ । ३ जना मात्रै कर्मचारी भएकाले सेवाग्राहीको चाप थेग्नै नसक्ने भएको कार्यालयले जनाएको छ । विभिन्न राजनीतिक दलको स्वार्थ र बिचौलियाको चलखेलले अभिलेख बर्दिबास आउन नदिएको भन्दै बर्दिवास नगरपालिका, व्यापार संघ बर्दिबास, प्रशासनिक निकाय तथा सुरक्षा निकाय .सहितको टोलिले गत कार्तिक ३० गते राति कागजपत्र बर्दिवास ल्याएपछि आईतबारबाट कार्यालय सुचारु भएको हो । जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, गौरीवास, खयरमारा, माइस्थान, हाथीलेट, बिजलपुरा, किसाननगर, पशुपतिनगर (अहिलेको बर्दिबास नगरपालिका क्षेत्र) र हाल भङ्गाहा नगरपालिकाको वडा नम्बर ३, ४ र ५ गरी साविकको ९ गाविसका सर्वसाधारणले सेवा दिइरहेका छन् । जनतालाई सहज सेवा दिने उद्देश्यले स्थापना गरिएको नापी कार्यालयबाट सेवा सुरु भएपछि स्थानीय खुसी भएका छन् ।


कर्मचारी अभाव भएकाले राति ११ बजेसम्म पनि कार्यालयमै ढोका थुनेर काम गर्ने गरेको कार्यालयका निमित्त प्रमुख राजकुमार पौडेलले बताए ।


अधिकृतसहित कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी छ तर अहिले कार्यालयमा एक निमित्त कार्यालय प्रमुख, एक प्राविधिक र एक अमिन स्थायी कर्मचारी छन् । ९ जना प्राविधिकको कार्यालयमा दरबन्दी भए पनि १ जना मात्रै प्राविधिक कार्यालयमा हुँदा र कागजपत्र, स्रेस्ता, नक्सा साह्रै जीर्ण हुँदा पनि काम गर्न निकै समस्या भएको कार्यालय प्रमुख पौडेलले बताए ।


‘कार्यालय समयपछि पनि कार्यालय प्रमुख अमिनको फाँटमा बसेर काम गर्नुहुन्छ हामी अन्य कर्मचारी ११ बजेसम्म ढोका थुनेर कार्यालयकै काम गर्छौँ’ सर्वेक्षक राजेन्द्र खड्काले भने, ‘सेवाग्राहीको चाप थेग्नै नसक्ने भयो, विभिन्न कागजपत्र र नाप नक्सा नै जीर्ण भएकाले ३ दिनअघिको काम अझै सकेको छैन, सेवाग्राहीको दबाब बढ्दो छ ।’


नापीको काम गराउन जलेश्वर जान नपर्ने भएपछि खुसी लागेको भए पनि एउटै काम गराउन ३ दिनसम्म धाउनुपर्दा छिटोछरितो र सहज सेवा नपाएको भन्दै बर्दिबास १ का जोगेन्द्र महतोले दुखेसो पोखे ।

भंगाहा नगरपालिकाबाट सेवा लिन कार्यालय आएकी यमुना माथेमाले पनि सेवा छिटो नभएको भन्दै सेवाग्राहीले सास्ती खेप्न परेको बताइन् ।


०७२ जेठ १७ मा स्थापना भएको नापी कार्यालय बर्दिबासलाई जिल्ला नापी कार्यालय जलेश्वरले कार्यालय प्रयोजनका अभिलेख, स्रेस्ता, कार्यक्षेत्रको फायल नक्सा, फिल्ड बुक, डिजिटल डाटालगायतका आवश्यक कागजात नदिँदा बर्दिबास नगरपालिका र साविकको भंगाहा गाविसका सेवाग्राही नापी कार्यालय बर्दिबासले दिने सेवाबाट वञ्चित भएका थिए ।


अहिले बर्दिबास नापी कार्यालयबाटै सेवा सुचारु भएपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन् । बर्दिबास नापी कार्यालयमा सेवा लिन अहिले झन्डै डेढ सय मानिस दैनिक कार्यालयमा आउने भए पनि कर्मचारी नहुँदा ११ बजेसम्म बसेर काम गर्दा पनि ५० जनाको कामसम्म सक्न गाह्रो परेको कार्यालय प्रमुख पौडेलले बताए । सेवाग्राहीको अत्यन्तै चाप रहेको बर्दिबास नापी कार्यालयमा विभागले तत्काल कर्मचारीको परिपूर्ति गर्नुपर्ने सेवाग्राहीको माग छ ।

प्रकाशित : मंसिर ११, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?