कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयर–उपमेयरबीच जहिल्यै झगडा

शिव पुरी

(रौतहट) — केही समयअघि यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया र उपाध्यक्ष गीतादेवी साहबीच झगडा बढेपछि नेकपाले मिलापत्र गराउनुपर्‍यो । पार्टीकै बदनामी ठानेर नेकपाका जिल्ला इन्चार्ज युवराज भट्टराईको पहलमा झगडा साम्य पारियो तर लगत्तै उपाध्यक्ष गीताले भनिन्, ‘दुई–चार दिन अध्यक्षको हर्कत हेर्छु । उस्तै रबैया रहे कहाँ छोड्छु र ।’ 

स्थानीय तह निर्वाचनको दुई वर्षभन्दा बढी हुँदा पनि जनप्रतिनिधिबीच सम्बन्ध सुध्रिएको छैन । रौतहटको यमुनामाई मात्र होइन, अन्य स्थानीय तहमा पनि अध्यक्ष–उपाध्यक्ष एवं मेयर–उपमेयर मनमुटाव उस्तै छ । यमुनामाईका अध्यक्ष मुखिया भने उपाध्यक्षसँग विवाद नरहेको दाबी गर्छन् । ‘पहिला जे भयो भयो, अब विवाद छैन,’ उनले भने । उपाध्यक्ष गीताले भने अध्यक्ष मुखियाको व्यवहार हेर्न बाँकी रहेको बताइन् । कटहरिया नगरपालिकामा पनि मेयर सियाराम कुशवाह र उपमेयर नुरजहा खातुनबीचको मनमुटाव छ । एउटै दलबाट जिते पनि उनीहरूबीच कुरा मिल्दैन । कुशवाह कर्तव्य ज्यान मुद्दामा जेल परेपछि उपमेयर खातुनले एकलौटी ढंगले नगरपालिका हाँकेको र जथाभावी बजेट खर्च गरेको आरोप छ । मेयर कुशवाह जेलमुक्त भइसकेका छन् ।


उपमेयर खातुन भने आरोप स्विकार्दिनन् । ‘बिनायोजना बजेट खर्च भएको देखाइदिए सजाय भोग्न तयार छु । जे मन लाग्यो, त्यही आरोप लगाउन पाइन्न,’ उनले भनिन् । मेयर कुशवाह थुनामुक्त भएदेखि उनीहरूबीच तनाव झन् बढेको छ । ‘हामीबीच मनमुटाव छैन,’ मेयर कुशवाहले भने, ‘मिलेरै काम गरिरहेका छौं ।’ तर उपमेयर खातुनले दुई महिनाअघि नगर परिषद् बहिष्कार नै गरिन् । उनी परिषद्को उद्घाटनमा सहभागी पनि भइनन् ।


मेयरले एकलौटी ढंगले काम गर्न थालेपछि विरोध जनाएको उपमेयरहरूको गुनासो छ । अनुगमन, विकास निर्माणका योजना, गाडी खरिदलगायत विषयमा मेयर हाबी हुन थालेको उनीहरूले बताएका छन् । राजदेवी नगरपालिकाका मेयर धीरेन्द्र सिंह र उपमेयर अंशु सिंहबीच बोलचाल नै बन्द भएपछि प्रमुख जिल्ला अधिकारी किरण थापाले केही दिनअघि दुवैलाई कार्यालयमा बोलाएर बोलचाल फुकाइदिए । अहिले बोलचाल भए पनि एकले अर्कालाई बेवास्ता गर्छन् । मेयरले एकलौटी ढंगले काम गर्न थालेको उपमेयर सिंहको आरोप छ । ‘मिलेर जाऊँ भन्दा मान्नुहुन्न,’ उनले भनिन्, ‘सबै कुरा एकलौटी गर्न थालेपछि कसरी सह्य हुन्छ ?’


मेयर सिंह उपमेयर अंशुको आरोप स्विकार्दैनन् । भन्छन्, ‘मैले केही कुरामा एकलौटी गरेकै छैन ।’ मेयर सिंह कांग्रेसका हुन् भने उपमेयर अंशुले राजपाकी । मेयरको एकलौटीबाट आफूहरू आजित भएको उपमेयरहरूको भनाइ छ । स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थासम्बन्धी आदेश ०७४ मा उपप्रमुखलाई सम्बन्धित कार्यपालिकाको न्यायिक समितिको संयोजक, योजना अनुगमन मूल्यांकन समितिको संयोजक, बजेट परामर्श समितिको संयोजक, विकास बजेट सिलिङ गर्ने समितिको संयोजकलगायतका जिम्मेवारी दिइएको छ । यही जिम्मेवारी मेयरले नदिएको उनीहरू बताउँछन् ।


दुवैबीच बिग्रिएको सम्बन्धकै कारण स्थानीय तहको न्यायिक समितिको काम प्रभावित छ । जननिर्वाचित भए पनि कार्यालयभित्र अधिकारविहीन बनाइएपछि आफूहरू अन्यायमा परेको उपमेयरहरूको भनाइ छ । स्थानीय तहभित्र सञ्चालित विभिन्न योजनाको अन्तिम अनुगमन तथा भुक्तानीका लागि सिफारिस गर्ने अधिकार उपमेयरलाई छ । तर यो अधिकार पनि मेयरले प्रयोग गर्दै आएको उपमेयरहरू बताउँछन् । जिल्लाभरका मेयर–उपमेयरबीच सम्बन्ध राम्रो बनाउन आफूले निकै प्रयास गरे पनि नसकेको गौर नगरपालिकाकी उपमेयर किरण ठाकुरको भनाइ छ । उनी उपमेयर क्लबकी पूर्वअध्यक्ष पनि हुन् । ‘मेयर साबहरू कुरा बुझ्नुहुन्न कि बुझेर पनि बुझ पचाउनुहुन्छ, थाहा पाउन सकेका छैनौं,’ उनले भनिन् ।


देवाही गोनाही नगरपालिकामा पनि मेयर धर्मेन्द्र पटेल र उपमेयर परनिया देवीबीच सम्बन्ध बिग्रिएपछि अहिलेसम्म नगर परिषद् हुन सकेको छैन । पोहोर पनि यही कारणले विकास योजनाको बजेट खर्च हुन सकेन । चालु आवका लागि बजेट योजना तर्जुमा पनि पारित हुन सकेको छैन । ‘परिषद् सम्पन्न गरेर विकास निर्माणमा जुटौं भनेको,’ मेयर पटेलले भने, ‘उपमेयरलगायतका जनप्रतिनिधि साथीहरू किन मान्दैनन्, थाहा भएन ।’

प्रकाशित : मंसिर ५, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?