कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ भवन पाएपछि विद्यार्थी दंग

नेराप्रावि लक्ष्मीपुरको नयाँ भवनमा पढ्दै विद्यार्थी । 
कान्तिपुर संवाददाता

(पर्सा) — जगरनाथपुर गाउँपालिका २ लक्ष्मीपुर टोलमा प्रवेश ४ कोठे जीर्ण विद्यालय भवनले सबैलाई गिज्याइरहेको हुन्थ्यो । ४ कोठामध्ये पश्चिम तर्फको कक्षा कोठाको छानो भत्किएर उक्त कोठा प्रयोग गर्नै नसक्ने अवस्था थियो । 

नयाँ भवन पाएपछि विद्यार्थी दंग

अन्य २ कोठा पनि जीर्ण भई मक्किएर प्रयोगबिहीन भएका थिए । बाँकी एउटा कक्षा कोठाको हालत पनि उस्तै थियो । दक्षिण तर्फको पर्खाल भत्किएको कक्षा कोठामा प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई पढाइन्थ्यो । डेक्सबेन्च नहुँदा विद्यार्थीले घरबाटै बोरा बोकेर पढ्न आउनु परेको थियो । विद्यालयमा कुल १ सय ३७ विद्यार्थी छन् ।


तर, नेपाल तथा बेलायत सरकारको सहयोगमा सामुदायिक विकास कार्यक्रमले भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिदिएपछि बालबालिकाले नयाँ विद्यालय भवनमा बेन्चमा बसेर पढ्न पाएका छन् । नेपाल ग्रामीण पुनर्निर्माण संस्थामार्फत ३५ लाख ३२ हजार ६ सय १ रुपैयाँ ३३ पैसाको लागतमा उक्त भवन निर्माण गरिएको हो । यसै वर्षको जनवरी महिनाबाट निर्माण गर्न सुरु गरिएको भवन नोवेम्बर महिनामा निर्माण सम्पन्न भई प्रयोगमा आइसकेको छ ।


नयाँ विद्यालय भवन पाएपछि आफूहरूलाई विद्यालय सञ्चालन गर्न धेरै सहज भएको प्रधानाध्यापक उन्नतीलाल प्रसाद कुर्मी बताउँछन् । ‘हामीलाई विद्यालयमा गर्मीयाममा एउटै कोठामा धेरै विद्यार्थी कोचिएर बस्दा सकस हुने र वर्षायाममा छानो चुहिने समस्या पनि थियो, कक्षामा झ्याल ढोका थिएन,’ उनले भने, ‘कोठाको छत पनि जुनसुकै बेला भत्किन सक्ने त्रासले अभिभावकले आफ्ना छोराछोरी विद्यालय पठाउँदा पनि चिन्ता लिन्थे, २०७२ सालको भूकम्पपछि अभिभावकको त्रास झनै बढेको थियो ।’ धेरै गर्मी भएको दिन विद्यार्थी पनि बढी आउँदा हामीले रूख मुनि बसाएर बालबालिकालाई पढाउनु पर्थ्यो ।


हाल २ कोठे भूकम्प प्रतिरोधी भवनसँगै गाउँपालिकाको कार्यालयले थप अर्को २ कोठे भवन निर्माण गरी रहेकाले विद्यालयलाई चाहिने कक्षा कोठाको करिब पूर्ति हुने उनले बताए । स्थानीय अभिभावक शिवरती दुसाधिनले विद्यालयमा नयाँ भवन निर्माण भएपछि आफ्ना ५ नातिनातिना सुरक्षित भएको बताइन् ।


प्रकाशित : कार्तिक २९, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?