कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ पदमा ८७ उम्मेदवार

एक गाउँपालिकाका अध्यक्ष र ९ वडाअध्यक्षका लागि हुने उपनिर्वाचनमा बुधबार उममेदवारले मनोनयन दर्ता गराएका छन् । ७ जिल्लाका १० वटौ सिटमा सिके राउतको जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ । 
प्रदेश २ ब्युरो

(जनकपुर) — धनुषाबाहेक प्रदेश २ का ७ वटै जिल्लाका रिक्त स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले उपनिर्वाचनका लागि २८ वटा मतदान स्थल र ४६ वटा मतदान केन्द्र बनाइने बताए । महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदमै निर्वाचन हुँदैछ । राष्ट्रिय जनता पार्टीबाट गाउँपालिका अध्यक्ष जितेका विनोद चौधरीको मृत्युपछि त्यहाँ उपनिर्वाचन हुँदैछ ।

९ पदमा ८७ उम्मेदवार

यसैगरी, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पनि रिक्त वडाअध्यक्षका लागि भइरहेको उपनिर्वाचनमा मनोनयन दर्ता गराइएको छ । सप्तरीको छिनमस्ता गाउँपालिकाको ७ नम्बर वडा, सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२, महोत्तरीको बलवा नगरपालिकाको वडा नम्बर २ र ८, महोत्तरीकै मटिहानी नगरपालिकाको वडा नम्बर ६, सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १, रौतहटको गढीमाइ नगरपालिका वडा नम्बर २, बारागढी गाउँपालिका बाराको वडा नम्बर १ र पर्साको सखुवापर्सौनी गाउँपालिका वडा नम्बर ५ मा उपनिर्वाचनका लागि मनोनयन दर्ता गराइएको छ ।


अध्यक्षमा २० जनाको उम्मेदवारी

महोत्तरीको तीनवटा स्थानीय तहमा रिक्त रहेका ४ पदका लागि हुने ४६ जनाले उम्मेदवारी दिएका छन् । पिपरा गाउँपालिकाको अध्यक्ष, बलवा नगरपालिका २ र ८ को वडाध्यक्ष र मटिहानी नगरपालिका ६ को वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।


पिपरा गाउँपालिको अध्यक्ष पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् भने बलवा नगरपालिका २ को वडाध्यक्षका लागि ८ जना, वडा नम्बर ८ मा १२ जना र मटिहानि नगरपालिका ६ को वडाध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पिपरा गाउँपालिका अध्यक्ष पदका लागि ११ वटा पार्टी र ९ स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।


जनमत पार्टीबाट अन्जनी देवी मण्डल, राष्ट्रिय जनमुक्ति पार्टीबाट इसराजुल दुनिया, राष्ट्रिय जनता पार्टीबाट रविता कुमारी, नेपाल जनता पार्टीबाट रामाकान्त झा, नेपाल कम्युनिष्ट पार्टीबाट विक्रम चौधरी, कांग्रेसबाट विजयकुमार यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट राजकिशोर यादव, समाजवादी पार्टीबाट रामजानकी यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामसुन्दर चौधरी, ऐतिहासिक प्रजातन्त्र पार्टीबाट शुकराम यादव र राप्रपा संयुक्तबाट सुनिल ठाकुरले उम्मेदवारी दिएका छन् । त्यस्तै अध्यक्ष पदकै लागि स्वतन्त्रबाट किशोरी यादव, गणेश कुमार यादव, पुनित अधिकारी, प्रदीपकुमार यादव, प्रविन चौधरी, रन्जित कुमार झा, रामवृक्ष यादव, शैलदेवी मण्डल र संजयकुमार यादव मैदानमा उत्रिएका छन् ।


महोत्तरी जिल्लाको तीनवटा स्थानीय तहमा हुने उपनिर्वाचनमा १९ मतदान स्थल र २९ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । यो उपनिर्वाचनमा महोत्तरीबाट २२ हजार ९ सय २० मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पाकुमारी झाले बताइन् ।


९ वडामा उपनिर्वाचन

प्रदेश २ को सर्लाही र सप्तरीमा वडाअध्यक्षका लागि हुने उपनिर्वाचनमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सर्लाहीको हरिपूर्वा नगरपालिका–१, को वडाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले पालिकाको उपनिर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको थियो । यस अवधीमा सिके राउतको जनमत पार्टी र दुईजना स्वतन्त्रसहित सात जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट दोस मोहम्मद अंसारी, कांग्रेसबाट रामपृत पासवान, राष्ट्रिय जनता पार्टी नेपालबाट रामविश्वास राय, समाजवादी पार्टीबाट श्यामबाबु राय, सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेश राय यादव, स्वतन्त्रबाट मनोजकुमार राय र मनोजकुमार यादवले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


निर्वाचित वडाध्यक्ष इसाक अन्सारीको क्यान्सर लागेर गत वर्ष मृत्यु भएपछि हरिपूर्वाको वडा नम्बर १ मा उपनिर्वाचन हुन लागेको हो ।


यता, सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदका लागि ३ जना स्वतन्त्रसहित ९ जनाले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीले गठबन्धन गरी उम्मेदवार उतारेका छन् भने सिके राउतले नेतृत्व गरेको जनमत पार्टी पनि उक्त वडाको वडाध्यक्ष पदमा उम्मेदवार खडा गर्दै निर्वाचनमा पहिलोपटक सहभागिता जनाएका छन् । राष्ट्र विखण्डनको मागसहित राजनीतिमा आएका राउतले पछिल्लो समय नेपालको संविधान मान्दै सरकारसित सहमति गरी जनमत पार्टी खोलेका हुन् ।


छिन्नमस्ता गाउँपालिका ७ नं का वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समितिको संयोजकमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको थियो । यादव राजपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्षका लागि राजपा र फोरमको गठबन्धनबाट राजपाकी प्रमिलादेवी यादवले उम्मेदवारी दर्ता गराएकी छन् । उनी प्रभाकरकी श्रीमती हुन् । यसैगरी नेकपाबाट अछेलाल यादव, कांग्रेसबाट शिवनारायण मण्डल, राप्रपावाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र जनमत पार्टीबाट दिनेश यादवले वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नुर हसन, रञ्जित यादव र धीरेन्द्र यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सखुवाप्रसौनीमा बुधबार उम्मेदवारी दर्ता भएको छ । कार्यालयले दिएको जानकारी अनुसार दल तर्फ ४ र १ स्वतन्त्र गरी ५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गर्नेमा राप्रपाबाट सदरी महरा, कांग्रेसबाट अशेश्वरप्रसाद यादव, समाजवादी पार्टीबाट रुपलालकुमार यादव, नेकपाबाट उदयशंकर प्रसाद रौनियार र स्वतन्त्र उम्मेदवार गोपाल साह कानु रहेका छन् । कात्तिक ३० गते उम्मेदवारी फिर्ता गर्ने दिन तोकिएको छ । बाराको बारागढी १ मा ११ जनाले उम्मेदवारी दिएका भने रौतहटको गढीमाई २ मा ११ जनाले उम्मेदवारी दिएका छन् । सिरहाको कल्याणपुरमा पनि बुधबारै मनोनयन दर्ता भएको छ ।


सुनिता बराल (महोत्तरी), अवधेश झा (सप्तरी), भरत जर्घा मगर (सिरहा), ओमप्रकाश ठाकुर (सर्लाही) र शंकर आचार्य (पर्सा)


प्रकाशित : कार्तिक २८, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?