भारतीय बीउमै निर्भर

कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख जितेन्द्र यादव सूचीकृत नभएको बीउ रोप्दा तरकारी बाली बिग्रे सरकार जिम्मेबार नहुने बताउँछन् ।
पवन यादव

(सिमरा) — कलैया उपमहानगरपालिका २ दोहरीका किसान मोहन साह छिमी (मटर) रोप्न सोमबार खेत सम्याउँदै थिए । छिमी रोप्न तयार भइसकेको खेतमा महिला मजदुर खुर्पाले बीउ गोड्दै थिइन् । 

उनीहरूले रोप्न लागेको भारतको विजेता कम्पनीको छिमीको बीउ सरकारले तयार गरेको तरकारी बालीको बीउमा सूचीकृत छैन । मोहनले भारतको आदापुर पुगेर बीउ खरिद गरी ल्याएका हुन् । नेपाली बजारमा पनि विजेता कम्पनीको बीउ छ्यापछ्याप्ती पाइए पनि त्यसको मूल्य व्यापारीले उच्च राखेकाले धेरै किसान छिमेकी देश भारतको बिहारबाट बीउ खरीद गरी ल्याउने गरेको किसानले बताए ।

छिमी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि मोहनले यसपालि ७ कठ्ठा क्षेत्रफलमा छिमी रोप्न थालेको जानकारी दिए । ‘छिमी खेतीबाट राम्रो आम्दानी हुन्छ,’ उनले भने, ‘व्यापारीले खेतबाटै उत्पादन किनेर लान्छन् ।’ रोपेको ४५ देखि ५० दिनमा छिमीले उत्पादन दिने गरेको उनले जानकारी दिए । गत वर्ष पनि भारतीय बीउबाट नै छिमी खेती गरेको उनले बताए । भारतीय बीउले अहिलेसम्म धोका नदिएको र विजेता कम्पनीको बीउमा आफ्नो विश्वास रहेको उनले जानकारी दिए ।

नेपाल सरकारले कुन–कुन कम्पनीको बीउ रोप्न सिफारिस गरेको छ आफूलाई जानकारी नभएको उनले बताए । उनी मात्र होइन । उनी जस्तै गाउँका मुनेश्वर मण्डलले पनि भारतीय जातकै बीउबाट यसपालि पनि छिमी खेतीगरेको बताए ।

‘विजेता कम्पनीको बीउमा हामी विश्वस्त छौं,’ उनले भने, ‘३/४ वर्षदेखि छिमी खेती गर्न भारतीय बीउ नै प्रयोग गर्न थालेका छौं ।’ अहिलेसम्म बीउले धोका नदिएको उनले जानकारी दिए ।

सरकारले सरल ढंगबाट तरकारी बालीको बीउ उपलब्ध नगराउँदा आफूहरू भारतीय बीउमा भर पर्नुपरेको उनले जानकारी दिए ।

जुन बीउले बढी उत्पादन दिन्छ र राम्ररी फल्छ त्यही बीउलाई देखासिकी सबै किसानले प्रयोग गर्ने उनले जानकारी दिए । लामो समयदेखि तरकारी खेती गर्दै आएका अगुवा किसानको अनुभवको आधारमा अन्य किसानले पनि तिनकै सिफारिसमा भारतीय बीउ रोप्ने गरेको स्थानीय किसानले बताए ।

छिमीको बीउ मात्र होइन । यहाँका किसानले प्याज, काउली, टमाटर, धनिया, लसुन, लौका, करेला, बोडी लगायतका तरकारी बालीको बीउ भारत बिहारको रक्सौल, आदापुर, छौडादानो, घोडासहन लगायतका स्थानबाट खरिद गरेर
ल्याउने गर्छन् ।

भारतबाट ल्याइएको बीउ राम्ररी फल्ने गरेको कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयाका किसान मोतिलाल महतो धानुकले बताए । झन्डै डेढ दशकदेखि निरन्तर तरकारी खेती गर्दै आएका महतोले भारतीय तरकारीको बीउले अहिलेसम्म धोका नदिएको बताए ।

‘कलैयाका व्यपारीले पनि पसलमा भारतीय बीउ नै बिक्री गर्छन्,’ उनले भने, ‘सीमापारि पुगेर बीउको पकेट खरिद गर्दा यहाँभन्दा धेरै सस्तो पर्छ ।’ त्यसैले नजिकै रहेको भारतीय बजारसम्म बीउ खरिद गर्न पुग्ने गरेको उनले जानकारी दिए । तरकारी खेतीका लागि जिल्लाको प्रष्टोका, कवलपुर, मझौलिय, बंजरिया, इनर्वासिरा, सिम्रौनगढ, इटवाल, मनगढवा, भलुहीभरवलिया, बरियारपुर, भवरा, विसम्भरपुर, खपरताता, बेलहिया, प्रस्टोका लगायतका स्थानमा धेरै क्षेत्रफलमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कलैयाले जनाएको छ । धान र गहुबालीबाहेक नेपाल सरकारले धेरै कम संख्यामा तरकारीको बीउ सूचीकृत गरेको कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

विजेता कम्पनीको तरकारी बालीको बीउलाई अहिले सम्म नेपाल सरकारले सूचीकृत नगरेको उनले जानकारी दिए ।

‘बीउ बिजन नियमावलीअनुसार तरकारी बालीको थोरै बीउ सूचीकृत भएका छन्,’ उनले भने, ‘सूचीकृत नभएको बीउमा विश्वसनीयता हुँदैन ।’ किसानले मनोमानी ढंगबाट रोपेको तरकारीबाली बिग्रेमा त्यसको जिम्मेवार सरकार नहुने उनले स्पष्ट पारे । यहाँका किसानले परम्परागत रूपमा गर्दै आएको तरकारी खेतीमा विश्वासको आधारमा भारतीय बीउ प्रयोग गर्ने गरेको उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक २६, २०७६ १०:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पुल पूरा नगरी ठेकेदार भागे

कान्तिपुर संवाददाता

झापा — मेचीपारिको नेपाली गाउँका बासिन्दालाई मेची नदी वारपार गर्न सजिलोका लागि सरकारले झोलुंगे पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो । २०७२ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पुल शिलान्यास गरेका थिए ।

शिलान्यास गरेको ४ वर्ष बित्दा पनि पुल बनेको छैन । ‘पुल आधा छाडेर ठेकेदार सम्पर्कमै छैनन्,’ मेचीपारिका स्थानीय लेकेरु राजवंशी भन्छन्, ‘वारपार गर्नै समस्या छ ।’ निर्माण कम्पनीले करिब २ सय ८० मिटर लामो र १० मिटर चौडाइको पुल जडानका साथै पुल चढ्ने र ओर्लने बाटो निर्माण गर्न बाँकी नै छ । पुलमा जाली लगाएको छैन ।

दसैं अघिदेखि काम भएको छैन । तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुलका लागि बजेट विनियोजन गरी ठेक्का आह्वान गर्दा भ्याटसहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयाँमा नीलगिरि सेवा प्रालि काठमाडौंले ०७२ भदौ ७ गते १८ महिनामा निर्माण सक्ने सम्झौता गरेको थियो । तर, हालसम्म पनि पुल पूर्णरूपमा सम्पन्न भएको छैन ।

‘आधाकल्चो पुल छाडेर ठेकेदार नै बेपत्ता छन्,’ भद्रपुर नगरपालिका ३ नम्बर वडा सदस्य अरुण राजवंशीले भने, ‘पुल निर्माणका लागि सम्बद्ध निकायलाई निरन्तर दबाव दिइरहेका छौं ।’ मेचीपारिको स्कुलमा अध्ययनरत विद्यार्थी जोखिम मोलेर पुल तर्छन् ।

प्रकाशित : कार्तिक २६, २०७६ १०:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×