कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

राजस्व छल्दै भारतीय गाडी

कान्तिपुर संवाददाता

(रौतहट) — कडाइ गरिए पनि सीमावर्ती जिल्लामा भारतीय नम्बर प्लेटका गाडी चलाउने क्रम बढेको छ । भन्सार राजस्व छल्दै भारतीय गाडी नेपालमा निर्बाध गुँडिरहेका छन् । 

मर्मतसम्भारको बहानामा धेरैजसो भारतीय गाडी वर्षौंसम्म नेपाली ग्यारेजमा राखिन्छ । यसरी भन्सार नतिरी भारतीय गाडी नेपालमा राख्न पाइँदैन । भन्सार कार्यालयले समेत नियमित अनुगमन नगर्दा भारतीय गाडीको ताँती बढेको छ ।


भारतबाट नेपाल प्रवेश गरेपछि दैनिक ५ सय राजस्व तिर्नुपर्छ । त्यस्ता सबारीले नेपाल प्रवेशका क्रममा वर्षमा ३० दिनमात्र भन्सार राजस्व काट्न पाउँछन् । तर, जिल्लाका विभिन्न स्थानमा वर्षौंसम्म त्यतिकै राख्ने गरेको पाइएको छ । जिल्लाभरि भारतीय सबारीको संख्या ५ सयको हाराहारीमा छ । गौर भन्सार अधिकृत आशुतोष राईले ३० दिनभन्दा बढी समेत राजस्व काट्न नपाइने र त्यसो गरेको पाइएमा जफतसम्म हुने कानुनी प्रावधान रहेको बताए ।


‘सर्लाही र रौतहटमा भारतीय सबारीहरू भन्सार नतिरेर लुकिछिप बस्ने गरेको पाइन्छ,’ उनले भने, ‘यस्ता सबारीसाधन पक्राउ परे तत्काल सिज गर्छौं ।’ ग्यारेजमा मर्मतका नाममा समेत भारतीय सबारी राख्न नपाइने उनले सुनाए । नेपालमा धेरै समय राख्नुपर्ने भए यथार्थ कारण खुलाएर पाइने प्रावधान छ ।


मनासिव कारण खुलाएको बखतमा पनि त्यस्ता सबारीको हकमा दैनिक २ हजार ५ सयका दरले जरिवाना हुने भन्सार कार्यालयले जनायो । जिल्लाको शिवनगर, गरुडा, गौर लगायतका स्थानमा भारतीय गाडी बाटोभरि राखेको देख्न सकिन्छ ।


जिल्लाका ठूला पार्टीका नेतादेखि सामान्य कार्यकर्ताले समेत भारतीय गाडी चढ्छन् । पछिल्लो समय राजनीतिक पहुँचका भरमा भन्सार राजस्व नतिरी पार्टीको झन्डा राखेर निर्वाध गाडी चलाउने प्रवृत्ति बढेको छ । केन्द्र वा प्रदेशका मन्त्री आउँदा जिल्लामा भारतीय गाडीको ताँती लाग्छ । ‘हामीले कडाइ गर्न सकेका छैनौं,’ अधिकृत राई भन्छन्, ‘सीमा क्षेत्रका जिल्लामा भारतीय गाडीको बेथिति बढेको छ ।’ भन्सारले लामो समयसम्म जिल्लामा बस्ने गाडीको पहिचान गरी कारबाही गर्ने जनायो ।


अभिलेख राखिँदै

नेपाल भारत खुला सीमाका कारण भारतबाट चोरीका गाडीहरू भित्रन सक्ने र बिना भन्सार सबारी चलाउन थालेको पाइएपछि जिल्ला प्रहरीले अभिलेख राख्ने तयारी गरेको छ ।


खुला सीमा र नेपालभन्दा सस्तो मूल्य पर्ने हुनाले सीमाक्षेत्रका नेपालीले भारतीय नम्बर प्लेटका सबारी चढ्दै आएका छन् । यही आडमा चोरीका गाडी समेत भित्रिएको अनुमान छ । यस्ता गाडीले दुर्घटना गराउँदा समस्या आउने गरेको सुरक्षाअधिकारीको ठम्याई छ । अहिले जिल्लाभरि भारतीय नम्बर प्लेटका सबारीको संख्या कति छ भन्ने यथार्थ विवरण भन्सारसित छैन । जिल्लामा दिनको भन्सार काटेर महिनौं दिनसम्म राख्ने गरेको पाइएको छ ।


जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले भारतीय गाडीले नियम मिचेर चलाउन थालेकाले त्यस्ता सबारीको अभिलेख राख्न लागिएको बताए । ‘चोरीका गाडी नियन्त्रण र सरकारी राजस्व छली न्यून गर्न अभिलेख राख्न लागिएको हो,’ उनले भने, ‘जिल्लाभरिका भारतीय गाडीले नियम मिचेरबिना भन्सार चलाइएको पाइएकाले अब कडाई गर्छौं ।’


प्रकाशित : कार्तिक १९, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?