कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माटाका भाँडा बनाउने चटारो

ओमप्रकाश ठाकुर

सर्लाही — बिहानको झिसमिसेबाट मध्यरातसम्म कुम्हाल समुदाय व्यस्त छन् । परिवारका अभिभावक मात्र हैन, अन्य काम छोडेर माटाकै काममा घरका सबै सदस्य व्यस्त छन् । 

माटाका भाँडा बनाउने चटारो

कोही माटो ल्याउने काम गर्छन् । कोही माटो मुछ्ने काममा व्यस्त छन् । मुछेको माटोलाई दियो, कलशलगायतको आकार दिन घरका अभिभावक व्यस्त हुन्छन् । पानीमा हात चोप्दै विभिन्न किसिमको आकार दिएपछि दियो, कलश, खुत्रुके लगायतका माटोको भाँडो तयार हुन्छ । माटोकै काममा ५५ वर्षीय सत्यनारायण पण्डितको परिवार खुसी छ । उनी चार दशकदेखि यही काममा ब्यस्त छन् । बाल्यकालदेखि अभिभावकलाई सघाउँदै आएका उनले १५ वर्षको उमेरमा माटोलाई आकार दिन जानेका थिए । त्यसयता उनी निरन्तर आफ्नो पुर्वजको पेशामा लागेका छन् ।


बरहथवा नगरपालिका–१० सितापुरका सत्यनारायणका श्रीमती, छोरा, छोरी, बुहारीसमेतलाई यतिबेला धपेडी छ । तिहार र छठ पर्वका लागि दियो, कलश, लक्ष्मीको मूर्ति बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । बजारमा माग बढेकाले उनीहरू विहान देखि बेलुकीसम्म माटोको भाँडो बनाउनमै व्यस्त छन् । यही पेशाबाट सत्यनारायणको परिवारको गुजारा चल्दै आएको छ । यसैको आम्दानीबाट उनले छोरा छोरीलाई राम्रो शिक्षा दिलाउन सफल पनि भए । अन्य समयमा छोराहरू रोजगारीको क्रममा सहर रहेपनि तिहारको आगमन संगै बुवालाई सघाउन आइपुग्छन् । छोराहरूको काम बनेका माटाका सामग्रीलाई बजार पुर्‍याउनु हो ।


उनीहरूलाई बजारकै चिन्ता हुन्छ । ‘माटोको भाँडाबाट पैसा जोगाएर छोरा छोरीलाई पढाएँ, अब नातिनातिनीको पढाइ पूरा गर्नु छ,’ उनले भने, ‘परिवारको अन्य सदस्यको कमाइ बचत गर्ने गरेको छु ।’


व्यापारीहरू घरमा आएरसमेत माटाका भाँडाकुँडा खरिद गर्ने गरेका उनले सुनाए । उत्पादन भएका सामग्री बिक्री गर्न कुनै समस्या नरहेको उनको भनाई छ । माटोका भाँडा बनाउन अहिलेपनि उनीहरू परम्परागत काठको चक्रबाट सामग्री बनाइरहेका छन् । उनीहरूले प्रती गोटा १ रुपैयाँको दरले सानो दियो बिक्री गर्ने गरेका छन् । एक जनाले एक दिनमा करिब एक हजार दियो बनाउन सक्छन् । उनले यस वर्ष तीस हजार रुपैयाँ बराबरको सामग्री बेच्ने लक्ष्य राखेका छन् । अहिलेसम्म करिब बीस हजार बराबरको सामग्री बेचिसकिएको उनले जानकारी दिए ।


सत्यनारायण मात्र हैन कुम्हाल समुदायलाई नै अहिले माटोको दियो, कलश, खुत्रुके लगायतको भाँडा बनाउने चटारो छ । तिहारको पूर्वसन्ध्यामा माटोका सामग्री बनाउन उनीहरू व्यस्त छन् । यो समुदायलाई अन्य बेलाभन्दा तिहार र छठको समयमा माटाका भाँडाकुँडा बनाउन चटारो पर्ने गर्छ ।


प्लास्टिक र फलामका भाँडाकुँडाले माटोका भाँडा विस्थापित गरेपछि कतिपय कुम्हालको रोजगारी गुमेको छ । तिहारको समयमा विगतका केही वर्षदेखि माटोको दियो बाल्ने क्रम घटेपछि कविलासी नगरपालिका–१ पिपरियाका बद्री पण्डित यो पेसाबाट पलायन हुनु परेको गुनासो गरे ।


‘विद्युतीय दियोको कारण ५० प्रतिशत भन्दा बढी व्यापार घटेको छ, तर भाँडा बनाउनेको संख्या बढेको छ, जसले भाउ पनि राम्रो पाउँदैन, त्यसकारण यो वर्ष मैले बनाइन,’ उनले भने, ‘पहिला माटोको भाँडाकुँडा बनाउने कम थिए, आम्दानी धेरै हुन्थ्यो, अहिले धेरैको संख्यामा माटोका काम गर्ने भएकाले बिक्री कम हुँदै गएको छ ।’

प्रकाशित : कार्तिक ९, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?