फक्रियो सयपत्री

भरत जर्घामगर

(सिरहा) — तराई–मधेसका नर्सरीमा ‘सयपत्री’ ढकमक्क फुलेका छन् । बढी फूल खपत हुने समय तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी हुर्काएका सयपत्रीले नर्सरीको शोभा बढाएको छ । फूल व्यवसायीका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । 

फक्रियो सयपत्री

तिहार, छठ पर्वलाई लक्षित गरी १० कठा जग्गामा व्यावसायिक सयपत्री फूल खेती गरेका सिरहा धनगढीमाई– १० जिरोमाइलका सुरेश महतो यत्तिबेला फूलको स्याहारमा व्यस्त छन् । बारीमा ढकमक्क फूलेका सयपत्रीलाई अझ फस्टाउने बनाउन भिटामिन छरिरहेका महतो यही सिजनमा ५ लाख रुपैयाँ आम्दानी लिने सुरमा छन् ।


साउनमा रोपेको सयपत्री तिहारका लागि तयारी छन् । ‘एक पटक रोपेको सयपत्री माघसम्म फक्रिन्छ,’ उनले भने, ‘सयपत्रीबाट मात्रै ५ लाख रुपैयाँ आम्दानी हुन्छ, बिरुवा उत्पादनदेखि लागत १ लाख रुपैयाँ लागेको छ ।’ वैशाख जेठमा सयपत्री रोपिसक्नुपर्ने भए पनि यस वर्ष वर्षाका कारण ढिलाइ भएको हो । सयपत्री हुर्काउन उनले ३ जनालाई रोजगारीसमेत दिएका छन् ।


महतो मात्र होइन केही वर्ष अगाडिसम्म सानो बजारको रुपमा रहेको पूर्व पश्चिम राजमार्गमा अवस्थित जिरोमाइल अब नर्सरीको ‘हब’ नै बनेको छ । त्यस क्षेत्रलाई अहिले ‘सयपत्री’ र ‘मखमली’ ढकमक्क ढाकेको छ । ‘अरु बेला त आँप लिचीलगायत अन्य प्रजातिको विरुवा उत्पादन गर्छौ तर सिजनका बेला हामीले लगाउने भनेको ‘सयपत्री’ र ‘मखमली’ फूल नै हो,’ श्रीदेव नर्सरीका सञ्चालक श्रीदेव चौधरीले भने ‘विजयादशमी, तिहार र छठ पर्वसम्मलाई पुग्ने जतिसुकै फूल हामी उपलब्ध गराउन सक्छौं ।’ उनले यसपालि डेढ बिघा जग्गामा फूल खेती गरेका छन् ।


नर्सरीमात्र होइन विजयादशमीदेखि तिहारसम्म चाहिने फूलको माग धान्न जिरोमाइलमा थोरै खेतजग्गा हुनेले पनि फूलको नै खेती गरेका छन् । नर्सरी व्यवसायीका अनुसार तिहारको संस्कृतिमा मौलाएको सयपत्री फूल आजभोलि सर्वव्यापी पुष्पसामग्री बनिसकेको छ । सभा, गोष्ठी, स्वागत, बिदाइ, सम्मान, अभिनन्दन मात्र होइन श्रद्धाञ्जलीमा समेत सयपत्रीले आफ्नो आधिपत्य जमाइसकेकाले यो फूलको बाह्रैमास माग भएको नर्सरी व्यवसायी महतोले बताए ।


‘हाम्रो संस्कार र संस्कृतिभित्र परापूर्वकालदेखि गहिरो सम्बन्ध गाँसेर सयपत्री बसेकाले यस फूललाई अब संस्कृति फूल भन्दा पनि हुन्छ,’ ७४ वर्षीय चौधरी भन्छन्, ‘पूजा कर्म, बिहेबारीदेखि मृत्यु संस्कारसम्म यसको प्रयोग हुने भएकाले सिजनमा यसको माग धान्न हामीलाई गाह्रो पर्छ ।’ सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, वीरगन्ज, विराटनगर हुँदै काभ्रेसम्म पुग्ने फूलको अधिकांश भाग जिरोमाइलकै नर्सरीले आपूर्ति धान्ने गरेको छ । जिरोमाइल र आसपासका क्षेत्रमै ४० भन्दा बढी ठूलासाना नर्सरी छन् । पूजा र सजावटदेखि घाँटीमा माल लगाउन प्रयोग हुने सयपत्रीलगायत विभिन्न प्रजातिको फूलको माग बढ्दै गए पनि नेपालमा त्यही अनुसारको उत्पादन नहुँदा बर्सेनि १० करोड रुपैयाँभन्दा धेरैको फूल आयात भइरहेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले जनाएको छ । एसोसिएसनका अनुसार सयपत्री फूलको निर्यात बढाउन पिगमेन्ट उद्योग स्थापनाका लागि तराईका तीन, पहाडका ५ र उच्च हिमालका २ गरी १० जिल्लामा उद्योग स्थापनाका लागि परीक्षण समेत थालिएको छ ।


जिरोमाइलका कृषकको नर्सरी खेतीप्रतिको आकर्षण देखेर धनगढीमाई नगरपालिकाले यस क्षेत्रलाई फूलको ‘हब’ कै रुपमा विकास गर्ने लक्ष्य लिएको छ । यहाँ रहेका करिब दुई दर्जन फलफूल नर्सरीमध्ये गुणात्मक फलफूल उत्पादन गर्ने नर्सरीलाई नगरपालिकाले प्रत्येक वर्ष सम्मान र पुरस्कृत गर्ने योजना बनाएको छ ।

प्रकाशित : कार्तिक ७, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?