कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगुबारे अटेरी

कान्तिपुर संवाददाता

रौतहट — जथाभावी फालिएको थोत्रा टायरमा पानी जमेर लामखुट्टेले फुल पार्ने र त्यसैबाट डेंगु सर्ने भन्दै चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले टायर पसलेलाई सचेत गरायो । स्वास्थ्यकर्मीसहितको टोली घुमेर टायरमा जमेको पानी फाल्नसमेत लगाए । तर अहिले फेरि उस्तै छ । 

चन्द्रनिगाहपुरको मुख्य चोकक्षेत्रमा रहेको टायर व्यापारी र साना होटेलले अटेरी गर्दै आएका हुन् । उनीहरूले जथाभावी पुराना टायर राख्ने गरेको र त्यसैमा पानी जम्ने गरेकाले डेंगुको खतरा बढ्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेको छ । जिल्लामा अहिलेसम्म डेंगुका १८ भन्दा बढी बिरामी फेला परिसकेको छ । अहिले पनि अस्पतालमा डेंगुको शंका गरी उपचार गराइरहेको बिरामीको संख्या बढ्दो छ ।


राजमार्गमा खोलिएका आधादर्जन टायर पसलेले जथाभावी थोत्रो टायर फाल्ने गरेकाले त्यसैमा पानी जमेर लामखुट्टेले बासस्थान बनाई फुल पार्ने गरेको पाइएको छ । साना होटेलले समेत बाहिर भाडा, प्लेट पखाल्ने र त्यही पानी जमाउने गरेकाले समस्या बढेको हो । सुख्खा समयमा पानी पर्दा फुलभित्र डेंगु भाइरस हुने र पछि त्यही लामखुट्टे बनेर टोक्दा रोग लाग्ने हुँदा स्वास्थ्यकर्मी र स्थानीय समाजसेवीहरूको एक टोलीले दुई साताअघि टायर पसलका सञ्चालकलाई सम्झाएर पानी फाल्न लगाइएको थियो ।


नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु रोग नियन्त्रण गर्न लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्टको अभियान थाले पनि स्थानीय व्यापारीले अटेर गरे । अहिले पनि नगरपालिकाले डेंगु रोग नियन्त्रणसम्बन्धी चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको छ । कार्यक्रममा सबैभन्दा बढी टायर पसलबाट डेंगुको खतरा हुने बताइएको थियो । एक महिनाअघि स्थानीय स्वयंसेवीकाहरू गाउँ र चोकमा परिचालन गरी जमेको पानी फाल्न अनुरोध गरिएको थियो ।


नगरपालिकाले त्यसै बेलादेखि घरदैलो अभियान थालेको हो । अहिले पनि केही टायर व्यापारीले अटेर गरि अभियानलाई असहयोग गरेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अभय ठाकुले बताए । ‘सबैभन्दा खतरा टायरमा जमेको पानीले हुने गरेको पाइएको छ,’ उनलेभने, ‘घर पसलमा राखिएको टायर, भाडामा जमेको पानीमा लामखुट्टेको लार्भा फेला पर्न सक्छ । आकाशे वर्षा थामिएपछि टायरभित्र पानी जम्ने गरेको र त्यही लामखुट्टेले फुल पारी मानिसमा डेंगु सार्ने गरेको छ ।’


नगरक्षेत्रमा डेंगु जोखिम पहिचान गरि डेंगु सार्ने एडिस एजेप्टाई नामको लामखुट्टेका लार्भा नष्ट गर्न नगरपालिकाले गएको असारदेखि अभियान थालेको हो । अहिले नगरपालिकाको दसवटै वडामा वडाध्यक्षको अध्यक्षतामा ३/३ वटा टोल सुधार समिति गठन गरिएको छ । समितिले आफ्नो वडाको सबै घरमा पुगेर डेंगुबारे जानकारी गराउनेछ । रोगबारे घरमुलीलाई सम्झाइनेछ ।


घरवरपर पानी जम्न नदिन र सावधानी अपनाइनेबारे स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य शिक्षा दिइने गरेको छ । नगरपालिकाको १ देखि ६ नम्बर वडामा ३४ जना स्वयंसेविका परिचालन गरी लार्भा नष्ट गर्न थालिएको हो । स्थानीयको घर पसलमा जमेको पानीमा लार्भा भेट्टिए भने त्यसलाई तत्कालै नष्ट गरिँदै आएको छ । डेंगुको जोखिम कम गर्न लार्भा नष्ट गर्न लागिएको ठाकुरले जनाए । अभियानलाई चोकका केही टायर व्यापारीले अटेर गरेको ठाकुरको आरोप छ ।

प्रकाशित : कार्तिक ६, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?