कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सालक संरक्षण कार्यक्रम : पहिला मार्ने, अहिले जोगाउने

शंकर आचार्य

(पर्सा) — अति संकटापन्न वन्यजन्तु सालक जोगाउन जुओलोजिकल सोसाइटी अफ लन्डनले स्थानीयसँग हातेमालो गरी सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बनेको छ ।

सालक संरक्षण कार्यक्रम : पहिला मार्ने, अहिले जोगाउने

सरकारले संरक्षित वन्यजन्तुको सूचीमा राखेको यो वन्यजन्तु जोगाउन पर्सा राष्ट्रिय निकुञ्जस्थित सोसाइटीको फिल्ड कार्यालयले मकवानपुरको २ वटा मध्यवर्ती सामुदायिक वनसँग ३ वर्षयता सालक संरक्षण कार्यक्रम सञ्चालन गरी सहकार्य गरिरहेको छ ।

सोसाइटीका प्रशासकीय अधिकृत प्रचण्ड महर्जनका अनुसार मकवानपुरको मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह पदमपोखरी र चुच्चे खोला सामुदायिक वन उपभोक्ता समूहसँग सन् २०१६ देखि सहकार्य गरी सोसाइटीले सालक संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ । सालक संरक्षणमा गरिएको यो प्रयास स्वरूप सन् २०१७ मा दुवै मध्यवर्ती क्षेत्र संसारकै पहिलो सालक संरक्षण क्षेत्र घोषित समेत भइसकेका छन् ।

सोसाइटीले दुवै समूहमा सालकको चोरी सिकारी नियन्त्रणका लागि समुदायमा आधारित ‘एन्टी पोचिङ’ एकाई खडा गरेको छ । यी एकाईको बैठक तथा फिल्ड खर्चमा समेत सोसाइटीको सहयोग रहेको छ ।

यसका साथै दुवै समूहमा सालकसम्बन्धी विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । ‘यस क्रममा सालक ह्रिंसक वन्यजन्तु नभई किसान मैत्री वन्यजन्तु रहेको कुरो स्थानीयलाई बुझाउने काम गरिएको छ,’ उनले भने, ‘इकोसिस्टममा सकारात्मक प्रभाव पार्ने यो वन्यजन्तुले किसानको खेत खोस्रेर त्यहाँबाट आफ्नो आहारा खोज्ने भएकाले यसले जमिनलाई उर्वर बनाउने काम पनि गर्छ भनी किसानलाई बताइन्छ ।’

दुवै समूहका ७०/७० महिला प्रतिनिधित्व हुने गरी समूहहरूमा सामुदायिक बैंक सञ्चालन गरिनुका साथै जीविकोपार्जनका लागि खेती तथा बाख्रापालन तालिम समेत महिलाहरूलाई दिइएको छ । सामुदायिक बैंक सञ्चालन गर्न चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहलाई १२ लाख र पदमपोखरी सामुदायिक वन उपभोक्ता समूहलाई ८ लाख रुपैयाँ ‘सिड मनी’ समेत उपलब्ध गराइएको छ । महिलाहरूले मासिक सय रुपैयाँ बचत समेत गरिरहेका छन् ।

हाल सालक संरक्षण कार्यक्रम सञ्चालित क्षेत्रमा एक दशक यता सालक फेला पर्ने क्रम जारी रहेको र अति संकटापन्न यो वन्यजन्तुलाई स्थानीयले संरक्षण गर्नु साटो विभिन्न भ्रमका कारण मार्ने पनि गर्ने गरेकाले यसको संरक्षणका लागि कार्यक्रम नै सञ्चालन गर्नुपरेको महर्जन बताउँछन् । कार्यक्रम सञ्चालन भए यता मात्र चुच्चेखोला सामुदायिक वन क्षेत्रमा स्थानीयले फेला पारेर समितिलाई जिम्मा लगाएका ९ वटा सालकको उद्धार गरिसकिएको उनले बताए । ‘स्थानीयको सालकसम्बन्धी चेतना बढेको छ, अब उनीहरू सालक देखेर डराउने र त्यसलाई मार्ने नभई समातेर समितिको जिम्मा लगाउँछन्,’ उनले भने, ‘समिति कार्यक्षेत्र बाहिरका स्थानीयले पनि यसो गर्न थालेका छन् ।’

महर्जनका अनुसार विश्वमा कुल ८ र एसियामा ४ जातका सालक पाइन्छन् । नेपालमा दामे (इन्डियन) र कालो (चाइनिज) गरी दुई जातका सालक पाइन्छन् । पर्सा, बारा, रौतहट, मकवानपुर गरी नेपालका ४३ जिल्लामा सालक पाइन्छन् । नेपालमा यो वन्यजन्तु के कति संख्यामा छन् भनी हालसम्म गणना वा अनुमान गरिएको छैन ।

दामे सालकको तौल २ देखि ७ किलो र यसको आयु १५ वर्ष ३ महिना सम्मको हुन्छ । काले सालकको तौल १० देखि १३ किलो र यसको आयु १३ वर्षसम्म हुन्छ । शरीरमा खपटा भएको विश्वको एक मात्र स्तनधारी यो वन्यजन्तु राति सक्रिय हुने गर्छ । आफ्नो लामो जिब्रोले कमिला र धमिरालाई आहारा बनाउँछ । एक वर्षमा यसले करिब ७ करोड धमिरा र कमिला खान्छ ।

भिरालो/पानी भएको ठाउँमा बढी बस्न रुचाउने सालक लजालु स्वभावको हुन्छ । एक्लै बस्न रुचाउने र राति मात्र सक्रिय हुने यसले बच्चा जन्माएपछि बच्चालाई आफूसँग केही समय मात्र राख्छ । बच्चालाई पुच्छरमा राखेर घुमाउँछ । यसले जंगलमा रूख बिरुवाका बिउ एक ठाउँबाट अर्को ठाउँमा ओसार्ने सहयोगीको काम पनि गर्छ ।

सरकारले यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखी यसको सिकार गर्ने वा मार्नेलाई १ देखि १० वर्षसम्म कैद सजाय तथा १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ । दामे सालकलाई इन्टरनेसनल युनियन फोर कन्जरभेसन अफ नेचर (आईसीएन) ले अति संकटापन्न र साइटिसले पनि अति संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।


प्रकाशित : कार्तिक ५, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?