कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जानकी लीलाको तयारी

श्यामसुन्दर शशि

(जनकपुर) — भारत उत्तर प्रदेश सरकारको आयोजनामा यही कात्तिक ७ गतेदेखि १० सम्म अयोध्यामा आयोजन हुन लागेको दीप महोत्सव तथा अन्तर्राष्ट्रिय रामलीला महोत्सवमा सहभागी हुन मिथिला नाटयकला परिषद् जनकपुरधाम जानकी लीलाको तयारीमा जुटेको छ ।

गत वर्ष भारत सरकारले नयाँ दिल्ली र जयपुरमा आयोजन गरेको अन्तर्राष्ट्रिय रामायण महोत्सव तथा उत्तर प्रदेश सरकारको अयोध्या शोध संस्थानले ०७२ मा आयोजन गरेको अन्तर्राष्ट्रिय रामलीला महोत्सवमा पनि मिनाप सहभागी भएको थियो । यस पटकको यात्रालाई मिनाप अध्यक्ष परमेश झा भावनात्मक यात्राको नाम दिन्छन् ।


नेपाल र भारत सरकार रामायण सर्किट परियोजनामार्फत मिथिला–अवधबीचको रामायणकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने पहल गरिरहेका बेला जनकपुरको मिनापको यस कदमले दुई देशबीचको वैवाहिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको प्रतिक्रिया छ ।

भारत, रूस, मलेसिया, बंगलादेश, श्रीलंका, चीन लगायतका देशका रामलीला समूह सहभागी रहेको यस महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै मिनाप अयोध्या जान लागेकोमा जनकपुर उपमहानगर पालिकाका मेयर लालकिशोर साहले प्रशन्नता व्यक्त गरे ।


‘यो मिथिला र जनकपुरमात्रको प्रतिष्ठाको विषय होइन, अन्तर्राष्ट्रिय रामलीला महोत्सवमा जनकपुरको नाटय समूहको सहभागिता सिंगै मुलुकको प्रतिष्ठाको विषय हो,’ साहको प्रतिक्रिया छ । रामलीलामा सामान्यतया रामको चरित्रलाई महत्त्व दिइन्छ तर मिनापको जानकी लीलामा जानकीको चरित्रलाई महत्त्वका साथ उजागर गरिएको छ ।


विवाह महोत्सव समिति गठन

मंसिर दोसो साता आयोजन हुने सप्ताहव्यापी राम जानकी विवाह महोत्सव भव्यतासाथ मनाउने निर्णय भएको छ । यस वर्ष अयोध्याबाट साधु सन्तहरू जन्तीका रूपमा सहभागी हुने भएकाले महोत्सवलाई अझ भव्य बनाउन विभिन्न समिति गठन गरिएका छन । जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवको अध्यक्षतामा बसेको बैठकमा जनकपुर उपमहानगर पालिकाका प्रमुख लालकिशोर साह, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, युवा संघ संस्थाका प्रतिनिधिसँगै नागरिक समाजका अगुवाको उल्लेख्य सहभागिता थियो ।


विवाह महोत्सवमा सहभागी हुन भारतका अयोध्या, बनारस, दिल्ली लगातका सहरबाट प्रत्येक वर्ष साधु महात्माको सहभागिता रहने गरे पनि प्रत्येक पाँच वर्षमा अयोध्याबाट विधिवत जन्ती नै आउने प्रावधान छ । छोटे महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यस वर्ष सयौंको संख्यामा सन्त महन्तको सहभागिता हुनेछ । बैठकमा मञ्च व्यवस्थापन, शान्ति सुरक्षा, शौचालय तथा सरसफाई, खानेपानी व्यवस्थापन, पण्डाल तथा आवास व्यवस्थापनलगायतका उपसमितिहरू गठन गरिएको थियो भने जानकी मन्दिरको अगुवाईमा मूल समिति गठन गरिएको थियो ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?