कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्ज–पथलैया सडक निर्माण सुस्त

शंकर आचार्य

(पर्सा) — सडक निर्माणको ठेक्का पाएका निर्माण कम्पनीहरूको ढिलासुस्तीका कारण वीरगन्ज पथलैया व्यापारिक मार्ग निर्माणको कामले गति लिन सकेको छैन । योजना अन्तर्गत हालसम्म सरदर ४५ देखि ५० प्रतिशत मात्र निर्माण सम्पन्न हुन सकेको छ । 

व्यापारिक मार्ग विस्तार योजना (वीरगन्ज–पथलैया सडक) का निमित्त प्रमुख अरुणकुमार कर्णले सम्पूर्ण प्याकेजमा हालसम्म सम्पन्न काम हेर्दा औसतमा ४५ देखि ५० प्रतिशत काम मात्र भएको बताए । ‘कसैले ३५ प्रतिशतसम्म र कसैले ६५ प्रतिशतसम्म काम गरेका छन्,’ उनले भने, ‘सबैभन्दा कम काम भएको प्याकेज नम्बर ५ हो, यसमा अन्य प्याकेजको तुलनामा अत्यन्त कम काम भएको छ ।’ प्याकेज ५ को ठेकेदार ज्वाइन्ट भेन्चरका ठेकेदार कम्पनीहरू शर्मा/युनाइटेड बिल्डर्स/दिवा हुन् । ढिलो काम गरेका यो प्याकेजको ठेकेदारलाई १ करोड ५० लाख रुपैयाँ जरिवाना पनि गरिएको उनले बताए ।


लक्षित समयमा निर्धारित काम पूरा नगरेकाले ठेकेदार कम्पनीलाई जरिवाना गरिएको उनले बताए । ‘३ चरणको माइलस्टोनमध्ये पहिलो नै मिट नगरेकाले जरिवाना गरिएको हो,’ उनले भने, ‘पहिलो चरणमा २५, दोस्रोमा ७५ र तेस्रो चरणमा शतप्रतिशत काम पूरा गर्नैपर्छ, अन्य प्याकेजको हकमा पनि यही नियम रहेको छ ।’


प्याकेज ५ को ठेक्का ८२ करोड ४५ लाख ६९ हजार १ सय १ रुपैयाँ २९ पैसामा लागेको हो । २०७३ असार २९ को सम्झौता अनुसार २०७६ असोज २८ सम्म काम सम्पन्न गरिसक्नु पर्नेछ । कर्णले यो लगायत अन्य प्याकेजको काम पनि आउँदो असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने बताए ।


साउन यता २ महिना निर्माण कम्पनीले खोलानालाबाट बालुवा, क्रसर आदि नपाउँदा निर्माण प्रभावित भए पनि हाल खोला नाला खुलिसकेकाले अब निर्माणले गति लिनेमा आफू आशावादी रहेको उनले बताए ।


यस योजना अन्तर्गत निर्माणाधीन पथलैया–परवानीपुर–वीरगन्ज–सुक्खा बन्दरगाह सडक खण्डमा पर्ने लल्का र सिर्सिया खोलामा गरी ३ वटा पुल निर्माण भइरहेका छन् । ती पुल पनि ६ लेनकै निर्माण गरिँदै छन् । ३ वटै पुलको लागत १ अर्ब रुपैयाँ रहेको छ । लल्का पुल निर्माणको ठेक्का इलाइट/एसबीए कम्पनीले पाएका छन् भने सिर्सिया खोलाको दुवै पुलको निर्माणको ठेक्का लुम्बिनी/मृत सञ्जिवनीले पाएका छन् ।


पुलको निर्माण हालसम्म सन्तोषजनक रहेको कर्णले बताए । ३ वटै पुल ६ लेनको र ५० मिटर चौडा हुनेछन् । व्यापारिक मार्ग पनि ६ लेन र ५० मिटर चौडा निर्माण हुन लागेकाले पुललाई पनि त्यसै आकारको बनाउन लागिएको उनले बताए । राजमार्ग ६ लेनको र पुल २ लेनको हुँदा चालकलाई समस्या हुने, दुर्घटनाको जोखिम बढ्ने र पुलहरूमा जाम समेत लाग्न सक्ने भएकाले राजमार्ग र पुलको चौडाइ एक समान बनाउन लागिएको हो । पुल बनेपछि ६ लेनको सडकबाट गुज्रने सवारी साधनले पुल माथिबाट गएको अनुभव गर्नेछैनन् ।


३० किमि ६ सय ६० मिटर व्यापारिक मार्गलाई ७ वटा ब्लकमा विभाजित गरी भिन्दाभिन्दै ठेक्का लगाइएको छ । हाल २ लेनको रहेको त्रिभुवन राजपथ र परवानीपुर सुक्खा बन्दरगाह सडक खण्डलाई ६ लेनमा बिस्तार गर्न लागिएको हो । करिब ५ अर्ब ५० करोड रुपैयाँ लागतमा सडक खण्डलाई बिस्तार गर्न लागिएको हो । मुलुकको कुल आयातको आधाभन्दा बढी मालवस्तु आयात हुने वीरगन्ज नाकाको प्रमुख सडकलाई विस्तार नगरिँदा मालबाहक सवारी साधन गुडाउन समस्या हुनुका साथै दुर्घटनाको जोखिम पनि उत्तिक्कै रहँदै आएको छ । यहाँका उद्योगी व्यवसायीले पनि लामो समयदेखि यो सडक खण्डको बिस्तारको माग गर्दै आएका थिए ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?