२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

नाकामै फोहोरको डंगुर

कान्तिपुर संवाददाता

(पर्सा) — वीरगन्ज महानगरबाट दैनिक संकलन हुने फोहोर नेपाल भारत सीमाको दशगजा क्षेत्रमा फाल्न थालिएको छ । नाकाबाट आवागमन गर्ने नेपाल तथा भारत दुवै मुलुकका बासिन्दालाई थुपारिएको फोहोर र त्यसबाट निस्किएको दुर्गन्धले नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ । 

मुलुकमा पर्यटन दिवस मनाइँदै गर्दा तथा आगामी वर्ष भिजिट नेपाल मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दा मुलुकको प्रवेशद्वार वीरगन्ज नाका भने अस्तव्यस्त छ । हाल मितेरी पुल नजिक नेपालतर्फ दशगजामा महानगरबाट दैनिक संकलन हुने फोहोर फाल्ने गरिएको छ । वीरगन्ज महानगरपालिकाको कार्यालयले निजी क्षेत्रलाई सरसफाइको ठेक्का दिएपछि यो क्रम झनै बढेको हो ।


गत वर्ष दुवै देशका बासिन्दाको चर्को बिरोध पछि महानगरपालिकाको कार्यालयले त्यहाँ फोहोर फाल्न बन्द गरेको थियो । फोहोर फाल्ने स्थानमा नेपालतर्फ मानव बस्ती नभए पनि भारततर्फ भने सीमा पारीनै मानव बस्ती छ । यसरी एक देशको सहरबाट संकलित फोहोरबाट अर्को देशका बासिन्दालाई समस्या गराइनु अनुचित हो । रक्सौलका बासिन्दाले पटक पटक यसरी सीमामा फोहोर फाल्ने काम बन्द गर्न माग गर्दै प्रदर्शनसमेत गरेका छन् ।


वीरगन्ज महानगरमा हाल ल्याण्डफिल साइट निर्माणाधिन रहेको छ । महानगरमा फोहोर फाल्ने सार्वजनिक स्थानको अभाव नरहे पनि सीमामै फोहोर फाल्ने गर्दा त्यसले भारत तथा तेश्रो मुलुकबाट भित्रिने पर्यटकको नजरमा नेपाल प्रवेश गर्दानै नराम्रो छवि बन्ने छ । रक्सौल निवासी राजेश वर्मा दुई देशिय सीमामा यसरी फोहोर फाल्नाले आफूहरूलाई समस्या हुनुका साथै दैनिक नेपाल भारत आवागमन गर्ने दुबै देशका बासिन्दालाई समस्या भइरहेको बताउँछन् । ‘यो अत्यन्त गैरजिम्मेवारपूर्ण काम हो,’ उनले भने, ‘वीरगन्ज महानगरपालिकासँग फोहोर बिर्सजन गर्ने अन्य वैकल्पिक स्थान हुँदाहुँदै पनि सीमामै फोहार फाल्नु अनुचित हो ।’ महानगरबाट दैनिक ७० टन बढी फोहोर निस्कने अनुमान गरिएको छ ।


स्थलमार्गको रूपमा वीरगन्ज नाका मुलुककै प्रवेशद्वार मानिन्छ । तर यो नाकाबाट पर्यटकको आवागमन अत्यन्त कम हुने गरेको छ । यो नाकाको तुलनामा भैरहवा नाकाबाट पर्यटकको आवागमन झण्डै १० गुनाले बढी छ ।

अध्यागमन कार्यालय वीरगन्जको तथ्यांक अनुसार, गत आवमा वीरगन्ज नाका हुदै कूल १ हजार २ सय २२ पर्यटक आगमन गरेका छन् । तीमध्ये १ हजार १ सय ८९ तेश्रो मुलुकका तथा ३३ भारतीय थिए । अघिल्लो आवमा यो नाका हुँदै १ हजार २ सय ४८ पर्यटक यो नाकाबाट आगमन गरेका थिए । जस मध्ये १ हजार २ सय ४० तेश्रो मुलुकका र ८ भारतीय थिए । यसरी तुलनात्मक रुपमा यो नाकाबाट पर्यटक आगमन बढ्नु पर्नेमा झन घट्दो छ । यो नाकाबाट भित्रिने पर्यटकमा बढी जसो बेलायती, अमेरीकी, फ्रान्सेली पर्यटक हुने गरेका छन् ।


प्रकाशित : आश्विन २९, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?