कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै तहमा हेलिप्याड

कान्तिपुर संवाददाता

राजविराज — नेपाली सेनाले बाढी, डुबान तथा त्यसपछि हुने राहत कार्यलाई प्रभावकारी बनाउन सप्तरीका सबै स्थानीय तहमा हेलिप्याड बनाउनुपर्ने सुझाएको छ  । सेनाको राजविराजस्थित भीमदल गणले सबै स्थानीय तहलाई पत्राचार गरि बाढी, डुबान र उद्धार तथा राहतका कामलाई सहज बनाउन हेलिप्याड लागि जग्गा उपलब्ध गराउन आग्रह गरेको हो  ।

सप्तरी जिल्ला बाढी र डुबानबाट अति प्रभावित हुने जिल्ला हो । जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ स्थानीय तह छन् । जिल्लामा हरेक वर्ष बिभिन्न नदी तथा खोलामा आउने गरेको बाढीका कारण मानव बस्तीहरू डुबानमा पर्ने गरेको छ ।

सप्तकोसी, त्रियुगा, महुली, खाडो, बलान, खडगलगायतका नदीमा आउने गरेको बाढीका कारण जिल्लाको सप्तकोसी, हनुमाननगर कंकालिनी, राजविराज र खडग नगरपालिका तथा तिलाठी कोइलाडी, तिरहुत, रुपनी, बलानबिहुललगायतका गाउँपालिका अति प्रभावित हुने गरेको छ । बाढीका बेला बिभिन्न गाउँको सम्पर्क विच्छेद हुने गरेको छ । त्यतिबेला उद्धार तथा राहतका लागि हेलिकप्टर मात्र उपयुक्त विकल्पका रूपमा प्रयोग गर्न सकिने अवस्थाहरू सृजना हुने गरेको छ ।


सरकारको प्राथमिकतामा समेत रहेकाले खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउनका लागि प्रत्येक नगरपालिकामामा २ वटा र गाउँपालिकामा एक वटाका दरले हेलिप्याडका लागि जग्गा उपलब्ध गराउन सेनाले आग्रह गरेको हो ।

‘सर्वसाधारणलाई विपत्तिका बेला सुरक्षित उद्धार गर्न सबै स्थानीय तहमा हेलिप्याड आवश्यक छ,’ एक सैनिक अधिकारीले भने, ‘त्यसकै तयारीका लागि सबै स्थानीय तहलाई जग्गा उपलब्ध गराउन अनुरोध गरिएको हो ।’ हेलिप्याड निर्माण गर्न खुला इलाका भएको, दलदल वा भासिने जग्गा नभएको हुनुपर्छ ।

प्रकाशित : आश्विन १७, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?