कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहट पुग्यो गण्डकको पानी

शंकर आचार्य

(पर्सा) — गण्डक नहरको इतिहासमै सम्भवतः दोस्रोपटक रौतहटको बंकुल क्षेत्रसम्म पानी पुगेको छ  । नारायणी सिँचाइ व्यवस्थापन डिविजन कार्यालय बहुअरीका सूचना अधिकृत एवम् इन्जिनियर सुरेश साहका अनुसार हाल नहरको १३ नम्बर ब्लकको आधा भागसम्म पानी पुगेको छ  ।

यस कारण रौतहटको बंकुल क्षेत्रका किसान लाभान्वित भएका छन् । ‘झन्डै २ दशकपछि तथा नहरको इतिहासमा सम्भवतः दोस्रोपटक यति धेरै क्षेत्रमा नहरको पानी पुगेको हो,’ उनले भने, ‘यो हाम्रा लागि ठूलो उपलब्धि र प्रतिष्ठाको विषय पनि हो ।’ गत वर्ष पर्सा र बारामा नहरको सफाई गरिएपछि नहरमा पानीको निर्वाध प्रवाह सहज हुन थालेको उनले बताए ।

नहरका कुल १५ ब्लकमध्ये अब १४ र १५ ब्लकसम्म मात्र पानी पुग्न सकेको छैन । ती ब्लकमा लामो समयदेखि सफाई नभएको र नहरकै बीचमा झारपात र रूख समेत उम्रिएकाले त्यसको सफाइ नभएर ती ब्लकमा पानी पुग्न सहज नभएको उनले बताए ।

नहरको भौतिक अवस्था र भारतले दिने पानी समेतको आधारमा कार्यालयले बर्सेनि धान र गहुँ सिजनमा १० नम्बर ब्लकसम्म पानी प्रवाह गर्ने लक्ष्य हुन्छ । त्यसबाहेक ११ देखि १३ नम्बर ब्लकसम्म थोर बहुत पानी पुगे त्यो अतिरिक्त उपलब्धि मानिन्छ । हाल भारत नहरमा ७ सयदेखि ७ सय २५ क्युसेकसम्म पानी दिएको र यतिको पानी यो सिजनका लागि पर्याप्त रहेको उनले बताए ।

भारतमै नहरको संरचना कमजोर रहेकाले धेरै पानी छोड्दा नहर भत्कने सम्भावना रहेको बताउँदै नहरमा सन्तुलन मिलाएर पानी दिइरहेको छ । नेपाल र भारतबीचको गण्डक सम्झौताअनुसार नहरमा भारतले नेपालतर्फ ८ सय ५० क्युसेक पानी छाड्नु पर्ने हो । नवलपरासीको भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले पानी छोड्ने गर्छ । भारतसँगको सम्झौताअनुसार बर्सेनि धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि नहरमा पानी आइसक्नु पर्छ ।

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको वाग्मतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भनिन्छ ।

८१ किमि लामो यो नहरले पर्सा, बारा र रौतहटको ३१ हजार ४ सय हेक्टर जग्गालाई सिंचित गर्ने लक्ष्य थियो । तर बर्सेनि कुनै न कुनै प्राविधिक समस्या देखाउँदै भारतबाटै पर्याप्त पानी नछोडिने भएकाले पर्सा र बाराका पूर्वी भेगसम्म मात्र पानी पुग्छ । रौतहटमा पानी पुग्दैन । रौतहटसम्म पानी लग्न हाल बारामा जमुनी सिँचाइ आयोजना निर्माणाधीन छ । जसबाट गण्डक नहरमा पानी झारिनेछ ।

प्रकाशित : आश्विन ९, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?