कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलेश्वरमा फोहरको डंगुर

सुनिता बराल

महोत्तरी — जलेश्वर बजार फोहर र दुर्गन्धित बनेको छ । बजार क्षेत्रका सडक तथा नालामा फालिएका फोहर सडेर दुर्गन्धमय बन्दा पनि नगरपालिकाले सफाइमा चासो देखाएको छैन । 

जलेश्वरमा फोहरको डंगुर

जिल्लाका प्रमुख सरकारी कार्यालय जलेश्वरमै छन् । सरकारी कार्यालयकै आसपासमा फोहरको डंगुर हुँदा जिल्लाभरिबाट सेवा लिन जाने सेवाग्राही दुर्गन्ध र त्यसले पार्ने असरले प्रभावित भएका छन् ।


जिल्ला अस्पताल जलेश्वरमा स्वास्थ्य जाँच गराउन पुगेकी महोत्तरी गाउँपालिका ४ रानिरत्वाराकी जगतारन देवी राम जलेश्वर पुग्दा अर्को रोग थपिने चिन्तामा परिन् । ‘बाटोमा फोहरबाट आउने दुर्गन्धले सास फेर्न समेत गाह्रो रहेछ,’ उनले भनिन, ‘बिरामी मान्छे नाक–मुख थुनेर हिंड्नु परेको छ ।’


२०४३ सालमा स्थापना भएको नगरपालिकाले अहिलेसम्म जलेश्वरको फोहर व्यवस्थापन गर्न कुनै भूमिका नखेलेको स्थानीयको आरोप छ । जलेश्वर नगरपालिका २ घर भएका सुमन पौडेलले आफूले थाहा पाएदेखि जलेश्वर फोहर नै देखेको टिप्पणी गरे । ‘हामी साना हुँदा पनि यो फोहरको डंगुर यस्तै थियो,’ उनले फोहरको थुप्रो देखाउँदै भने, ‘स्कुल जाँदादेखि नाक थुनेर हिंड्थ्यौ । अहिले पनि उस्तै छ ।’ नगरपालिकालाई पटक–पटक फोहर हटाउन आग्रह गरे पनि सुनुवाई नभएको उनको गुनासो छ ।


महोत्तरीको भंगाहा नगरपालिकाबाट सरकारी सेवा लिन जलेश्वर पुगेका नेकपाका नेता मुकुन्द दाहालले जलेश्वर जिल्लाको पहिलो नगरपालिका र सदरमुकाम भए पनि विकासमा निकै पछि परेको बताए । स्रोतसाधन र जनशक्तिको अभाव नरहेको जिल्लाका पुरानो सहर जलेश्वर भए पनि जलेश्वरको अवस्था माथि उठ्न नसकेको उनको ठहर छ ।


जिल्ला अदालत, कारागार, प्रहरी कार्यालयलगायतका सरकारी कार्यालयका आसपासमै फोहरको डंगुर छ । कार्यालयकै अगाडि–पछाडि ढलको निकास नहुँदा र उत्पादित फोहरको उचित व्यवस्थापन हुन नसक्दा रोग पनि फैलँदै गएको जलेश्वर कारागारका डाक्टर गौरी साहले बताए । फोहरकै कारण कैदीमा बारम्बार झाडापखलाजस्ता माहामारी रोग फैलिरहेको उनले बताए ।


फोहरले दुर्गन्ध फैलँदा विद्यालय तथा कलेज जाने विद्यार्थी नाक थुनेर हिँड्न बाध्य छन् । कक्षा ९ मा पढ्दै गरेकी जलेश्वरकी आकृतिकुमारी दासले रुमालले नाक छोपेर मात्रै स्कुल आउने जाने गरेको बताइन् ।


जलेश्वर बजार क्षेत्रका सबै ढल बजारबासीको फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेका छन् । ढलमा खानेपानीका बोतल, प्लास्टिक लगायतका फोहरका डंगुरले ढल पूर्ण रूपमा बन्द भएका छन् । यता, जलेश्वर नगरपालिकाले भने दैनिक फोहर संकलन गरेर बजारलाई सफा बनाउने अभियान थालेको बताएको छ ।


सबै सडकहरू व्यवस्थित नभएकाले साइड सडकहरूमा ट्याक्टर जान नसकेको र ट्याक्टर जाने ठाउँमा नगरपालिकाका ५/६ जना कर्मचारीले दैनिक फोहर संकलन गरिरहेका नगरपालिकाका मेयर रामशंकर मिश्रले बताए । ढलको निकास बन्द भएकाले फोहर कुहिएर दुर्गन्ध फैलिएको उनी स्विकार्छन् ।

प्रकाशित : भाद्र ३१, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?