उखु खेतमा भट्टी

सुरक्षाकर्मीको आँखा छल्न बाँसका झ्याङ र उखु घारीमा मदिरा उत्पादन  
रवीन्द्र उप्रेती

(महोत्तरी) — मदिरा उत्पादन र ओसारपसारविरुद्ध प्रहरीले विशेष अभियान चलाएर नियन्त्रण गर्न सुरु गरेपछि तस्करले शैली र स्वरूप फेर्दै लगेका छन् । भारतको विहारमा मदिरा प्रतिबन्ध लागेपछि सीमावर्ती नेपाली भूभागबाट तस्करी हुन थालेको छ ।

सुरक्षा निकायले कडा गरेपछि कारोबारीले नयाँ जुक्ति लगाउन थालेका छन् ।

मदिरा उत्पादकले विहारका ग्राहकलाई लक्षित गरी सञ्चालन गरेका २ दर्जनभन्दा बढी भट्टी प्रहरीले नष्ट गरेको थियो । सुरक्षाकर्मीको आँखा छल्न सुनसान चौरका बाँसका झ्याङमुनि र उखुघारीका बीचमा समेत मदिरा भट्टी सञ्चालन गर्न थालेको प्रहरीले जनाएको छ । केही दिनअघि मात्र गौशाला प्रहरीले औरही नगरपालिकाको बाँस घारीमा सञ्चालन गरिएको भट्टी र त्यहाँ तयार ठूलो परिमाणको मदिरा र कच्चा पदार्थ नष्ट गरेको थियो । सीमा क्षेत्रका समसी, रामगोपालपुर, मटिहानी, जलेश्वरलागायतका ठाउँबाट पनि यस्ता भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

शंकास्पद अवस्थामा जलेश्वरबाट भिट्टामोडतर्फ जाँदै गरेको डीएल ३ सीडी २२८७ नम्बरको भ्यानलाई पिछा गर्दै गएको प्रहरीले २४ कार्टुन मदिरा नियन्त्रणमा लिएको थियो । त्यसअघि प्रहरीले गाग्रो, बाल्टिन र पानी राख्ने जर्किनमा भरेर मदिरा तस्करी हुने गरेको थियो । बाढीजस्ता प्राकृतिक विपद्लाई समेत तस्करले उपयोगमा ल्याएको पाइएको छ । गत वर्ष आएको बाढीमा बगाएर मदिराका कार्टुन दशगजा कटाएको थियो ।

मदिरा उत्पादन र ओसारपसारविरुद्ध प्रहरीले विशेष अभियान नै चलाएर नियन्त्रण गर्न सुरु गरेपछि तस्करीको शैली र स्वरूप फेरिएको छ । न्यूनतम २ सय ५० ग्रामको सिसाको बोतलदेखि ५ लिटरका जर्किनमा पाइने मदिरा अब सय एमएलको प्लास्टिक साना बोतलमा तस्करी हुन थालेका छन् ।

प्रहरीले धिरापुर, पर्सापतेली र जलेश्वर जिरोमाइलको बाटो हुँदै भारततर्फ जान लागेको अवस्थामा सोमबार यस्ता ५ सय बोतल मदिरा नियन्त्रणमा लिएपछि तस्करीको नयाँ स्वरूप खुलेको छ । प्रहरी निरीक्षक केदार बस्नेतका अनुसार बरामद भएकामा उमंग २ सय बोतल, विङो १ सय र गौरव ब्रान्डका २ सय बोतल सोफी मदिरा छन् ।

साना बोतल लुकाउन र सीमा पार गराउन सजिलो भएकाले तस्करकै परामर्शमा उत्पादकले ठूला बोतलको साटो प्लास्टिकको साना बोतल प्रयोगमा ल्याएको प्रहरीले जनाएको छ । साना बोतललाई भुँडीमा बेल्ट अथवा पटुकीले बाँधी सीमा कटाउने गरेको सुराकीको आधारमा प्रहरीले सीमा क्षेत्रमा घेराबन्दी गरी उक्त मदिरा बरामद गरेको जनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७६ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्

अस्तव्यस्त अञ्चल अस्पताल

कान्तिपुर संवाददाता

(जनकपुर) — जनकपुर अञ्चल अस्पताललाई प्रदेश सरकारले प्रादेशिक बनाउने प्रक्रिया अगाडि बढाएको छ । प्रदेशको सुविधासम्पन्न अस्पताल बनाउन बजेट खर्चिएको अस्पतालको प्रयोगशाला (ल्याब) मा लापरवाही बढेको छ । रगत परीक्षण नै नगरी बिरामीलाई रिपोर्ट दिएको भेटिएको छ । 

एउटै समयमा एउटै रगत र पिसाब स्याम्पलको दुई फरक रिपोर्टसमेत अञ्चल अस्पतालले दिएको खुलेको छ । जनकपुरका संजय साहले अस्पतालको ल्याबमा पिसाब परीक्षणको दुई फरक रिपोर्ट पाएको बताए ।

‘स्याम्पल दिएको केही बेरमा रिपोर्ट लिन जाँदा रिपार्ट नभेटिएपछि स्वास्थ्यकर्मीले आफ्नै मनले अर्को रिपोर्ट बनाएर दिए,’ साहले भने, ‘ल्याबभित्रै गएर आफूले खोज्दा फाइलमा जाँच भएको अर्कै रिपोर्ट भेटियो ।’ यसअघि अञ्चल अस्पतालमा उपचार गराउन आएकी जनकपुरकी खुस्वु मिस्रको रगत परीक्षणको रिपोर्ट फरक दिइएको थियो ।

अञ्चल अस्पतालको रिपोर्टमा अप्रेसनका लागि रगत कम भएको देखाइयो भने ल्याबको रिपोर्टमा रगतको अवस्था ठीक भएको रिपोर्ट आयो । यस्ता फरक रिपोर्ट ल्याबले दिएको भए पनि अस्पतालले सुधार नगरेको स्थानीय कृष्ण यादबले बताए ।

अञ्चल अस्पतालको ल्याबमा सिकारु विद्यार्थीले भरिएको हुन्छ । ल्याबमा आएका सेवाग्राहीभन्दा सिकारु विद्यार्थीको भिड हुन्छ । तर, यहाँ कार्यरत स्वास्थ्यकर्मी हुँदैन । प्रयोगशालको परिक्षण रिपोर्टमा विद्यार्थीले नै स्वास्थ्यकर्मीको नक्कली हस्ताक्षर गरिरहेका हुन्छन् । संवेदनशिल प्रयोगशालामा व्यापक लपारवाही हुँदा अञ्चल अस्पतालको विश्वसनियतामाथि प्रश्न उठन थालेको छ । यहाँ कार्यरत कतिपय ल्याबका कर्मचारी अस्पतालको डयुटी छोडेर आफ्नो निजी ल्याबमा बस्ने गरेका छन् ।

डाक्टरको अटेरी
जनकपुर अञ्चल अस्पतालको ओपिडी अर्थो विभाग शुक्रबार १२ बजे सुनसान थियो । बिरामी ओपीडी कक्षअगाडि डाक्टरको प्रतीक्षारत थिए । अर्थो ओपीडी कक्ष हेर्ने जिम्मा डा. राजीवकुमार झा र डा. मनोज गुप्ताको थियो । दुवै जना डाक्टर अञ्चल अस्पतालमा हाजिरी गरेर थोरै बिरामी जाँचेर निजी क्लिनिकतिर हानिएका थिए ।

ओपीडीका पुर्जा लिएर आएका बिरामी डाक्टर खोज्न थालेपछि कार्यालय सहयोगी रामकिशोर पण्डितले बिरामीलाई अस्पतालअगाडिकै वेलफेयर फार्मेसीमा डा. झासँग भेट्न पठाए । खुट्टा मर्किएका जनकपुर उपमहानगरपालिका–४ का ५० वर्षीय साधुलाल मण्डलको उपचारका लागि अञ्चल अस्पतलकै पुर्जा लिएर छोरी आरती मण्डल डा. झालाई उनको निजी क्लिनिक वेलफेयरमा पुगे । क्लिनिकबाटै डा. झाको परामर्शअनुसार अञ्चल अस्पतालमा उनको उपचार सुरु भयो ।

जनकपुरकी ४५ वर्षीया बचिया देवी पनि अञ्चल अस्पतालको पुर्जा लिएर डा.झालाई उनको क्लिनिकमै भेटेर उपचार गराए । अर्थोका अर्का डा. गुप्ता पनि निजी क्लिनिकमा गएको कार्यालय सहयोगी पण्डितले बताए । डा.गुप्ता अस्पतालमा हाजरी गरी पेठिया बजार जाने बाटोमा रहेको क्लिनिकमा व्यस्त थिए । अर्थो विभाग उदाहरण हुन् । अञ्चल अस्पतालको नयाँ भवनको पहिलो तल्लामा शुक्रबार साढे १२ बजेपछि ओपीडीको सबै विभागमा कार्यालय सहयोगी मात्रै भेटिए ।

डाक्टरहरू सबै निजी क्लिनिकमा बिरामी जाँचिरहेका थिए । अञ्चल अस्पतालमा शुक्रबार १० विभागको ओपीडीमा २७ डाक्टर खटिएका थिए । अधिकांश डाक्टर दिउसो निजी क्लिनिकमा बिरामी जाँच्दै थिए । ‘अस्पतालको कमीकमजोरीका कारण बिरामी अस्पतालमा डाक्टर भेट्नै पाउँदैनन्,’ ओपीडीका एक कार्यालय सहयोगीले भने, ‘अस्पतालमा सस्तो उपचार गराउन आएका गरिब बिरामी डाक्टरकै कारण निजी क्लिनिकमा महँगो शुल्क बुझाउन बाध्य छन् ।’

ओपीडीका डाक्टर बिहान ९ बजेदेखि २ बजेसम्म अस्पताल बस्नुपर्ने बाध्यकारी व्यवस्था रहेको ओपीडी इन्चार्ज डा.बाबुसाहेब यादवले बताए । ‘ओपीडी समयमा डाक्टर अस्पतालबाहिर जान पाउँदैनन्,’ इन्चार्ज यादवले भने, ‘भोक लागेको खण्डमा कार्यकक्षमै डाक्टरले चिया वा खाजा खान सक्ने व्यवस्था छ । १० बजे अस्पताल आएका डाक्टर १२ नबज्दै खाना खाने ब्रेक लिएर बाहिर जाने गरेको छन् ।’

अञ्चल अस्पतालमा खान खाने ब्रेकको व्यवस्था भने नगरिएको यादवले बताए । तर, निजी क्लिनकमा भेटिएका अर्थो विभागका डा. झाले आफू लन्च ब्रेकको समय सदुपयोग गरेको बताए । अस्पतालमा १ घण्टाको लन्च ब्रेकमा क्लिनिकमा काम गरेको उनले सुनाए । अस्पतालमा दिउसो १२ बजेदेखि २ बजेसम्म बिरामीको चाप हुन्छ । तर यो समय अञ्चल अस्पताल ओपीडीका डाक्टर निजी क्लिनिकमा दिने गरेको छ । अस्पतालमा बिरामीको चाप भएका बेला डाक्टर जबर्जस्ती ब्रेक लिने गरेको मेडिकल सुपरिडेन्टेड (मेसु) डा.नागेन्द्रप्रसाद यादवले बताए । ‘कडाइ गर्दा डाक्टर काम छोड्ने चेतावनी दिन्छन्,’ मेसु यादवले भने, ‘अस्पतालमा जनशक्ति कम छन् । यही डाक्टरबाट काम गराउनु छ । विकल्प नहुँदा कडाइ गर्न सकिएको छैन ।’

अस्पतालको भौतिक संरचना व्यवस्थित हुँदै गए पनि जनशक्ति अभावमा सेवा प्रभावकारी बनाउन कठिन भएको यादवले बताए । ‘समायोजनमा परेका कर्मचारी आउन नमान्दा समस्या भएको छ,’ डा.यादवले भने, ‘सम्बन्धित निकायमा जनशक्तिका लागि पटकपटक पत्रचार गरेका छौ । पहल हुनसकेको छैन ।’

आकस्मिकमा दिनदिनै भीड बढ्दा जनशक्ति अभावमा सिकिस्त बिरामी रेफर गर्नुको विकल्प नरहेको स्वास्थ्यकर्मी बताउँछन् । १७ बेड रहेको आकस्मिक कक्षमा दैनिक १ सयभन्दा बढी बिरामी आउँछन् । साँझको समयमा आकस्मिक कक्षमा बिरामी राख्ने ठाउँ नै हुँदैन ।

प्रकाशित : भाद्र २५, २०७६ १२:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्