कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोलबजारमा ७ जनामा डेंगु

फोकिन मेसिनमा मालाथिन झोल र डिजेल मिश्रण गरी फालिएको धुवाँले घाइते भएको लामखुट्टे ५ देखि १० दिनमा मर्छ
भरत जर्घामगर

सिरहा — गोलबजार नगरक्षेत्रमा ७ जनामा डेंगु देखिएपछि नगरपालिकाले ‘लामखुट्टे धपाउने अभियान’ सुरु गरेको छ । लामखुट्टे निर्मुल गर्न नगरक्षेत्रको सार्वजनिक स्थलमा नगरपालिकाले ‘फोकिन मेसिन’ प्रविधि प्रयोग गरी लामखुट्टे धपाउने अभियान सुरु गरेको हो ।

गोलबजारमा ७ जनामा डेंगु

गोलबजार नगरपालिकाका वडा नम्बर ४ र ३ मा ७ जनामा डेंगु देखिएपछि थप प्रभावित हुन नदिन नगरक्षेत्रको ढल, नाला र पानी जमेको स्थानमा लामखुट्टेले अत्यधिक लार्भा उत्पादन गर्नसक्ने भएकाले ती स्थानमा लामखुट्टे धपाउने अभियान थालिएको हो ।


गोलबजार नगरपालिका स्वास्थ्य शाखा संयोजक पवनकुमार पञ्जियारले गोलबजार नगरक्षेत्रभित्र ७ जनामा डेंगु देखिएको जनाए । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहको घरका ४ जनामा डेंगु देखा परेको छ । प्रमुख साहका पत्नी, बुहारी रागिनी, नाति र बुहारीका भाइसहित ४ जना डेंगुबाट प्रभावित छन् ।


त्यसैगरी वडा नम्बर ४ का रवीन्द्रकुमार महतो, ममताकुमारी यादव र वडा नम्बर ३ का लालबाबु कर्णमा देखा डेंगु देखा परेको छ । डेंगु प्रभावितहरूको धरान, विराटनगर र काठमाडौंमा उपचार भइरहेको स्वास्थ्य शाखा संयोजक पञ्जियारले जानकारी दिए ।


नगरक्षेत्रमा डेंगु प्रभावित देखिएपछि नगरपालिकाले त्यसबाट बच्न सन्देशमूलक सूचना सम्प्रेषणसहित सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘सचेतना कार्यक्रमसँगै लामखुट्टे नियन्त्रण अभियान सुरु गरिएको छ,’ उनले भने, ‘फोकिन मेसिनमा मालाथिन झोल र डिजल मि श्रण गरी धुवा फालिएको छ ।’


प्राविधिकका अनुसार त्यसरी एक ठाउँमा फालेको धुवाले एक किमिसम्म वरपर रहेका लामुखट्टे लठिएर मर्छन् । फोकिन मेसिनले फालेको धुवाको प्रयोगबाट प्यारालाइसिस भएको लामखुटे ५ देखि १० दिनअवधिमा मर्छ । नगरपालिकाले लामखुटे धपाउने अभियानसँगै सरसफाई अभियानलाई पनि निरन्तरता दिने जनाएको छ । फोकिन मेसिनको धुवा नगरको प्रत्येक घर, सार्वजनिक स्थल र ढलमा पिकअप भ्यानबाट प्रयोग गरिएको छ ।


चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु लाग्छ । वर्षातको मौसममा पानी जम्ने टिनका डब्बाहरू, रंगका खाली डब्बाहरू, टायर ट्युब, खाली ड्रमहरूमा यो लामखुट्टेले फूल पार्छ । यसका अलावा घर, कौसीको गमला, फुलदानी, एयरकन्डिसन, कुलर, पानीको टयांकीमा फूल पार्ने भएकाले फोकिन मेसिनको उपाय अपनाइएको स्वास्थ्य संयोजक पञ्जियारले बताए । यो प्रविधिको प्रयोग पूर्वक्षेत्रमा पहिलो पटक मोरङ जिल्लामा गरिएको थियो ।


तराईमा एलोफ्रिज र क्युलेक्स लामखुट्टेको प्रभाव बढी देखिएको छ । एलोफ्रिज लामखुट्टेको टोकाइबाट मलेरिया र क्युलेक्सको टोकाइबाट इन्सेफलाइटिस हुन्छ । फोकिन मेसिनबाट सबै प्रकारका लामखुट्टे र त्यसले उत्पादन गरेको लार्भासमेत नष्ट हुन्छ ।

प्रकाशित : भाद्र २४, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?