कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्यो चोरी–लुटपाट

भदौ महिनाको सुरुवातसँगै गाउँ तथा सहरमा गरगहना, नगद, मोबाइल तथा मोटरसाइकल चोरी तथा लुटपाट हुने क्रम बढेको छ

सर्लाही — चाडबाड नजिकिएसँगै जिल्लामा चोरी तथा लुटपाटका घटना बढेका छन् । प्रहरीका अनुसार दुई सातायता आधा दर्जनभन्दा बढी चोरी तथा लुटपाटका घटना भएका छन् । 

चोरी आरोपमा प्रहरीले ५ जना, लुटपाट आरोपमा ५ जना पक्राउ गरेको छ भने ५ जना फरार छन् । कतिपय घटनाका अभियुक्तको संख्या पनि किटान हुन सकेको छैन ।


भदौ महिनाको सुरुवातसँगै गाउँ तथा सहरमा गरगहना, नगद, मोबाइल तथा मोटरसाइकल चोरी तथा लुटपाट हुने क्रम बढेको छ । भदौ महिनाको २ गते सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको कम्पाउन्डबाट ठूलो मात्रामा तार चोरी भयो । चोरी आरोपमा मलंगवा नगरपालिका–११ का सन्तोष महतो पक्राउ परेको छ । चोरीमा संलग्न २ जना अझै फरार छन् ।


यस्तै, भदौ १२ गते मलंगवा नगरपालिका–१० का बैजु गुप्ताको घरमा डेरा बस्दै आएका सुकदेव महतोको कोठाबाट नगद, सुन, मोबाइलसमेतका जिन्सी सामान चोरी भयो । चोरी आरोपमा मलंगवा नगरपालिका–४ का शत्रुधन महतो पक्राउ परे । उनको साथबाट नगद, मोबाइल तथा सुनको गहना प्रहरीले फेला पारेको थियो । महतो पक्राउ परेपछि उनकै बयानका आधारमा मलंगवा नगरपालिका–१० का ३० वर्षीय विजय साहसमेत पक्राउ परे । चोरी आरोपमा तीनजना अझै फरार रहेको प्रहरीले जनाएको छ ।


वाग्मती नगरपालिका–१२ घर भएका एपीवन टेलिभिजनको सर्लाही संवाददाता अच्युत सापकोटाको घरमा भदौ १४ गते शनिबार राति चोरी भयो । उपचारको क्रममा काठमाडौं गएको मौका छोपी घरको ताला फुटाएर ३५ हजार नगद चोरी भयो । तर चोरीको कुनै प्रमाण फेला पर्न सकेको छैन । चोरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यस्तै जिल्लाको उत्तरी क्षेत्रस्थित हरिवन नगरपालिका–११ का धिरजकुमार दास भदौ १५ गते चोरीको मोटरसाइकलसहित सदरमुकाम मलंगवामा पक्राउ परे । लागूऔषधसहित ज१प ८१०५ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका दासलाई अनुसन्धान गर्दा मोटरसाइकल चोरीको रहेको फेला परेको थियो ।


यस्तै भदौ १८ गते ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा मोटरसाइकल चेकजाँचमा गर्दा महोत्तरीको गौशाला नगरपालिका–१२ का श्याम ठाकुर पक्राउ परे । ठाकुरले चलाउँदै आएका ज१२प ८५९५ नम्बरको मोटरसाइकल चोरीको रहेको खुलेको थियो ।


यस्तै भदौ १८ गते बुधबार राति वाग्मतीको कर्मैयामा विवाहमा फर्कंदै गरेका स्थानीय सीमबहादुर जिम्बा र विनोद जर्घामगरलाई हातपात गरी उनीहरू सवार प्रदेश २. ०३०००१ प ३८५८ र ना४२प ९४३६ नम्बरको मोटरसाइकल लुटेराहरूले लुटपाट गरे । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले चोरी भएको दुवै मोटरसाइकलसहित लुटपाटमा संलग्न पाँच जनाको गिरोह र उनीहरूले प्रयोग गरेको थप तीन वटा मोटरसाइकल बरामद गर्‍यो ।

पक्राउ पर्नेमा वाग्मती नगरपालिका–१२ का ३० वर्षीय लालबहादुर घिसिङ, २२ वर्षीय उमेश मली, २८ वर्षीय वीरबहादुर नेगी, २० वर्षीय मन्दिप सिङताङ र रौतहटको चन्द्रपुर नगरपालिका–१, का २७ वर्षीय मन्दिप श्रेष्ठ रहेका छन् । लुटेराको गिरोहले प्रयोग गरेको ना४९प ७९०, बा८२प ३१८० र ना२८प ४३८५ नम्बरको मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।


पक्राउ परेकालाई चोरी तथा डाँका मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । चाडबाड नजिकिएसँगै चोरी तथा लुटपाटको घटना बढ्न थालेकाले प्रहरीको सक्रियता बढाएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए । उनले भदौ महिनामा भएको चोरी तथा लुटपाटको घटनामा अधिकांशमा सफलता हात परेको दाबी गरे ।


उनले फरार रहेका अभियुक्तको खोजतलास बढेको जानकारी दिए । प्रहरी उपरीक्षक भट्टराईले साइकलमा साइरनयुक्त रात्रि गस्ती सुरु गर्ने योजनासमेत बनाएको बताए ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?