कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच महिनादेखि टेन्टमा बास

पर्सा — ७५ वर्षीय जामुन रामको दैनिकी ५ महिनायता कष्टकर छ । छोराबुहारी सहितको ७ जनाको ठूलो परिवारको टाउको लुकाउने एक मात्र टेन्टमा उनी राति निदाउन सक्दैनन् । छोराबुहारी सुत्ने कोठामा सँगै सुत्न मर्यादाले दिँदैन ।

वर्षायाममा रातविरात पानी पर्दा उनको बिजोग हुन्छ । गलेको ज्यान उनलाई हिंडडुल गर्न अप्ठेरो छ । ‘टेन्टभित्र छिर्न खोज्दा छोरा–बुहारी नाति–नातिना निदाएका हुन्छन्,’ जामुनले भने, ‘नछिरौं पानीले भिजाएर निथ्रुक्क पार्छ ।’


यस्तै पीडा छ, अर्का स्थानीय जगत रामको पनि । उनको परिवारमा पनि ७ सदस्य छन् । एउटै टेन्ट मुनि ७ जना लालाबालासहित ५ महिनादेखि टेन्टको बास छ । वर्षायाममा छानो चुहिने र भुइँबाट पनि पानी रसाउने दोहोरो पीडा भोग्नु परेको छ । ‘बडो कष्टपूर्ण भएको छ मेरो परिवारको जीवन,’ उनले भने, ‘खै कहिलेसम्म यो पीडा भोगेर बाच्नु पर्ने हो थाहा छैन ।’


बारा सुवर्णगाउँपालिका ४ हर्दियास्थित दलित टोलबासीको पीडा हो यो । चैतको तेस्रो साता आएको विनाशकारी टोर्नाडो पीडित यो टोलका सबै पीडितले भने यो पीडा भोग्नु परेको छैन । संघीय सरकारले जनता आवास कार्यक्रममार्फत दलित टोलमा डेढ दर्जन टोलबासीको घर बनाइ दिएको छ । तर १४ पीडितको घर अझै पनि बनेको छैन । उनीहरूको घर बन्ने कुनै सम्भावना तत्काल देखिँदैन । जगत रामसहित शिवनाथ राम, महन्थ राम, दरोगा राम, अर्जुन राम, नरेश राम, सुवास राम, धनपत राम, सुनिता देवी, बिन्दा राम, गेन्दा राम, मोहन राम, दशरथ राम र लक्ष्मण रामको घर बनेको छैन ।


छिमेकमै अन्यको घर बनेको देख्दा घर नबनेका पीडितहरूको मन कुडिएको छ । उनीहरू कहिले आफ्नो भाग्यलाई गाली गर्छन् । कहिले जनप्रतिनिधि त कहिले सरकारलाई । सबै एउटै विनाशको शिकार हुन् । तर कसैले सरकारले बनाई दिएको घर पाए । कसैले पाएनन् । सरकार र जनप्रतिनिधिले काखापाखा गरेको उनीहरूको आरोप छ ।


गाउँपालिकामै टोर्नाडो पीडित ८० परिवारलाई सरकारले घर बनाइदिएको वडाध्यक्ष बताउँछन् । तीमध्ये केही दलित टोलका पनि रहेको उनले बताए । अन्यको हकमा घर नबन्नुमा आफूहरू दोषी नभई सरकारनै दोषी रहेको उनको आरोप छ । ‘हामीले वास्तविक पीडितकै सूची सरकारी निकायलाई दिएका हौं,’ उनले भने, ‘तर जिल्ला प्रशासन कार्यालयबाट आएको अनुगमन टोलीले धेरै पीडितको नाम काट्यो, गाउँमा अझै ४५ पीडितको घर बन्न बाँकी छ ।’


नेपाली सेनाको जनता आवास कार्यदल पर्साका प्रमुख कर्नेल श्रृजनबहादुर मल्लले तत्काललाई घर बनाउने काम सम्पन्न भएको बताए । ‘हालको टार्गेट पूरा भएको छ, हामीलाई जति घर बनाउने जिम्मेवारी दिइएको थियो, त्यति घर बनाइसक्यौं,’ उनले भने, ‘भविष्यमा फेरि त्यस्तो जिम्मेवारी आए त्यसका लागि तयार छौं ।’

प्रकाशित : भाद्र २१, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?