मार्बल कमसल भएको शंका

कान्तिपुर संवाददाता

जनकपुर — जनकपुरको जानकी मन्दिरमा सौन्दर्यीकरण आयोजनाअन्तर्गत ओछ्याइरहेको मार्बल कम गुणस्तरको रहेको दाबी गर्दै युवाको समूहले काममा अवरोध पुर्‍याएका छन् । आयोजनाअन्तर्गत मन्दिरको बाहिरी परिसरमा ढल निर्माणसँगै सेतो मार्बल ओछ्याउने काम भइरहेको छ ।

ठेकेदारले प्रयोग गरिरहेको मार्बल कमसल भएको तथा ढल निकासका लागि ह्युमपाइप जडान गर्नुपर्ने स्थानमा चार इन्चको पाइप मात्र जडान गरिएको आरोप युवाको छ ।

‘मन्दिरको दक्षिण भागमा रहेको शौचालय तथा भोजनालयबाट निस्किने फोहोरमैला सफाइ नै नगरी पाइप जडान र पीसीसी गरिएको छ,’ युवा सुशील कर्णले भने, ‘प्रयोग भइरहेको मार्बल हातले छुँदा टुक्राटुक्रा भाँचिन्छ । गुणस्तरीय काम हुनुपर्छ ।’

निर्माणाधीन कामको निरीक्षण गर्न मंगलबार प्रदेश २ का भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका सिँचाइ विभागका सिनियर डिभिजन इन्जिनियर तथा प्रोजेक्ट मैनेजर भगवान झा, ठेकेदार एमएस प्रेरा–आर जे–राजन जेभी ललितपुरका कन्टेक्ट म्यानेजर खुसीलाल ठाकुर पुगेका थिए । युवाले मन्दिरको सौन्दर्यकरणमा हेलचक्र्याइँ नगर्न उनीहरूलाई दबाब दिएको युवा सरोज मिश्रले बताए ।

प्रोजेक्ट मेनेजर झाले मन्दिर परिसरमा प्रयोग भइरहेको मार्बल उच्च क्वालिटीको भएको दाबी गरे । उनले भने, ‘भारत राजस्थानको मेटामोर्फेक रक भएको मार्बल हो । यो प्राकृतिक भएकाले नरम छ तर जडान भइसकेपछि ५० वर्ष टिक्छ ।’ सिनियर इन्जिनियर झाले निर्माणको क्रममा अनियमितता देखिए वा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइए ठेकेदारालाई कारबाही हुने बताए ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मध्यबर्खामै खानेपानी संकट

दिप्ती सिलवाल

पर्वत — वर्षायाम सकिँदै छ । देशका विभिन्न ठाउँमा बाढीपहिरोको त्रास अझै हटेको छैन । जिल्लाका केही गाउँमा भने बर्खे भेलको कुनै पर्वाह छैन । यही बेला पिउने पानीको संकट छ । एक गाग्री पानीका लागि सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । 

पानीको यस्तो समस्या झेल्नेमा बढीजसो दलित बस्ती छन् । त्यसबाहेक विकट र लेकाली बस्तीमा समस्या छ । कतिपय सुगम र बजारक्षेत्र नजिकैका बस्तीमा समेत अभाव छ । वर्षाका कारण ग्रामीण क्षेत्रका खोंच, बस्तीमा पानीका मूल फुटनुपर्ने हो ।

तर हिजोआज सडक बिस्तार गर्ने क्रममा डाँडाडाँडामा डोजरले जमिन भत्काएपछि निरन्तर मूल फुटने ठाउँ सुकेका छन्, जसकारण ग्रामीण बस्तीमा बर्खाका बेला समेत पिउने पानीको अभाव झेलिरहेका छन् । खानेपानीका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले योजना बनाउँछन् । तर पनि एस्टिमेटअनुसारको बजेट नहुँदा निर्माणका क्रममा रहेका आयोजनासमेत वर्षौंसम्म नबन्दा गाउँवासीले पानीको आशमा पुस्तौं बिताउनुपरेको छ ।

वर्षामा पानीको अभाव झेल्नेमध्येको मुख्य बस्ती हो, कुश्मा नगरपालिका १३ खौलाटोल हो । टोलका करिब ६० परिवारले खानेपानीको चरम अभाव झेलिरहेका छन् । परिवारका हरेक सदस्यलाई बिहानदेखि बेलुकासम्म पानीको चिन्ता छ । ‘बिहान सबेरै उठेर पानी खेप्न नसके पढाइ छुटछ,’ करिब आधा घण्टा टाढाको मूलबाट पानी ओसार्दै गरेकी संगीता परियारले भनिन्, ‘हाम्रो बस्तीभरि यस्तै समस्या छ । यो अहिलेको होइन । हजुरबुबाको पालादेखिको ।’

अघिल्ला वर्षभन्दा यस पटक वर्षा कम भएका कारण बस्ती नजिकैको मूलमा पानी नआएको उनले बताइन् । खौलाटोलमा सबै दलित बस्ती छ । गाउँमा अलि टाठाबाठा नहुँदा पानीको समस्या नटरेको स्थानीय बताउँछन् । बोल्ने मान्छे नभएरै वर्षामा पनि पानीको सुविधा नभएको स्थानीय जंगबहादुर सुनारको भनाइ छ ।

टोलबासीले तत्कालीन जिल्ला पञ्चायत, जिविस हुँदै हालको नगरपालिकामा पानी माग्न थालेको पुस्तौं बितिसकेको उनले बताए । दशक अघिसम्म यहाँको दैनिकी निकै कष्टकर थियो । ०६५ तिर ट्र्याक खुलेको सिल्मी–कार्कीनेटा सडकले बस्तीलाई बजारसँग जोडेको छ । पहिला पैदल हिँडेर ३ घण्टामा पुगिने सदरमुकाम अहिले गाडीमा एक घण्टामै पुगिन्छ ।

कुश्मा नगरपालिकाभित्रै गाउँ समेटिएको छ । तर नगरपालिका बनेपछि पानीको समस्या समाधान हुने आस गरेका बस्तीवासी निराश छन् । ‘पहिला सबै कुराको सास्ती थियो,’ दुर्गाबहादुर परियारले भने, ‘नगरपालिका भएपछि सबै सुविधा हुन्छ भन्नेमा थियौं । अहिले पानीबिना काकाकुल हुँदा पनि नगरपालिकाले वास्ता गर्दैन ।’

नगरपालिका बनेपछि विभिन्न शीर्षकमा कर मात्रै लिने गरेको उनले गुनासो गरे । गाउँ पुग्ने सडक कालोपत्रेको चरणमा छ । तर गाउँवासीलाई सडकभन्दा पहिला पानी चाहिएको छ । ‘यो सडकले घाँटी भिजाउँदैन,’ सविना परियारले भनिन्, ‘गाडीमा पानी ल्याएर खान पाइँदैन ।’ नजिकमा पानीका स्रोत नभएर पनि समस्या भएको उनको भनाइ छ ।

पञ्चायतकालदेखि पानीका लागि संघर्ष गर्दै आएका खौलाटोलवासीको समस्या अहिलेसम्म पनि बीसको उन्नाइस हुन नसकेको जंगबहादुरले स्मरण गरे । खौलाटोलवासीले नगर प्रमुख रामचन्द्र जोशीलाई अरू सबै छोडेर खानेपानी ल्याइदिन बिन्ती गरेका थिए । उनीहरूको समस्यालाई नगरपालिकाले तत्कालदेखि नै सम्बोधनमा लागेको जोशीले बताए । ‘त्यहाँको पानी समस्या छिटो समाधान गर्नेमा नगरपालिका चिन्तित छ,’ उनले भने, ‘डीपीआर बनाएर प्रदेश र केन्द्रमा पठाएका छौं । नगरपालिकाको बजेटले मात्रै भ्याउँदैन ।’

खानेपानीको उचित एवं दीर्घकालीन स्रोत नहुँदा शंकरपोखरीको पुर्कोट र डाँगागाउँका करिब डेढ सय परिवारको दैनिकी कष्टकर छ । पुर्कोटमा सबै दलित र डाँडागाउँमा दलित र गैरदलितको संयुक्त बस्ती छ । गाउँको खानेपानी समस्याको वैकल्पिक उपायको खोजी नहुँदा पानीको समस्या हुने गरेको हो ।

‘अरू कहाँ मजदुरी नगरे परिवार पाल्न सकिन्न,’ भीमबहादुर नेपालीले भने, ‘पानीको अभावले मजदुरी पनि राम्रोसँग गर्न पाइएको छैन ।’ गाउँका सबै पानी लिन करिब आधा घण्टाको बाटो कुवापानी पुग्छन् । त्यहाँ पुगेर पनि पालो कुर्दा एक गाग्री पानी लिएर घर पुग्न दुई घण्टासम्म समय लाग्छ ।

दुई दशकअघि निर्मित डहरे खानेपानी आयोजनाको पानी व्यवस्थित वितरण नहुँदा गाउँभर पानीको चरम अभाव भएको स्थानीय शिक्षक धनबहादुर थापाले बताए । ‘आयोजना बनेको २० वर्ष भइसक्यो,’ उनले भने, ‘उतिबेलै पानीको व्यवस्थित वितरण थिएन । अहिले बस्ती दोब्बर भइसक्यो । पानीको स्रोत बढ्ला भन्दा घटिरहेको छ ।’

स्रोत व्यवस्थापन गरेर प्रत्येक धारामा मिटर जडान भए धेरै समस्या नआउने सुझाए पनि त्यो हुन नसकेको उनको भनाइ छ । शंकरपोखरीका करिब ८ सय परिवारलाई घरघरै धारा पुर्‍याउने गरी गत वर्षदेखि सुरु भएको बृहत् खानेपानी आयोजना बजेट अभावकै कारण लक्षित रूपमा अघि बढ्न नसकेको आयोजनाको निर्माण समितिका अध्यक्ष शिव तिवारीले बताए ।

पानीको समस्या टार्न केही परिवारले सिमेन्टका घैंटा निर्माण गरेर वर्षातका बेलाको पानी संकलन गर्न थालेका छन् । तर यो वर्ष आकाशे पानीसमेत पर्याप्त नपरेका कारण घैंटा पनि भरिन नपाएको स्थानीय रमेश क्षत्रीले बताए । ‘अलिअलि परेको पानी दिनदिनै सकिन्छ,’ उनले भने । पानी अभावकै कारण बस्तीभरका घैंटामा ताल्चा लगाउने गरेको उनको भनाइ छ । खानेपानी समस्याबाट पीडित हुनेमा ८० प्रतिशतभन्दा धेरै दलित छन् । ‘पैसा हुनेहरूले त विभिन्न उपाय अपनाएकै छन्,’ स्थानीय पूर्णबहादुर दर्जीले भने, ‘दुःखजिलो गरेर दिन काटनेलाई सबैतिर समस्या छ ।’

पानी लिन गोलाप्रथा
बिहादी गाउँपालिका ६ शालिग्रामको एउटा बस्तीमा खानेपानीका लागि गोलाप्रथाको व्यवस्था गरिएको छ । महिनाभर पानी थाप्न हरेक महिना गोलाप्रथाबाट पानीको पालो लगाउने गरिएको हो । एक पटक गोला हालेर चिठ्ठा थुतेपछि एक महिनासम्म सोही चिठ्ठाका आधारमा पानी भर्न पाइन्छ । चिठ्ठा थुत्ने कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार हुन्छ ।

‘पहिला सजिलै पालो पाइन्थेन । झगडा पर्थ्यो,’ स्थानीय गुमादेवी भट्टराईले भनिन्, ‘गोलापछि आफनो पालामा ढुक्कले पानी थाप्न पाइएको छ । कसैको झगडा परेको छैन ।’ हनुमानडाँडाको करिब ४० परिवारको बस्तीमा यो समस्या हिउँदबर्खा एकै खालको छ ।

बिहादी गाउँपालिका स्थापना भएपछि पानीको समस्या समाधान हुने अपेक्षा गरेका हनुमानडाँडावासीमा पुरानो समस्या सुल्झिएको छैन । ४० वर्षयता पानीको बढी समस्या भोग्नुपरेको स्थानीय माधव भट्टराईले बताए । अगुवाले पञ्चायतकै पालामा जिल्लासम्म निकै संघर्ष गरेर सालतिर गाउँसम्म पाइप बोकेर खानेपानीको धारो ल्याएका थिए ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्