लहानमा फोहोर व्यवस्थापन केन्द्र विवाद : स्थानीयले गरे विरोध प्रदर्शन र तालाबन्दी

भरत जर्घामगर

सिरहा — ५ महिनादेखि फोहोर फाल्न नदिने अडान लिएका लहान नगरपालिका–४ का स्थानीयले नगरपालिकाले प्रहरीको आडमा महिलामाथि दुर्व्यवहार गरेको र फोहोर फालेको विरोधमा शनिबार विरोध प्रदर्शन गरेका छन् । 

५ महिनादेखि फोहोर फाल्न नदिने अडान लिएका लहान नगरपालिका ४ का स्थानीयले शनिबार लहानमा निकालेको विरोध प्रदर्शनका सहभागी । तस्बिर : भरत जर्घामगर/कान्तिपुर 

वडा नम्बर ४ का बासिन्दाको अवरोधका कारण एक महिनादेखि सडकमा थुप्रिएको फोहोर फाल्न प्रहरीसहित नगरप्रमुख मुनि साह सुडिलगायत अन्य वडाका जनप्रतिनिधि शुक्रबार फोहरमैला व्यवस्थापन केन्द्र पुगेका थिए।

स्थानीयले अदालतमा विचाराधीन रहेको मुद्दाको फैसला नहुन्जेल फोहोर नफाल्न भन्दै नाराबाजी गरी फोहोर बोकेका ट्रयाक्टर रोकेपछि झडप भएको थियो। झडपकै क्रममा नगरपालिकाले केन्द्रमा शुक्रबार फोहोर विसर्जन गरेको थियो।

फोहोर विसर्जनका क्रममा झडप हुँदा वडा सदस्य उर्मिलादेवी दास, स्थानीय राधादेवी दास, रामकुमारी पासवान, राजाराम पण्डित लगायत घाइते भएको स्थानीयको दाबी छ।

नगरपालिकाले अदालतको मानहानी गरेको र प्रहरी लगाएर दमन गरेको विरोध गर्दै ४ नम्बर वडावासीले शनिबार नगरप्रमुख साहको पुत्ला बनाएर नगरका विभिन्न भाग परिक्रमा गरि विरोध प्रदर्शन गरे।

फोहरमैला व्यवस्थापन केन्द्रबाट शनिबार अपरान्ह निस्किएको जुलुसले नगर परिक्रमा गरी २ नम्बर रोडमा पुगेर कोणसभा गरेका थिए। कोणसभा भइरहँदा प्रहरीले पुत्ला खोसेर लगेका थिए। विरोध प्रदर्शन अघि स्थानीय फोहरमैला व्यवस्थापन केन्द्रको गेटमा शनिबार बिहान तालाबन्दी गरेका छन्।

५ महिनादेखि अवरोध
नियमित फाल्दै आएको लहान–४ स्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा फालेको फोहोरले दुर्गन्ध बढाएको भन्दै स्थानीयले ६ महिनादेखि अवरोध गर्दै आएका थिए।

२०७१ सालमा लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारको ३५ विघा जग्गामध्ये १२ विघामा सर्वदलीय संयन्त्र र स्थानीयवासीको भेलाबाट फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो।

फोहरमैलालाई वातावरणमैत्री तवरले दीर्घकालीन व्यवस्थापन गर्न नगरपालिकाले त्यतिखेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जगेडा कोषबाट ५२ लाख ५५ हजार लागतमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको थियो। तारबार घेरासहित केन्द्रमा आँप लगायत फलफूलको बिरुवा रोपेर बगैचा समेत बनाइएको थियो।

त्यतिखेर फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको विरोध गर्दै स्थानीय रामप्रसाद महतो र रामप्रकाश पासमानले पुनरावेदन अदालत राजविराजमा रिट दायर गरेपछि अदालतले २०७१ जेठ २२ मा अन्तरिम आदेश जारी गरेको थियो। तर रिट निवेदक र नगरपालिकाबीच सहमति भएपछि २०७१ जेठ २९ गते महतो र पासमानले रिट फिर्ता लिएका थिए।

लहान ४ स्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी गर्दै स्थानीय। तस्बिर : भरत जर्घामगर/कान्तिपुर
केन्द्र निर्माण भएपछि ५ वर्षदेखि नगरपालिकाले बजार क्षेत्रको फोहर नियमित फोहरमैला व्यवस्थापन केन्द्रमा फाल्दै आएको थियो। फोहोरमैला व्यवस्थापन केन्द्रमा बजार क्षेत्रका वडा १, ३, ५,६,७, ८ र १० गरी ७ वटा वडाबाट संकलित फोहोर नियमित फाल्दै आएको थियो।

नगर क्षेत्रबाट दैनिक ३० मेट्रिक टन फोहोर संकलन हुन्छ। त्यसका लागि नगरपालिकाले बजार क्षेत्रमा ४० र अन्य वडामा २४ गरी ६४ कर्मचारीलाई खटाएको छ। फोहोर संकलन, विसर्जन र सरसफाईमा नगरपालिकाले वार्षिक १ करोड खर्चन्छ।

गत वैशाखदेखि ४ नम्बर वडावासीले दुर्गन्ध बढाएको भन्दै फोहरमैला व्यवस्थापन केन्द्रमा फोहोर फाल्न अवरोध गर्दै आएका छन्। त्यतिखेर वडावासीले फोहरमैला व्यवस्थापन केन्द्रको मूलगेटमा तालाबन्दी गरेपछि कर्मचारीले गेटमै फोहोर फालिदिएका थिए। स्थानीयले त्यतिखेर कुचोसहित नाराबाजी गर्दै नगरकार्यपालिका कार्यालय घेराउ गरेका थिए।

फोहरमैला व्यवस्थापन केन्द्रको गेटमा फालिएको फोहरले मानव बस्तीमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले कुचोसहित नगरपालिका कार्यालय घेराउ गरेका थिए। स्थानीयले अवरोध गरेपछि नगरपालिकाले समस्या समाधानका लागि वैशाखको पहिलो साता बजार क्षेत्रका वडाध्यक्षहरु सम्मिलित ७ सदस्यीय समिति गठन गरेको थियो।

फोहोर व्यवस्थापनका लागि हरेक प्रयास भए पनि कसैले विकल्प दिन सकेको छैन। फोहोर विसर्जनका लागि पटक–पटक भएको छलफलबाट विकल्प खोज्न समय दिँदै स्थानीयले त्यत्तिखेर एक पटकका लागि केन्द्रमा फोहोर फाल्न दिएका थिए।

प्रकाशित : भाद्र १४, २०७६ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्

गाउँका सडक कालोपत्रे

भरत जर्घामगर

सिरहा — अर्नामा गाउँपालिकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेसँगै गाउँका सडकमा कालोपत्र थालिएको छ । साबिकका महनौर, ब्रह्मपुरी, अर्नामा, गौरीपुर लक्ष्मीपुर र किसनपुर गाविसलाई गाभेर अर्नामा गाउँपालिका बनेको हो । 

तराई–मधेसको सुगम जिल्ला भए पनि गाउँटोल पुग्न सहज सडक सञ्जालले नजोडिँदा सिरहाको दक्षिणवर्ती अर्नामा गाउँपालिका ‘सुगमको विकट’ मानिन्थ्यो । एक गाउँदेखि अर्को गाउँ पुग्न हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे बाटो छिचोल्नु यहाँका स्थानीयको नियति बनेको थियो ।

गाउँपालिकाले वित्तीय समानीकरण अनुदानबाट ५० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत वडा ५ स्थित १३ सय मिटर सडक कालोपत्रे गरेको हो । गाउँपालिकाका इन्जिनियर दयाशंकर महतोका अनुसार बंगठिया बजारको रामजानकी चौकदेखि हुलाकी मार्ग जोडिएको सडक ३ सेन्टिमिटर मोटाइको तीन मिटर चौडाइको कालोपत्रे निर्माण गरिएको छ ।

कालोपत्रे सडक निर्माण भएपछि कृष्णपुर पछवारी टोल, रामजानकी चौक, बंगठियाका स्थानीयलाई आवतजावतमा सहज भएको छ । ‘कालोपत्रे नहुँदा वर्षामा सडक हिलाम्मे हुँदा आवतजावतमा बर्सेनि समस्या भोग्नुपर्थ्यो,’ सडक डिलमै घर भएका किसनपुरका ६५ वर्षीय दलित रामकैलाश महराले भने, ‘आँगनमै कालोपत्रे भएको छ, हामीले पक्की सडकमा हिँड्न पायौं ।’

कालोपत्रे सडक डिलको ऐलानी जग्गामा रामकैलाशसहित १६ घर दलित महरा, दुई घर यादव र एक घर बरही समुदायको बसोबास छ । अधिकांश परालले छाएका फुसको घरमा बस्दै आएका उनीहरू सडक पिच भएपछि हर्सित छन् ।

ज्याला मजदुरी गरी गुजारा गर्दै आएका उनीहरूले हिउँदमा सडक धुलोको हैरानीबाट मुक्त भएको सुनाए । ‘घर परालले छाएको फुसको भएर के भयो र, हामीले सडक पिच पाएका छौं,’ ६० वर्षीया कलावती महराले भनिन्, ‘यो वृद्ध उमेरमा पिच सडकमा हिँड्न पाएका छौं ।’ यसअघि उनले कालोपत्रे सडक कहिल्यै नदेखेको सुनाइन् ।

अर्नामा गाउँपालिका हुँदै हुलाकी मार्ग जोड्ने र हुलाकी मार्ग हुँदै सदरमुकाम सिरहा बजार पुग्न यो सडक छोटो दूरीमा पर्छ । सडक निर्माणबाट सदरमुकाम आवतजावत र हुलाकी मार्ग पुग्न सर्वसाधारणलाई सहज भएको वडाध्यक्ष भोला मण्डलले जानकारी दिए ।

बर्सेनि ग्राभेल र माटो भरेर सडक निर्माणमा बजेट फजुलमा खर्च गर्नुभन्दा गाउँपालिकामा स्थायी रूपमा सडक निर्माण गर्न गाउँपालिकाले पहिलो पटक कालोपत्रे सडक निर्माण सुरुवात गरेको गाउँपालिका अध्यक्ष ठकु महतोले बताए । ‘कालोपत्रे सडकलाई गाउँपालिकाभरि विस्तार गर्छौं, यसका लागि क्रमिक रूपमा गाउँसभाबाट बजेट विनियोजन गरेका छौं,’ उनले भने । कालोपत्रे नगरिने सडकमा समेत आरसीसी ढलान गरेर गाउँपालिकाभरिका सडकलाई स्तरोन्नति गर्ने कार्यको सुरुवात गरिएको उनले जानकारी दिए ।

यसैगरी गाउँपालिकाले वडा ३ बंगठियास्थित रामउदगार महतोको घरदेखि सलहेस मार्गसम्म ५० लाख रुपैयाँ लागतमा आरसीसी ढलान सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७६ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्