कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्साबिनै सरकारी भवन

ओमप्रकाश ठाकुर

सर्लाही — सामान्य नागरिकले घर बनाउँदा मापदण्ड पूरा गरेर स्थानीय तहबाट नक्सा पास गराएर घर बनाउनु पर्छ । यसरी नक्सा पास गर्दा भूकम्पको पनि ख्याल गरिएको हुन्छ । तर, सर्लाहीको एक स्थानीय तहले आफ्नै कार्यालयका लागि बनाउँदै गरेको भवनको नक्सा नै छैन । स्थानीय सरकार बस्ने भवन बिना नक्साकै बनिरहेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रस्थित चक्रघट्टा गाउँपालिकाको भवन बिना नक्सा नै बनिरहेको पाइएको हो । नक्सा नै नभएको कार्यालय भवनमा भूकम्परहित घरको पनि ख्याल गरिएको छैन । यसअघि कार्यक्रम गर्ने मञ्च बनाइएको जगमै दुई तले कार्यालय भवन बनिरहेको छ । बन्दै गरेको भवनको मापदण्ड पनि पूरा गरिएको छैन अगाडिको पिलर र पछाडिको पिलरमा फरक छ ।


मञ्चको जगमा रहेको भवनको अगाडिको भागको पिलर पातला छन् भने पछाडिका पिलर केही मोटा छन् । गाउँपालिकाको कार्यालय भवन पूर्णरूपमा हचुवाको भरमा बनिरहेको छ । अहिलेको समयमा गाउँमा पनि व्यक्तिगत घर बनाउँदा नक्सा पास गरेर घर बनाउनु पर्छ । तर स्वयं गाउँपालिकाले नक्सा बिना नै कार्यालय भवन बनाइरहेको स्थानीयको भनाइ छ ।


६५ लाखको लागतमा उपभोक्ता समिति गठन गरेर बनाउँदै गरेको भवन स्थानीय ढंग्रा खोलाको डिलमै छ । केहीदिन अघि खोलामा आएको बाढीले बन्दै गरेको भवन छेउको चापाकल बगाएर छरपस्ट बनाएको स्पष्ट देखिन्छ । तर त्योसँगै रहेको निर्माणाधीन भवन कमजोर जगमा ठडिँदैछ । यसअघि चारै तिरबाट आउने बाटोको चोक रहेकै ठाउँमा कार्यालय भवन बनिरहेको स्थानीयको दाबी छ । ‘हाम्रो गाउँपालिकाको भवन एक त बाटैमा बनिरहेको छ, दोस्रो भवनको नक्सा नै पास छैन, तेस्रो भूकम्प प्रतिरोधि पनि छैन,’ चक्रकट्टा गाउँपालिका स्थानीय रामजी साहले भने ।


खोलाको डिलमा भएको र भूकम्प रहित समेत नभएकाले भोलिका दिनमा घातक हुनसक्ने भन्दै स्थानीय तहलाई पटक–पटक जानकारी गराए पनि निर्माण नरोकिएपछि स्थानीय उच्च अदालत पुगेका छन् । उच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि भवन निर्माण न रोकिएको स्थानीय जवाहर प्रसाद चौधरीले बताए ।


२०७४ पुस ३० गते बसेको गाउँसभाको बैठकले बजारमा रहेको सेडमा कार्यालय भवन बनाउने निर्णय गरेको थियो । तर गाउँपालिका प्रमुखले गाउँसभाको पनि निर्णय कार्यान्वयन नगरेको उपप्रमुख बसोदा देवीले बताइन् । उनले गाउँपालिका अध्यक्ष विक्रम यादव एकलौटी रूपमा मनोपोली गरेको आरोप लगाइन् । ‘गाउँपालिकाले गरेका निर्णयहरू पनि कार्यान्वयनमा आएका छैनन्, कानुनी ढंगले अगाडि बढौं भन्दा मलाई एक्ल्याइएको छ,’ उनले भनिन् ‘अध्यक्षले एकलौटी रूपमा नियम प्रकृया मिचेर गाउँपालिका चलाइरहेका छन् ।’


गाउँपालिकामा भवन निर्माण संहिता पास नभएकाले नक्सा नबनाइकन भवन निर्माण भईरहेको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकामा प्राविधिक नभएको र ऐन कानुन पनि निर्माण नभएकाले बिना नक्सा नै कार्यालय भवन बनाउनु परेको गाउँपालिकाका निमित्त प्रमुख मुकेश पाठकले जानकारी दिए । ‘गाउँपालिकामा ऐन कानुन बनेको छैन, भवन निर्माण संहिता पनि बनेको छैन, जसका करण बिना नक्सा नै कार्यालय भवन बनिरहेको छ,’ उनले भने, ‘नक्सा नभएर इस्टिमेटको आधारमा भवन निर्माण भइरहेको छ ।’


भवन निर्माण संहिता पास नभएकाले नक्सा बनाउँदा कानुनसम्मत नहुने भएकाले नक्सा पासबिनै कार्यालय भवन बनाइरहेको गाउँपालिका प्रमुख विक्रम यादवले बताए । उनले बजारमा रहेको सेड कमजोर रहेकाले त्यसमा दुइतले भवन बनाउन नसकेर मञ्चको ठाउँमा बनाइएको जानकारी दिए । प्रमुख यादवले कार्यालय भवनका लागि पनि भवन बनिरहेकै जग्गामा गाउँपालिकाको निर्णय भएको दाबी गरे ।

प्रकाशित : भाद्र १२, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?