कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरित अभियान : वन ४० प्रतिशत पुर्‍याइने

प्राकृतिक सन्तुलन मिलाउन बोट–बिरुवा हुर्काउनैपर्ने प्रदेश सरकारको महफ्वाकांक्षी योजना

जनकपुर — ४ प्रतिशत वन क्षेत्रलाई बढाएर ४० प्रतिशत पुर्‍याउने महत्त्वाकांक्षी योजनासहित प्रदेश २ को सरकारले हरित अभियानको थालनी गरेको छ । अभियानअन्तर्गत एकैदिन भदौ ७ गते प्रदेशको ८ वटै जिल्लाको १ सय ५५ हेक्टर जग्गामा संरक्षणसहितको वृक्षरोपण गरिएको छ । 

हरित अभियान : वन ४० प्रतिशत पुर्‍याइने

प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले संरक्षणसहितको वृक्षरोपणका लागि ८ वटै जिल्लाको डिभिजन वन कार्यालयलाई परिचालन गरेको छ ।


केन्द्र र प्रदेशको अधिकार क्षेत्रलाई लिएर विवादित बनेको सर्लाहीस्थित सागरनाथ वन परियोजनाबाट वृक्षरोपण गरेर प्रदेश २ को सरकारले हरित अभियानको सुरुवात गरेको हो । मन्त्रालयले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मुख्यमन्त्री महोम्मद लालबाबु राउतसहित मन्त्रीहरू सागरनाथ वन परियोजना पुगेका थिए ।


उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलका अनुसार सागरनाथ वन परियोजनाको २० हेक्टर जग्गामा वृक्षरोपण गरिएको छ । प्रदेश २ सरकारले वृक्षरोपण गरिएको क्षेत्रमा तारसहितको घेराबेरा लगाएको छ भने हेरालु पनि खटाएको राज्यमन्त्री मण्डलले बताए । ‘छिटो हुर्किने जातका बोट–बिरुवा रोपिएको छ,’ उनले भने, ‘प्रदेश २ मा जनघनत्व बढी छ । तर वन क्षेत्र निकै कम छ । हरित अभियानले वनको क्षेत्रफल बढाउने छ ।’


छिटो हुर्किने टिक, साल, मशाला, मलेसियन सखुवा र मगही जातका बोट–बिरुवा रोपिएको छ । प्रदेश २ को सरकारले यो वर्ष ३ लाख ५० हजार बिरुवा रोप्ने लक्ष्य लिएको छ । प्राकृतिक विपद्सँग जुझिरहेको प्रदेश २ मा बाढी, हुरी, सुख्खा, शितलहरको प्रभाव र क्षति उच्च छ । ‘प्राकृतिक सन्तुलन मिलाउन बोट–बिरुवा हुर्काउनैपर्छ,’ राज्यमन्त्री मण्डलले भने ।


प्रदेश २ को डिभिजन वन कार्यालयले हरित अभियानअन्तर्गत बोट–बिरुवा रोप्ने क्रम जारी नै राखेको छ । धनुषाको कमला खोला किनारको सबैला र सारथानको २८ हेक्टर, महोत्तरीको गौशाला र बर्दिवासको २० हेक्टर, सर्लाहीको हरिपुर र इश्रपुरमा १९ हेक्टर, सिरहाको तिलगंगा सामुदायिक वन र गागन खोला डिलको २० हेक्टर, सप्तरीको सुरुङा र अग्नि कृष्णसाइरको २० हेक्टर, बाराको कोल्बीमा २० हेक्टर, पर्साको पसौनी, जिराभवानी र पर्टेवामा २५ हेक्टर र रौतहटको चन्द्रपुरमा २० हेक्टरमा बिरुवा रोपिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश २ मा २० हेक्टरमा ३२ हजार बोट–बिरुवा रोपिन्छ । भदौं २० गतेसम्म हरित अभियान अन्तर्गत प्रदेशभरि बोट–बिरुवा रोपिनेछ । वन क्षेत्रमा रहेका अतिक्रमण हटाएर त्यहाँ वृक्षरोपण गर्ने प्रदेश सरकारको नीति छ । राज्यमन्त्री मण्डलले प्रदेश २ लाई प्राकृतिक विपद्बाट बचाउन वृक्षरोपण मात्रै उपाय रहेको बताए ।


उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले प्रदेश २ मा वनको क्षेत्रफल निकै कम भएको बताएका छन् । वन जम्मा ४ प्रतिशत । तर, जनघनत्व प्रदेश ३ पछि मुलुकमै प्रदेश २ को उच्च छ । करिब ५४ लाख जनसंख्या यो प्रदेशमा छ । कार्वन उत्सर्जनले विश्वव्यापी वातावरणमा प्रतिकूलता छ । त्यसलाई हटाउन वृक्षरोपण मात्रै एउटा उपाय हो । अक्सिजनका लागि मानव जीवन वृक्षमै आश्रित छ ।


स्वच्छ हावा र सभ्य जीवनका लागि वन आवश्यक छ । प्रदेशमा रहेको ४ प्रतिशत वन क्षेत्रलाई बढाएर ४० प्रतिशत पुर्‍याउने हाम्रो लक्ष्य हो । यही अनुसार प्रदेश सरकारले हरित अभियान थालेको छ ।

प्रकाशित : भाद्र १०, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?