कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुरी प्रभावित क्षेत्रमा फलामे पुल

सिमरा — हावाहुरी (चक्रवात) पीडितका लागि घर पुनर्निर्माण गर्न खटिएको नेपाली सेनाको जनता आवास पुनर्निर्माण कार्यदल बारा/पर्साले बाराको फेटा गाउँपालिका १ भुलहीमा फलामे पुल निर्माण गरेको छ ।

मुसलधारे वर्षासँगै बंगरी नदीमा आएको बाढीले उक्त स्थानमा सञ्चालनमा रहेको बाँसको अस्थायी (लचका) पुल बगाइदिएपछि स्थानीय समस्यामा परेका थिए । बाँसको पुल बगेपछि सबभन्दा बढी स्कुले बालबालिका, सेवाग्राही, घास दाउरा लिन नदी पार गर्ने स्थानीय प्रभावित भएका थिए । लचका पुल बगेपछि अकवनिया, त्रिवेणी, चिलझप्टी, रजवटिया, भरवलियाका बासिन्दा भलुहीको विद्यालय, वडा कार्यालय, चोक स्थित बजार पुग्न झन्डै ३ किलोमिटर घुमाउरो बाटो प्रयोग गर्न बाध्य थिए ।


स्थायी फलामे पुल बनेपछि स्थानीयलाई सहज भएको फेटा १ का वडाध्यक्ष जयप्रकाश दासले बताए । ‘भलुही विद्यालयमा पढन आउने पारीका विद्यार्थीलाई सबभन्दा बढी फाइदा पुगेको छ,’ उनले भने, ‘सेनाले हामी गाउँलेका लागि फलामे सेतु जोडेर सराहनीय काम गरेको छ ।’ स्थनीय सरकारले कहिले पुल बनाउथ्यो कहिले ? सेनाले २ महिनामै पुल बनाएर सञ्चालनमा ल्याइदिएको उनले बताए ।


नेपाली सेनाले स्थानीय स्रोत साधन उपयोग गर्दै झन्डै ५ लाखको लागतमा उक्त पुल निर्माण गरेको नेपाली सेनाको चन्दननाथ गण ब्रह्मपुरीका प्रमुख गणपति कर्णेल पारस विक्रम शाहले जानकारी दिए । ‘पुल निर्माण गर्न कहीं कतैबाट बजेट आएको छैन,’ उनले भने, ‘घर निर्माणका लागि ल्याएको फलाम, ढुङ्गा र तारजालीको सदुपयोग गर्दै पुल निर्माण गरेका हौं ।’


त्यहाँ पुल निर्माण गर्न गाउँपालिकाबाट २ लाख रुपैयाँको बजेट विनियोजित गरिएको थियो । गाउँपालिकाको बजेट खर्च गरिनुभन्दा अगाडि नै सेनाले स्थायी फलामे पुल निर्माण गरिदिएको फेटा गाउँपालिकाका प्रमुख अमिरीलाल प्रसादले बताए ।

प्रकाशित : भाद्र ९, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?