कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीमतीकै योजनामा हत्या

बर्दिवास — महोत्तरीको बर्दिवास ३ स्थित स्मिृति पार्क नजिकै गत असार ३१ गते मृत फेला परेका स्थानीय (सरोज भनिने) श्रवण थापाको हत्या उनकै श्रीमतीको योजनामा भएको प्रहरीको अनुसन्धानपछि खुलेको छ । 

प्रहरीको अनुसन्धानमा श्रीमती पूजा थापाले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई ४ लाख रुपैयाँ दिएर श्रीमानो हत्या गराएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । सरोजको हत्यामा पूजाकी आमा, बहिनीहरूको पनि मिलेमतो रहेको प्रहरीले जनाएको छ ।


असार ३१ गते राति साढे दस बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत स्मिृति पार्कको छेउमा स्कुटरसँगै लडेको अवस्थामा मृत फेला परेका सरोजलाई पछाडिबाट टाउकोमा ढुङ्गाले हानी हत्या गरिएको उनको पोर्ष्टमार्टमको रिपोर्टले देखाएको छ ।


हत्याको आरोपमा महोत्तरी प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाही धनकौल ३ का प्रमोद सिंह, सर्लाही धनकौल २ का मुकेश साह, रौतहटको गढीमाई ६ का जिला भनिने श्रीनारायण महरा र रौतहटकै टिआई सहनीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।


बहिनीले आफ्नो चिनजानको मान्छे पूजाको सम्पर्कमा ल्याइदिएको र श्रीमानो हत्या गराउन उनले झण्डै ४ लाखको सुपारी दिएको एसपी अधिकारीले बताए ।


सरोजको हत्यापछि पीडित परिवारले एक दर्जनविरुद्ध प्रहरीमा उजुरी दिएको भए पनि आरोपी पूजा र उनका आमा र बहिनीहरू फरार छन् ।


लामो समयदेखि श्रीमान् श्रीमतीको मनमुटाव रहँदै आएको देखिएको र भर्खरै ३३ लाखमा बेचिएको जग्गाको ४ लाख मात्रै श्रीमतीले पाएको र अरु पैसा श्रीमान् सँग भएको देखिएपछि पैसाका लागि हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।


घटना भएदेखि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौं, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बर्दिवास लगायतको टोलीले लगातार गरेको अनुसन्धानपछि प्रहरीले दोषी पत्ता लगाएको हो ।


फरार पूजा र उनका आमा, बहिनीहरूलाई प्रहरीले खोजिरहेको र घटनामा संलग्न सम्पूर्ण दोषीलाई कर्तव्य ज्यान मुद्दामा १० देखि १५ वर्षसम्मको जेल सजाय हुने प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ८, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?