कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेतमा धाजा, डिप बोरिङ प्रयोगविहीन

अवधेशकुमार झा

राजविराज — लामो समयदेखि वर्षा नहुँदा सप्तरी जिल्लाको तिरहुत गाउँपालिकाका किसानहरूको खेतमा धाँजा फाटेर धानखेती नष्ट हुन थालेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा सिंचाइका लागि खरिद गरेको डिप बोरिङका सम्पूर्ण सामग्री प्रहरी चौकीमा त्यसै थन्किएर रहेका छन् ।

खेतमा धाजा, डिप बोरिङ प्रयोगविहीन

नेपालकै पहिलो नहर चन्द्रनहर गाउँपालिकाको मध्य भागबाट गएको भए तापनि सिंचाइका लागि प्रबन्ध हुन नसक्दा तिरहुत गाउँपालिकाका किसानले आकासे पानी र बोरिङकै भरमा सिंचाई गर्दे आएका छन् । पछिल्लो एक महिनादेखि राम्रोसँग पानी नपर्दा किसानको खेतमा धाजा फाटनुका साथै धानखेतमा विभिन्न किसिमका रोगको प्रकोप देखा पर्न थालेको तिरहुत गाउँपालिका ४ का वडाध्यक्ष मनोजकुमार यादवले बताए ।

जसोतसो गरेर धान रोपाई गरे पनि अहिले पानीको अभावमा खेतमा धान सुक्न थालेको स्थानीय कृषक राजेन्द्र यादवले बताए । गाउँपालिकाले सिंचाइ सुविधाका लागि १ करोड रुपैयाँभन्दा बढीको डिप बोरिङ खरिद गरेको जानकारी भए पनि वितरण नगर्दा किसानको खेतमा सिंचाइ हुन नसकेको र बोरिङका पाइप पनि नष्ट हुन थालेको वडाध्यक्ष यादवले बताए ।

तिरहुत गाउँपालिकाले ०७४/७५ मा ८० लाख र ०७५/७६ मा ५० लाख गरी कुल १ करोड ३० लाख रुपैयाँ बराबरको डिप बोरिङ खरिद गरेको कार्यालयको तथ्यांकले देखाएको छ । तर, दुई आर्थिक वर्षमा गरी त्यति धेरै रकम लगाएर खरिद गरिएको डिप बोरिङ किसानको खेतमा सिंचाइका लागि प्रयोग गर्नुपर्नेमा प्रहरी चौकीमा थन्काएर राखिएको छ ।

गाउँपालिका अध्यक्ष हेमन्तकुमार बहरखेरले ०७४/७५ देखि नै खरिद गरी राखिएको डिप बोरिङ अहिलेसम्म वितरण गर्न नसकिएको स्विकारे । खरिद गरिएका डिप बोरिङमध्ये केही प्रहरी चौकी लोहजारा, केही प्रहरी चौकी त्रिकोल र केही वडाध्यक्ष भोगानन्द महात्मानको घरमा राखिएको अध्यक्ष बहरखेरले बताए ।

बडाध्यक्ष महात्मानले एक हप्ता अघि आफूलाई २० वटा डिप बोरिङ दिइएको र मागको अनुपातमा त्यो निक्कै कम भएकाले थप डिप बोरिङ आएपछि वितरण गर्ने बताए । उनले ०७४/७५ को डिप बोरिङ अहिले एक साता अघि मात्र आफूलाई दिइएको बताउँदै ०७५/७६ को आएपछि मात्र वितरण गर्न सकिने बताए ।

गाउँपालिका अध्यक्ष बहरखेरले सुरक्षितका लागि प्रहरी चौकीमा डिप बोरिङ राखिएको बताए । उनले बिभिन्न वडाका वडाध्यक्षहरूले नलगेका कारण प्रहरी चौकीमा दुई वर्षदेखि थन्क्याएर राख्नुपरेको बताए । वडाध्यक्ष मनोजकुमार यादवले गाउँपालिकाले सबै वडालाई समान रूपमा वितरण नगरेकाले नलिएको बताए । ‘गाउँपालिका अध्यक्षको आफ्नै हैकमवादी पारा छ, यादवले भने, ‘हामी कार्यपालिका सदस्य हौं, हामीलाई थाहै नदिई गाउँपालिका अध्यक्ष काम गरेका छन् ।’

सप्तरीको तिरहुत गाउँपालिकामा डिप बोरिङ मात्र होइन्, सवारी साधन खरिद र अन्य विकास निर्माणका कार्यमा व्यापक अनिमितता भएको स्थानीयहरूले आरोप लगाउँदै आएका छन् । केही वडाध्यक्ष पनि गाउँपालिकामा व्यापक आर्थिक अनियमितता भएको हाकाहाकी बताउने गरेका छन् ।

गाउँपालिकामा पछिल्लो दुई आर्थिक वर्षमा भएका विकास निर्माणका कार्यको जानकारी लिन जाँदा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल कार्यालयमा नभेटिने गरेका कारण सञ्चारकर्मी सूचना पाउनबाट समेत वञ्चित हुनु परेको छ ।

प्रकाशित : भाद्र ८, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?