कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूषित ५ डेरी उद्योगमा शिलबन्दी

सिरहा — दूध तथा दुग्धजन्य खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सिरहाका ५ डेरी उद्योगमा शिलबन्दी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका शाखा अधिकृत कमल आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेशकुमार सिंह, घरेलु कार्यालयका नायव सुब्बा काजीमान लिम्बुसहित उपभोक्ता मञ्च, सञ्चारकर्मी सम्मिलित नेतृत्वको टोलीले जिल्लाका सिरहा नगरपालिका क्षेत्र, मिर्चैया, नरहा, चोहर्वा क्षेत्रका दूध डेरी उद्योगमा अनुगमन सुरु गरेको हो ।


बुधबार र बिहीबार दुई दिनसम्म गरेको अनुगमनका क्रममा दुध तथा दुग्धजन्य खाद्य पदार्थको स्वच्छतलाई बेवास्ता गरी मापदण्ड विपरीत संचालित जिल्लाका ५ वटा दुध डेरी उद्योगलाई टोलीले शिलबन्दी गरेको हो ।


टोलीले जिल्लाका १३ वटा दुध डेरी उद्योगमा अनुगमन गरिसकेको अनुगमन टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय सिरहाका शाखा अधिकृत कमल आचार्यले जानकारी दिए । उनका अनुसार तीमध्ये ५ डेरी उद्योगमा शिलबन्दी गरिएको छ । शिलबन्दी गरिएकामा अधिकांश दूध डेरी उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुमति लिएका छैनन् ।


टोलीले सिरहा नगरपालिका १५ स्थित लक्ष्मी डेरी उद्योग, सोही नगरपालिका ३ का बजरंग, १ नम्बर वडाका च्वाइस दही तथा आइसक्रिम उद्योगमा शिलबन्दी गरेको छ । त्यसैगरी नरहा गाउँपालिका ५ स्थित सुधा डेरी उद्योग र मिर्चैया नगरपालिका ६ स्थित जयरामनाथ डेरी उद्योगमा शिलबन्दी गरिएको छ । अन्य उद्योगलाई सचेत गराइएको छ ।


शिलबन्दी गरिएका अधिकांश उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञा पत्र नलिएको, उत्पादन स्थल अत्यन्त फोहोर तथा दुर्गन्धित भएको, उत्पादित खाद्य पदार्थमा लेवल नभएको र मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने अवैद्य स्किमड मिल्क पाउडर प्रयोग गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।


‘उद्योगहरूले दुध तथा दुग्ध पदार्थमा खाद्य स्वच्छतासम्बन्धी निर्देशिका २०७५ बमोजिम न्यूनतम मापदण्ड पनि पूरा गरेको पाइएन,’ डिभिजन प्रमुख सिंहले भने, ‘यस्ता उद्योगबाट उत्पादित खाद्य पदार्थले मानव स्वास्थ्यमा हानि पुर्‍याउने भएकाले बेलैमा उद्योगमा शिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाएका हौं ।’


निर्देशिकामा दुध संकलन र बिक्री–वितरण गर्दा कम्तीमा एल्मुनियम वा स्टेनलेस स्टिलको भाँडो प्रयोग गर्नुपर्ने, भवन तथा भौतिक संरचना राम्रो हुनुपर्ने, उत्पादन स्थलमा टायल वा मार्वल प्रयोग गर्नुपर्ने, झ्याल ढोकामा जाली हुनुपर्ने, पानीको स्वच्छ तथा स्रोत राम्रो हुनुपर्ने, कामदारले एप्रोन, मास्क प्रयोग गर्नुपर्ने उल्लेख छ ।


त्यसैगरी निर्देशिकामा ढल नालाको व्यवस्था हुनुपर्ने, हातधुने सुविधा, भण्डारण सुविधा, प्रयोगशालाको उचित व्यवस्थापन, स्यानिटेशनबारे जानकारी हुनुपर्ने, उपकरण तथा प्रशोधन यन्त्रहरू फुड ग्रेडको हुनुपर्ने लगायत उल्लेख छ । तर अनुगमन गरिएका उद्योगमा उल्लेखित मापदण्ड पूरा गरेको नपाइएको डिभिजन प्रमुख सिंहले जानकारी दिए ।

प्रकाशित : भाद्र ७, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?