कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाइक चोर्दै, स्वरूप फेर्दै

रौतहट — चोरिएको मोटरसाइकल (बाइक) को स्वरूप फेरेर बिक्री गर्ने एक गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । बाइकको स्वरूप फेर्ने ग्यारेज पनि प्रहरीले भेट्टाएको छ । 

रौतहटबाट चोरिएका मोटरसाइकल बाराको कोलहवी बजारस्थित एक ग्यारेजमा स्वरूप परिवर्तन गरेर बिक्री गर्ने गरिएको खुलेको छ । चन्द्रनिगाहपुरबाट ४ दिनअघि चोरी भएको मोटरसाइकलको खोजी गर्दा बाराबाट प्रहरीले गिरोहलाई पक्राउ गरेको हो ।


उनीहरू लामो समयदेखि राति र दिउँसो मोटरसाइकल चोरी गर्दै आएका थिए । घर, पसल र बाटोमा राखिएका मोटरसाइकल चोर्ने त्यो गिरोह ग्यारेजमा स्वरूप फेरेर बिक्री गर्ने गरेको थियो ।


मोटरसाइकल चोरी गरेको आरोपमा फतुआ विजयपुर ११ का कमल चौधरी, अरुण चौधरी र अखिलेश चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए । ‘पेसेवरको रूपमा उनीहरूले एकान्त र मानिस नभएको मौका छोपेर मोटरसाइकल चोरी गरेको खुलेको छ,’ उनले भने, ‘गिरोहलाई पछयाउँदा बारास्थित ग्यारेजबाट स्वरूप बदल्ने क्रममा नियन्त्रणमा लिइयो ।’ उनीहरूको साथबाट स्वरूप परिवर्तन गरिएको एउटा मोटरसाइकल र विभिन्न पार्टपुर्जा बरामद गरिएको एसपी खत्रीले जनाए ।


पक्राउ परेकाहरूले एक महिनाको अवधिमा ३ मोटरसाइकल चोरेको स्विकारे । उनीहरूले गत असार १९ मा चन्द्रपुर ४ स्थित एक घरबाट ना६२प ९४९० नम्बरको कालो रंगको २२० सीसीको पल्सर मोटरसाइकल चोरेको बयान दिएका छन् ।


यस्तै, साउन ३१ गते राति वृन्दावन ३ का सोनालालप्रसाद यादवको ना४६प २२८२ नम्बरको २२० सीसीको कालो रंगको पल्सर मोटरसाइकल चोरी भएको थियो ।

प्रकाशित : भाद्र ५, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?