कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

ज्वरोका बिरामीले अस्पताल भरिभराउ

(सर्लाही) — मलंगवास्थित जिल्ला अस्पताललगायत निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामीको उपचार गराउने भीड लागेको छ । वर्षासँगै गर्मी बढेको समयमा विभिन्न रोगका किटाणु सक्रिय हुने भएकाले भाइरल ज्वरोका बिरामीको संख्या बढेको हो । 

शारीरिक रूपमा कमजोर बालबालिका, वृद्धवृद्धा, भाइरल ज्वरो, टाइफाइड र झाडापखालाजस्ता रोगबाट प्रभावित भएका छन् । मौसमको परिवर्तनले अस्पतालमा बिरामीको संख्या बढ्न थालेको जिल्ला अस्पतालले जनाएको छ । वर्षाका बेला तापक्रम कम हुने र वर्षा नभएका बेला तापक्रम बढ्ने भएकाले भाइरल ज्वरोको प्रकोप देखिएको अस्पतालका मेडिकल सुपरिडेन्ट वीरेन्द्र मण्डलले बताए । उनले वर्षापछिको दूषित पानी र गर्मी बढी भएकाले स्वास्थ्यमा समस्या देखिएको जानकारी दिए । गर्मी मौसममा बासी खानेकुरा खाएर पनि कति बिरामी परेर उपचारका लागि आउने गरेको मण्डलको भनाइ छ । ‘पहिले दिनमा झन्डै एक सयको हाराहारीमा बिरामी आउने गर्थे, अहिले बिरामीको संख्या २ गुणाले बढेको छ,’ उनले भने, ‘अस्पताल अहिले भाइरल ज्वरोका बिरामी र झाडापखालाका बिरामीले भरिभराउ छ ।’


मौसमी बिरामीले सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन् । विद्यालयमा पढ्न आउने बालबालिका एकाएक बिरामी पर्न थालेको विद्यालयले जनाएका छन् । एक त चर्को गर्मी दोस्रोमा जस्ताले छाएको छानाका कारण पनि सामुदायिक विद्यालयका बालबालिका बिरामी पर्न थालेका अभिभावकको गुनासो छ । यता अत्यधिक गर्मीका कारण मंगलबार मात्र कविलासी नगरपालिका–७ स्थित युनिभर्सल एकेडेमीमा दर्जनौं बालबालिका बिरामी परेका छन् । कक्षाकोठामा पंखाको ब्यवस्था गरे पनि बालबालिका बिरामी परेको एकेडेमीले जनाएको छ । कक्षाकोठामै विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालयले अभिभावकलाई बोलाएर विद्यार्थी जिम्मा लगाएका थिए । तिनीहरू सबैमा भाइरल ज्वरोको प्रकोप देखिएको थियो ।


भाइरल बिरामीले अस्पताल तथा निजी क्लिनिक भरिभराउ रहेकाले टिकट लिन र चिकित्सकसँग स्वास्थ्य जाँच गराउनका लागि घण्टौं पालो कुर्नुपर्ने अवस्था छ । अहिले भाइरलका रूपमा देखापरेका रोगहरू मौसमी भएकाले विशेष सजग रहन र केही शंका लागे नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गर्न मण्डलले सुझाव दिए । चिकित्सकका अनुसार अधिकांश बिरामी ज्वरो, रुघाखोकी, टाइफाइड र झाडापखालाले ग्रसित भएर आउने गरेको जनाए । मौसमी रोगबाट बच्न उमालेको वा प्रशोधित गरिएको पानी पिउन, हाछ्युँ गर्दा रुमालको प्रयोग गर्न, बासी सडेगलेको खानेकुरा नखान र तातो घाममा ननिस्कन चिकित्सकले सुझाएका छन् ।


प्रकाशित : भाद्र ४, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?