कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपभोक्ताले पाएनन् खानेपानी 

(सुनसरी) — धरानमा खानेपानी आयोजनाले उपभोक्तालाई पानी वितरण गर्न सकेको छैन । मन्त्रिपरिषद्ले नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति र दायित्व खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गर्ने निर्णय गरेको भए पनि संस्थाको आनाकानीले गर्दा काममा ढिलाइ भएको हो । 

संस्थानले वार्षिक ९ करोड रुपैयाँसम्म आम्दानी गरेर अन्य शाखाका कर्मचारी पालिएकाले धरान बोर्डमा समायोजन हुन आनाकानी गरेको धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जु भण्डारी सुवेदीले बताइन् । उपमहानगरपालिकाले आइतबार एकीकृत सहरी विकास आयोजना अन्तर्गतको धरान खानेपानी आयोजनाको प्रगतिबारे पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘०७५ असार ३१ मा बसेको मन्त्रिपरिषद्ले संस्थानको सम्पत्ति र दायित्व बोर्डमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।’ त्यसपछि परेको मुद्दामा पनि सर्वोच्च अदालतले विपक्षीको रिट नै खारेज गरेर धराने उपभोक्ताको पक्षमा फैसला गरेको छ ।


उनले धरानमा सञ्चालित खानेपानी आयोजना सफल हुन संस्थानको सम्पत्ति र दायित्व बोर्डमा समायोजन गरेरै छाड्ने बताइन् । सस्थानका कर्मचारी नआए बोर्डले कर्मचारी नियमावलीअनुसार नयाँ कर्मचारी नियुक्त गर्ने पनि चेतावनी दिइन् । उपमहानगरपालिकाले नेपाल सरकार तथा एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा धरानको दीर्घकालीन खानेपानीको समस्या समाधानका लागि खानेपानी आयोजना सञ्चालनमा आएको हो ।


सन् २०१२ मा एसियाली विकास बैंक, नेपाल सरकार, एकीकृत सहरी विकास आयोजना र धरान नगरपालिकाबीच सम्झौता भएको थियो । संस्थानको सम्पत्ति र दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तर गर्ने सर्तमा एसियाली विकास बैंकले एकीकृत सहरी विकास परियोजना अन्तर्गतको धरानमा खानेपानी आयोजनाका लागि सन् २०१२ मा २२.७ मिलियन अमेरिकी डलर ऋण तथा अनुदान दिएको थियो ।


लोकसेवा आयोगले समेत बोर्डले तयार पारेको कर्मचारी नियमावलीलाई स्वीकृत गरिसकेकाले धरानमा सञ्चालित खानेपानी आयोजना अप्रेट गर्न उपमहानगरपालिकाले कर्मचारी समायोजनका लागि चार दिनअघि संस्थानको धरान शाखालाई पत्र पठाएको थियो । हालसम्म कुनै जवाफ नआएकाले संस्थानको कर्मचारी बोर्डमा नआए नयाँ कर्मचारी नियक्त प्रक्रिया सुरु गर्ने बोर्डका अध्यक्षसमेत रहेका उपमहानगरपालिकाका कार्यवाहक प्रमुख भण्डारी बताइन् । उनले भनिन्, ‘आयोजना सम्पन्न गर्ने अवधि सन् २०१९ डिसेम्बर ३१ सम्म छ । त्यसपछि नौ महिनासम्म ठेकेदार कम्पनी तियान्जीन तुदी जेभिले अप्रेट गरेर सफल भए नभएको देखाउन बाँकी छ । यसबीच पनि संस्थानका कर्मचारी बोर्डमा आएनन् भने नयाँ कर्मचारी नियुक्त गर्नेछौं ।’


आयोजना प्रमुख इन्जिनियर राजु पोखरेलका अनुसार आयोजनाले रेल्वे सिस्टम सफलताका साथ पूरा गरेर ३ हजार धारामा पानी वितरण गरिरहेको छ । पिण्डेश्वर सिस्टमबाट पानी वितरण सुरु गरेको छ । विजयपुर सिस्टम विवादमा आएकाले वैकल्पिक उपाय हुँदै छ । आयोजनाका लागि प्रमुख प्रसारण पाइपलाइन ९२ किलोमिटर ३ मिटर बिछ्याएको र वितरण पाइपलाइन ४ सय १५ किलो मिटर ५९ मिटर विस्तार गरिसकेको बताए ।

प्रकाशित : भाद्र ४, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?