कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्नी हत्यापछि फरार कुर्मी पक्राउ

पर्सा — पत्नीको हत्या गरी फरार कालिकामाई गाउँपालिका ५ सिमराका ३५ वर्षीय मुक्तिनारायण राउत कुर्मीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उनलाई सोही वडाको बौद्धीमाई मन्दिर नजिकको उखु बारीबाट पक्राउ गरेको हो ।

कुर्मीले ३५ वर्षीया पत्नी संगीताको शुक्रबार साँझ साढे ५ बजे धारिलो हतियारले घाँटी रेटेर हत्या गरी फरार भएका थिए । इप्रका पोखरियाका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले कुर्मीको रातभरि खोजतलास गरिएको थियो ।


कुर्मी दम्पतीको २ छोरी र १ छोरा छन् । परिवारमा एक बूढी आमा पनि छन् । मुक्तिनारायणले पत्नीको हत्या किन गरे भनी अनुसन्धान भइरहेको प्रनि सिंहले बताए । ‘वैदेशिक रोजगारीका लागि मलेशिया गएका मुक्तिनारायण २ सातअघि मात्र त्यहाँबाट फर्केका र उनले घटनाको समयमा मदिरा सेवन गरेको सम्म यकिन भएको छ,’ सिंहले भने, ‘तर हत्याको पछाडिको मुख्य कारण के हो भन्ने हालसम्म खुल्न सकेको छैन, हामी बयान लिने र अनुसन्धान गर्ने काम गरिरहेका छौं ।’ स्थानीय बासिन्दाले भने संगीताले पतिलाई पागल दाबी गर्ने गरेको र मुक्तिनारायणले त्यही कुरोको रिस पोख्न पत्नीको हत्या गरेको बताएका छन् ।


पारिवारिक कलहको कारण परिवारजनबाटै हत्या भएको यो पहिलो घटना भने होइन । साउन ६ मा वीरगन्ज महानगरपालिका २७ रमगढवाका २५ वर्षीय गुड्डु यादवले ५० वर्षीया आमा शोभा देवीलाई धारिलो वस्तु प्रहार गरी हत्या गरेका थिए । आमाले आफूलाई नसोधी घरको भैंसी बेचेको रिसमा गुड्डुले क्रुरतापूर्वक हत्या गरेका थिए ।

प्रकाशित : भाद्र १, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?