कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिका लागि उक्साउने धामी पक्राउ

कान्तिपुर संवाददाता

धनुषा — धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका शम्भु साहका अढाइ वर्षीय छोरा आर्यन साहलाई बलि दिने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । 

मिथिला नगरपालिका–८ कुसुमबिछौनाका ५२ वर्षीय जंगवीर महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक अवधकिशोर ओझाले बताए । पक्राउ परेका महतोलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको ओझाले बताए ।


प्रहरीले झारफुक र टुनामुना सिकेको सालोलाई तान्त्रिक सिद्धिका लागि बालकको बलि दिन उक्साएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । वैशाख २४ गते बालकलाई छिमेकी शत्रुधन महतोले बलि दिएका थिए । लामो समयदेखि फरार जंगवीर महतो राजमार्ग क्षेत्रका चर्चित धामी हुन् । सालो शत्रुघन पक्राउ परेपछि जंगवीर फरार थिए ।


बालकको बलि दिने घटनामा जंगवीरको संलग्नताबारे अनुसन्धानपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।

शत्रुघनलाई बालक बलि दिन जंगवीरले उक्साएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सालो पक्राउ परेपछि फरार भिनाजु शंकाको घेरामा परेका थिए । फरार धामी जंगवीरको भजनमण्डली पनि छ ।


उनको मण्डलीमा दुई वर्षअघि शत्रुघन नयाँ सदस्यका रूपमा थपिएका थिए । सालो नै भएपछि जंगवीरले शत्रुघनलाई धामीको काम पनि सिकाए । झारफुक र टुनामुनाको मन्त्र पाएपछि शत्रुघनले सामान्य बिरामी पर्दा छरछिमेकका बच्चाको उपचार गर्न थालेका थिए ।


आर्यनलाई ‘चकलेट दिन्छु’ भनेर लोभ्याएर घर लगेका शत्रुघनले बलि दिएका थिए । घरमा खेल्दै गर्दा अघिल्लो साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास नभेटिएका बालक वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएका थिए ।


बिहान उनकै घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा शव भेटिएको थियो । घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो । शत्रुघनले नै आफ्नो धामी विद्या सिद्धिका लागि गुरुको बहकाउमा बालकको बलि चढाएको प्रहरीलाई बताएका थिए ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?