कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूस रकमसहित चल्ला व्यापारी पक्राउ

कान्तिपुर संवाददाता

वीरगन्ज — ‘लाइन’ खोलाउनका लागि प्रहरीलाई घूस दिन आएका कुखुरा चल्ला व्यापारीलाई इलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ ।

मंगलबार राति करिब ८ बजेको समयमा प्रहरी कार्यालय पुगेका वीरगन्ज महानगरपालिका २२ मनियारी निवासी उपेन्द्र यादवले प्रहरीलाई चल्लाको कारोबारमा अवरोध नपुर्‍याइदिन १० हजार रुपैयाँ दिएका थिए ।


कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सागर शम्शेर राणाले यादवलाई नगद रुपैयाँसहित नियन्त्रणमा लिएको जनाए । यादवलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको छ । वाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले प्रहरीलाई पैसाले प्रभाव पार्न खोजेका चल्ला कारोबारी उपेन्द्र यादवलाई नियन्त्रणमा लिएको बताए ।


‘तपाईंहरूले पैसा नलिए पनि अरूले लिइ हाल्छन्, हामी अर्कै तरिकाले पनि कारोबार गर्न सक्छौं,’ यादवलाई उद्धृत गर्दै एसपी भट्टराईले भने, ‘पैसा नलिएपछि यादवले अभद्र व्यवहार समेत प्रदर्शन गरेका छन् ।’


नेपालमा कुखुराको चल्लाको मूल्य बढी पर्ने भएकाले कारोबारीले भारतीय चल्ला भित्र्याउने गरेका छन् । भारतीय कुखुरा र चल्ला नेपाल आयातमा प्रतिबन्ध लागेको भए पनि कारोबारीले सीमामा खटिएका प्रहरीको मिलेमतोमा सजिलै भित्र्याउने गरेका छन् ।


भारतीय बजारबाट साइकल र मोटरसाइकलमा भित्र्याइएका चल्ला वीरगन्ज र आसपासका क्षेत्रबाट पिक–अप गाडीमा लोड गरी विभिन्न सहरमा पुर्‍याउने गरिएको छ । एक कारोबारीका अनुसार भारतीय ब्रोइलर कुखुराको मूल्य भारतमा २४ रुपैयाँदेखि ४० रुपैयाँसम्म पर्छ । त्यही चल्ला नेपालमा ल्याउँदा ७० रुपैयाँमा बिक्री हुन्छ ।


‘यसै गरी लोहाटन प्रजातिका चल्ला भारतमा ४८ रुपैयाँ पर्छ,’ ती कारोबारीले भने, ‘लोहटनको चल्ला नेपालमा ८५ रुपैयाँमा बिक्री हुन्छ ।’ लोकल कुखुरा जस्तै देखिने लोहटन कुखुरा नेपालमा कम पाइने भएकाले मूल्य बढी पर्छ । पिक अप गाडीको एक खेपमा कारोबारीले खर्च कटाएर २ लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।


त्रिभुवन राजमार्गको वीरगन्ज–पथलैया सडक खण्ड अन्तर्गत पर्ने जितपुर प्रहरी चौकी भारतीय सिमानाबाट करिब २५ किलोमिटरको दूरीमा छ । जितपुर प्रहरी चौकी राजमार्गमा पर्ने बारा प्रहरीको पहिलो चेक पोस्ट हो । त्यहाँसम्म पुग्न पर्सा प्रहरीको आधा दर्जन चेक पोस्ट पार गर्नुपर्छ । सम्बन्ध स्रोतका अनुसार पर्सा प्रहरीबाट लाइन पाइसकेपछि यादव बारा पुगेका थिए ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?