मदिरा विक्रीमा महिला

कान्तिपुर संवाददाता

रौतहट — एक साताअघि इलाका प्रहरी डुमरियाले चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको टेम्पु रोकेर जाँच गर्‍यो । टेम्पुमा दुई महिला चढेका थिए । उनीहरू बसेको सिटमुनि दुईवटा जर्किन भेटियो ।

चन्द्रपुर ४ घर भएका महिलालाई प्रहरीले केरकार गरेपछि उनीहरू मदिरा बजार पुर्‍याउन लगेको स्वीकार गरे । गरुडा, शिवनगर, बिर्ता, धमौरालगायतका बजारमा चन्द्रनिगाहपुरबाट घरेलु मदिराको बिक्री वितरण हुन थालेपछि प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बस, ट्रक, साना सवारीको जाँचमा कडाई गरिएको बताए ।

घरेलु मदिरा ओसारपोसारमा रौतहटमा अहिले महिला सक्रिय देखिएको छ । मदिरा ओसारपोसारमा महिलाको संलग्नता बढेपछि प्रहरीले साना तथा ठूला सवारीमा निगरानी बढाएको छ । बाध्यताले मदिरा बिक्री गरेको महिला स्विकाछन् । पक्राउ परेका महिलाको साथबाट बरामद गरिएको मदिरा प्रहरीले नष्ट गरेको थियो । पछिल्लो समय घरेलु मदिराको ओसारपसारमा महिलाको संलग्नता बढेको एसपी खत्रीले बताए । ‘मदिरारहित जिल्ला बनाउन अभियान थालेका हौं,’ उनले भने, ‘मानिसमा चेतनाको कमीले अवैध मदिरा उत्पादन गर्न छाडेका छैनन् ।’ शान्ति सुरक्षामा प्रभाव पारेको भन्दै प्रहरीले जिल्लाभरि अवैध घरेलु मदिरा उत्पादन र बिक्रीमा कडाइ गरिएको छ ।

जिल्ला प्रहरीबाट खटिएको टोलीले बिहीबार राति गौर नगरपालिका ६ सवगडा र राजदेवी नगरपालिका ८ स्थित लक्ष्मीपुरमा अवैधरूपमा सञ्चालन गरेको २ वटा घरेलु मदिरा भट्टी र मदिरा बनाउन तयार गरी राखिएको कच्चा पदार्थ २ हजार २ सय लिटर, तयारी मदिरा ५ सय लिटर नष्ट गरेको थियो । मदिरा बनाउने मेसिन थान १, कच्चा पदार्थ राख्ने खाली ड्रम थान ६ बरामद गरिएको प्रहरीले जनायो ।

अघिल्लो महिनामा इलाका प्रहरी चन्द्रनिगाहपुरले झन्डै २ हजार लिटर मदिरा बरामद गरेर नष्ट गरेको थियो । जिल्ला प्रहरी कार्यालय गौरका अनुसार आर्थिक वर्षको अन्त्यमा जिल्लाका विभिन्न स्थानहरूमा ५४ वटा अवैध भट्टी नष्ट गरिएको छ । झन्डै १० हजार लिटर तयारी मदिरा बरामद गरी नष्ट गरेको जनायो । ११ हजार ७ सय लिटर मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको एसपी खत्रीले बताए । मदिरा बनाउने विभिन्न खाले १ सय ३२ वटा भाडा बरामद गरेको थियो ।

प्रकाशित : श्रावण २७, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्

मुस्ताङमा 'यार्तुङ’ याम

गाउँपालिका र रानीपौवाको जनप्रिय युवा क्लबले पर्यटन बोर्डको सहयोगमा यार्तुङलाई सोमबारदेखि बिहीबारसम्म महोत्सवकै रुपमा मनाउँदै छन् 
दीपक परियार

मुस्ताङ — बर्खा सकिँदै छ । बर्खाले कम छुने हिमाली भेगमा यसैलाई बिदाइ गर्न चाड नै मनाइन्छ । बर्खालाई बिदाइ गर्न मुस्ताङमा ‘यार्तुङ’ मनाइँदै छ । जनैपूर्णिमाको दिन यार्तुङ मनाउन बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ रानीपौवा क्षेत्र झकिझकाउँ छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ रानीपौवा क्षेत्रमा सोमबारदेखि सुरु हुने यार्तुङ महोत्सवमा तारा खेल प्रतियोगितामा सहभागी हुन अभ्यास गर्दै घरपजोङ गाउँपालिकास्थित ठिनी गाउँका युवा । तस्बिर : दीपक/कान्तिपुर

गाउँपालिका र रानीपौवाको जनप्रिय युवा क्लबले पर्यटन बोर्डको सहयोगमा यार्तुङलाई सोमबारदेखि बिहीबारसम्म महोत्सवकै रूपमा मनाउँदै छन् । पहिले एक दिन मात्रै यार्तुङ मनाइने भए पनि क्लबले केही वर्षयता भने महोत्सवकै रूपमा मनाउँछ ।

यहाँ बर्सेनि विशेष रूपले मनाइन्छ । हिमाली भेगहरू मनाङ, गोरखाको चुमनुब्री, डोल्पामा समेत यार्तुङ मनाइन्छ । मुक्तिनाथ रानीपौवाका मुखिया सुरज गुरुङका अनुसार पहिला तिब्बती क्यालेन्डरअनुसार यार्तुङ मनाइन्थ्यो । अहिले भने नेपाली पात्रोअनुसार हुन्छ । स्थानीयले सल्लाह गरी केही वर्षयता हरेक वर्ष जनैपूर्णिकाको दिन यार्तुङ मनाउन थालेका हुन् ।

तिब्बती भाषामा ‘यार’ को अर्थ ‘बर्खा’ र ‘तुङ’ को अर्थ ‘मेला’ हुन्छ । बर्खालाई बिदाइ गर्ने पर्वको रूपमा हिमाली भेगका स्थानीयले यार्तुङ मनाउने गर्छन् । यार्तुङमा हुने गतिविधि घोडचढीसँग जोडिन्छन् । मुस्ताङका स्थानीय युवाले घोडचढी कौशल देखाउने अवसरको रूपमा यार्तुङलाई लिन्छन् ।

यार्तुङको समयमा स्थानीयवासीले विशेषगरी गरगहना सापटी मागेर लगाउने प्रचलन समेत छ । गाउँपालिका अध्यक्ष फेञ्चोकछेप्तेन गुरुङका अनुसार यार्तुङ मनाउने दिन स्थानीय आआफ्नो घोडा सजाएर गुम्बामा भेला हुन्छन् । मुक्तिनाथ मन्दिर पुग्छन् । त्यहाँ रहेको नरसिंह गुम्बामा पूजाआजा गरी साँझतिर टोलमा फर्कन्छन् । घोडचढीका लागि तयार गरिएको स्थानमा स्थानीय युवाले घोडचढी कौशल प्रदर्शन गर्छन् ।

परम्परागत रूपमा मनाइँदै आएको यार्तुङलाई संरक्षण गर्न यसलाई महोत्सवको रूप दिइएको उनी बताउँछन् । ‘ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वको यार्तुङ महोत्सवलाई यस पटक बृहत् रूपमा सञ्चालन गर्दै छौं,’ उनी भन्छन्, ‘गाउँपालिकाभित्रको सांस्कृतिक विविधता प्रदर्शन, गाउँगाउँ बीचका युवाको सम्बन्ध प्रगाढ बनाउन महोत्सव लाभदायी हुनेछ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीका अनुसार महोत्सव सुरु हन थालेदेखि घोडचढीलाई प्रतियोगिताको रूपमा मनाउन थालिएको छ । ३.५ किलोमिटर र १.५ किलोमिटर गरी दुई फरक दुूरीको घोडादौड प्रतियोगिता महोत्सवमा हुनेछन् ।

घोडादौड झारकोटदेखि रानीपौवासम्म तय गरिएको छ । विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पाउनेछन । प्रस्तावित हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माणस्थलमा सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुँदै छ ।
हिमालको काखमा मुक्तिनाथका साथमा याकमा सवार गर्न सकिनेछ ।

गाउँपालिकाभित्रका १९ गाउँका परम्परागत वेशभूषा प्रदर्शन महोत्सवमा हुनेछ । ऐतिहासिक मास्क डान्स महोत्सवको आकर्षण हो । मुस्ताङमा यार्तुङ मनाउन विदेशमा रहेका मुस्ताङवासीसमेत फर्केर आउँछन् । महोत्सवमा २ करोड रुपैयाँबराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । १० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमानछ । फापरको पिठो, खुपार्नी, स्याउ तथा जिम्बुलगायत स्थानीय उत्पादनको बिक्री वितरण महोत्सवमा हुने छ ।

प्रकाशित : श्रावण २७, २०७६ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्