बाढी र डुबान पीडितको तथ्यांकमै 'राजनीति'

भरत जर्घामगर

सिरहा — राहत पाउने आशामा रहेका कमला, गागन लगायतका नदीको बाढी र डुबानबाट पीडित परिवार जनप्रतिनिधिसहितको टोलीले तथ्यांक संकलनका क्रममा आफन्त र कार्यकर्ताकोसमेत नाम राखेपछि वास्तविक पीडित थप पीडामा परेका छन् । 

उनीहरुले तथ्यांक संकलन टोलीले वास्तविक पीडितको नाम छुटाएर गैरबाढी पीडितको नाम पीडितको सूचीमा राखेपछि थप पीडामा परेका हुन्।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पीडितको नामावली संकलन गर्न प्रहरी, रेडक्रस, वडाध्यक्ष वा वडाका प्रतिनिधि र स्थानीय राजनीतिक दलको प्रतिनिधि सम्मिलित टोली बनाउने निर्णय गरेको थियो। सोही टोली तथ्यांक संकलनमा परिचालन गरिएको थियो। तर, टोलीमा राजनीतिक दलका प्रतिनिधि र वडाध्यक्ष हावी भए।

सिरहाको सखुवानन्कारट्टी गाउँपालिका–१ ले बाढी र डुवानमापरी घरबारविहीन भएकालाई राहत सामग्री वितरण नगरी बाढी र डुबानबाट पीडित नै नभएकाहरुलाई ‘फर्जी’ पीडित बनाएर हुने खाने र निकटकालाई राहत सामग्री वितरण गरेको आरोप लगाउँदै पीडितले वडा कार्यालय नै घेराउ गरे।

मौवाहीका भूमिहीन दलित धनबीर सदा र उर्मीला सदा मुसहरको फुसको छाप्रो वर्षाको भेलले लड्यो। गरिबीको कारण घर निर्माण गर्न नसक्दा यी पीडित तीनसातादेखि खुल्ला आकाशमूनि रात बिताउँदै आएका छन्। तर यिनले अहिलेसम्म राहत त पाएनन् नै उनीहरुको पीडितको सूचीमा समेत नाम छैन। धनबीर र उर्मीलामात्र होइन बाढी र डुबानले मौवाही गाउँको मुसहरी बस्तीका २२ घरमा क्षति भएको छ। यो बस्तीका बाढीपीडितहरुले पनि राहत नपाएको गुनासो पोखे।

‘घर लड्यो, घरबारविहीन भयौं। राहत पाउने आशामा थियौं, बाड्न आउँदा हामी राहत पाउनबाट बञ्चित भयौं,’ उर्मिला सदायले भनिन्। निरक्षर रहेकी उनले पढेलेखेकालाई नाम हेर्न लगाइन। सूचीमैं नाम नभएपछि थप पीडा महशुस भएको उनले सुनाइन्।

बाढीले घर भत्काएपछि छिमेकीको घरमा आश्रय लिइरहेकी औरही गाउँपालिका–४ की अमिरिकादेवी यादव राहत वितरण भइरहेको खबर सुनेर सुन्दर जनता माविमा पुगिन्। दिउँसो १२ बजे चर्को घाममा लाइन बसेकी उनी रित्तो हात घर फर्किइन्। उनको पनि पीडितको सूचिमा नाम थिएन।

‘छिमेकीको घरमा बसेको बेला वडाध्यक्ष, प्रहरीले नाम लेखेर लगेको थियो,’ उनले भनिन्, ‘तर, राहत लिन आउँदा नामै नभेटेपछि रितै फर्किदैछु।’ उनी जस्तै सोही वडाका रामगणेश सदाय, सवित्रीदेवी यादव, सरितादेवी यादव पनि राहत लिन आएका २५ जनाभन्दा बढी परिचय पत्र पाउने सूचीमा नामै नभेटिएपछि रित्तो घर फर्के। सखुवानन्कारकट्टी र औरहीका बाढीपीडित मात्र होइन जिल्लाका अन्य स्थानका बाढीपीडितले गाउँका ‘ठूलाबडा’ले आफू निकटकालाई पीडितको नाममा राखेपछि राहतबाट आफूहरु बञ्चित हुनुपरेको आरोप लगाए।

यसैबीच गाउँपालिकाले पीडितको सूचिमा विरोध भएपछि गाउँपालिका उपाध्यक्ष अमलादेवी यादवको संयोजकत्वमा वडाध्यक्षहरु, प्रहरी, रेडक्रस प्रतिनिधि, सञ्चारकर्मी सम्मिलित अनुगमन टोली गठन गरेको छ।

उता औरही गाउँपालिका अध्यक्ष सिदार्थ यादवले केही व्यक्तिहरुले आफूहरुको नाम छुट भएको भन्दै गाउँपालिकामा निवेदन दिएको र उनीहरुको घर निरीक्षण गरी राहत उपलब्ध गराइने जानकारी दिए। उनले कोही पनि वास्तविक पीडितलाई राहतबाट बञ्चित नगराइने बताए।

तथ्यांक नै फरक
औरही गाउँपालिका–२ तुलसीपुरमा वास्तविक बाढी पीडित छुटेको र गैरबाढी पीडितको नाम पीडितमा राखेपछि विवाद भएको थियो। विवादपछि त्यहाँ १८ जना गैरबाढी पीडितको नाम हटाएर केही वास्तविक पीडितलाई थप गरिएको थियो।

सिरहा नगरपालिका ६ मा वडाध्ध्यक्षले संकलन गरेको तथ्यांक र जिल्ला विपद् व्यवस्थापन समितिबाट खटाइएको टोलीले गरेको तथ्यांकमा फरक पर्‍यो। त्यसैगरी सोही नगरपालिका १७ मा पनि उही समस्या दोहोरीयो ‘तथ्यांकमा हेरफेर’। वडाध्यक्षले फरक फरक तथ्यांक पेश गरेपछि तथ्यांकमा फरक परेको थियो।

जिल्ला विपद् व्यवस्थापन समितिले परिचय पत्रका आधारमा राहत वितरण गरिदा सही पीडितको हातमा राहत पुग्ने, दोहोरिने र पीडित राहतबाट बञ्चित नहुने भएकाले ‘परिचय पत्र’ लागू गर्‍यो। बाढी पीडितको नामाबली संकलन गर्न प्रहरी, रेडक्रस, वडाध्यक्ष वा वडाको प्रतिनिधि र स्थानीय राजनीतिक दलको प्रतिनिधि सम्मिलत टोली बनाउने निर्णय गरेको थियो। प्रहरी र रेडक्रसको प्रतिनिधि वडामा पुग्दा कतिपय ठाउँमा वडाध्यक्षले नै टोलीलाई संकलनमा सहयोग गरेनन्।

‘प्रभावितहरुको तथ्यांक संकलनमा केही गडबड देखिएको छ,’ सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भने ‘त्यसलाई सच्चाउने कार्य भइरहेको छ।’ केही वडाध्यक्षहरुले पीडितको नाम काटेको र थपेको पाइएकाले तथ्यांकमा केही फरक पाइएको उनले जानकारी दिए।

प्रहरी र रेडक्रसको प्रतिनिधि खटाएर फेरी तथ्यांक संकलन भइरहेको उनले जानकारी दिए। बाढीपीडितको नाममा जनप्रतिनिधिले राजनीति गरिरहेको अधिकारकर्मी राजकुमार राउत कुर्मीको आरोप छ। ‘वास्तविक पीडितलाई पनि पार्टीगत रुपमा हेरेर विभेद गरेपछि उनीहरुले राहत पाउन सकेका छैनन्,’ उनले भने ‘विपद्मा राजनीति गर्नु उचित होइन।’

सिंचाइका लागि कमला नदी नियन्त्रण योजना कार्यालय जनकपुरले निर्माण गरेको ३ वटा कल्भर्टमा ‘एन्टी लड सुलुस गेट’ अधुरै छोड्दा गत असारमा परेको लगातारको बर्षाबाट कमला खोलाको बाढी गाउँमा पसेको थियो। लगातारको वर्षाबाट बाँध भत्काएर कमला खोलाको बाढी पसेपछि सिरहाको तटीय क्षेत्र सारस्वर, बसबिटा, मखनाहा, कठकोल्वा, गम्हरिया लगायत दर्जनौं गाउँ डुबानमा परेका थिए। बाढी र डुबानबाट सबैभन्दा बढी क्षति सिरहा नगरपालिकाका १२, ६, १७, ३, १३ वडा र कल्याणपुर नगरपालिकाको १२ वडा बढी पीडित छन्।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार अविरल वर्षाका कारण सिरहामा ४ हजार ५ घर पूर्ण प्रभावित भएका छन्। त्यसैगरी ७ हजार ७ सय ७१ परिवार आंशिक प्रभावित भएका छन्। बाढीमा परी सिरहामा ५ जनाको मृत्यु भएको थियो।

प्रकाशित : श्रावण २१, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मेलम्चीको पानी

कान्तिपुर संवाददाता

मेलम्ची आयोजना लागू होला र मनग्गे पानी पिउँला भन्ने उपत्यकावासीका आकांक्षा पूरा हुने छाँटकाँट तत्काल देखिँदैन  । मेलम्चीको न्वारन गरिएको २०४६ सालको मुलुकमा आएको परिवर्तनपछि हो  ।

तर जति मेलम्ची आयोजनाको उमेर हुर्किंदै बाल, युवा र अधबैँसेको समयावधि ग्रहण गरे पनि नतिजा शून्यप्रायः छ । किनकि जबसम्म उपत्यकावासीका धारामा धरर्र मेलम्चीको पानी झर्दैन, तबसम्म अंकगणितीय हिसाबले यस आयोजनालाई सफल भनी किटानीसाथ ग्रेड तोक्न मिल्दैन । कागजी हिसाबले आयोजनाले आजसम्म ९७ प्रतिशत कार्य सम्पन्न भएको भनी बताइरहँदा व्यावहारिक हिसाबले हेर्दा यो ठ्याक्कै उल्टो छ । पानी झरेपछि शतप्रतिशत काम भएको भनी ग्रेडिङ गर्ने सूत्र प्रयोग गर्ने हो भने पानी नआउँदासम्मको प्रगति ‘जिरो’ भन्ने कि नभन्ने ? यसो भन्दा कसैलाई चित्त दुख्न जाला पनि । तर हजारपटक ‘मेलम्ची छिटै आउने’ भनी पटक–पटक झुट बोलेर आजसम्म लाखौँलाई पानी खान नदिने षडयन्त्र गरिएकोमा तिनका दुखेका चित्तचाहिँ पत्थरका हुन् ? तर त्यहाँ भएको केचाहिँ सत्य हो भने जब–जब काम सकिन थाल्छ, त्यति नै चुनौतीका चाङले मेलम्ची छोपिएको छ । यसको मतलव उपत्यकामा पानी ल्याउन सिंहदरबारको भित्री ढोकादेखि मेलम्चीका सुरुङसम्म तेर्सिने हरेक चौबाटाका तगारारूपी भूतप्रेत, आइतबारेहरूलाई मन्छन सक्नुपर्छ । फेरि कोही जैविक नामले कोही वातावरणका नामले कोही दान लिने हेतुले कोही थर्काउने मनसायले र कोही रोक्ने अभिप्रायका जिब्रो लप्काएर बसेका वरिष्ठ, कनिष्ठहरूलाई खुसी नपारिकन मेलम्ची आउनै सक्दैन ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौँ

प्रकाशित : श्रावण २१, २०७६ १२:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT