कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डक नहरको दुर्दशा : सडकमा खाल्डो, पुल जीर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — गण्डक नहरको सडक र पुल जीर्ण हुँदा पर्सा, बारा र रौतहटका ग्रामीण क्षेत्रका बासिन्दालाई हिंडडुल गर्न समस्या परेको छ । नहरको अधिकांश सडकमा खाल्डाखुल्डी छ । पुलको पत्रपत्र जीर्ण बनेको छ ।

गण्डक नहरको दुर्दशा : सडकमा खाल्डो, पुल जीर्ण

शंकर आचार्य (पर्सा)



झन्डै ४५ वर्षअघि बनेको नहरको सर्भिस रोडमा अढाई दशकयता सर्वसाधारणले यात्रुवाहक तथा मालवाहक सवारीसमेत चलाउन थालेपछि सडकको दुरावस्था भएको हो । पर्सा, बाराका विभिन्न स्थानमा नहरको ग्राभेल सडक भास्सिनुका साथै खाल्डाखुल्डी भएको छ ।


३ वटै जिल्लाका विभिन्न स्थानीय तहले नहरमा सडक कर उठाउँदै आएका छन् । तर, सडक मर्मतसम्भारमा कुनै निकायको चासो छैन ।


नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर एवम् सूचना अधिकृत सुरेश साह पर्साको जगरनाथपुरदेखि रौतहटको वाग्मती खोलासम्म नहरको लम्बाई ८१ किमि रहेको र नहरको तल सर्भिस रोड रहेको बताउँछन् । कार्यालयले आफ्नो प्रयोजनमा मात्र प्रयोग गर्दै आएको नहरको सर्भिस रोड २०५० साल ताका स्थानीय नेताको दबाबमा खुला भएपछि यसको दुर्दिन सुरु भएको हो । सडक मात्र नभई यसमा रहेका पुल पुलेसा पनि अत्यधिक भार वहनका सवारी साधनको आवागमनका कारण जीर्ण भइसकेको साह बताउँछन् ।


‘नहरको सर्भिस रोडमा पर्सा र बारामा ग्राभेल छ भने रौतहटमा पक्की सडकनै बनाइएको छ, यसका लागि कार्यालयसँग अनुमति भने लिइएन,’ उनले भने, ‘हलुका सवारी साधनका लागि मात्र डिजाइन गरिएको पुल र सडकमा निर्वाध रूपले भारी सवारी साधन गुडिरहेका छन्, हामीले अझै पनि कार्यालयका भारी उपकरण यो सडक भएर चलाउँदैनौं, तर, हाम्रै अघिल्तिरबाट अन्यले भारी सवारीसाधन हुइँक्याएर लगेको देख्दा मन कटक्क हुन्छ ।’


विगतमा ४ सय ५० कर्मचारी रहेको कार्यालयमा हाल जनशक्ति घटेर ५० मा झरेको साह बताउँछन् । यस्तो अवस्थामा कार्यालयको काम वा नहरका संरचनाको रेखदेख कुन कामलाई प्राथमिकता दिने भनी आफूहरू पनि अन्योलमा रहेको उनले बताए । ‘पहिले नहरमा चौकिदार, ढल्पा, गेट अपरेटर जस्ता कर्मचारी प्रशस्त हुन्थे, अब सबैले अनिवार्य अवकाश पाइसके, उनीहरूको अवकाशसँगै दरबन्दी पनि समाप्त भएको छ, सीमित जनशक्तिले धान्न सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘रेखदेख र नियमित मर्मत सम्भार अभावले नहर, यसका पुल, साइफल, सर्भिस सडक आदि समेतको स्थिति नाजुक बनिसकेको छ ।’


पर्सा, बारा र रौतहटका लागि वैकल्पिक तथा ग्रामीण भेगको यो सडकका पुल पुलेसा भत्किएर जुनसुकै बेला ठूलो मानवीय क्षति हुनसक्ने सम्भावना रहेको सामाजिक अभियन्ता प्रकाश थारू बताउँछन् । ‘गण्डक नहर र यसको सडक यी तीन वटै जिल्लाको मेरुदण्ड हो,’ थारूले भने, ‘हामीलाई नहर मात्र होइन सडक पनि चाहिन्छ, त्यसलाई बचाउने र आउने पुस्ताका लागि जोगाई राख्नु नारायणी सिँचाइ कार्यालयको जिम्मेवारी मात्र होइन, हामी सबैको हो ।’

जीर्ण भएका पुल पुलेसाको ठाउँमा नयाँ पुल बनाउन मात्र ४ अर्ब रुपैयाँभन्दा बढी बजेट लाग्ने अनुमान इन्जिनियर साहको छ । नहरका दुई दर्जन पुल जीर्ण भइसकेका छन् । तत्कालै मर्मत सम्भार नगरिए केही जुनसुकै बेला पनि क्षतिग्रस्त हुने अवस्थामा पुगेका छन् । यो नहरमा १४ ठूला पुल छन् । अन्य ससाना कल्भर्ट तथा पुलेसाहरू १ दर्जन हाराहारीमा छन् । नहर खण्डमा ओरिया, सिक्टा, गंगोल, धुताहा, नौरंगिया, तिलावे, सिर्सिया, बंगरी, पसाहा, भुतही, अडुवा, लालबकैया, वाग्मती र भकुवा खोलामा गरी १४ वटा ठूला पुल छन् ।


पर्साको सिर्सिया खोलाको पूर्व तर्फको पहिलो पिलर र बारामा बंगरी खोलाको पुल पूर्वी पिलर पनि भासिएकाले पुल क्षतिग्रस्त हुने प्रवल सम्भावना छ । अधिकांश पुलका स्ल्याब डेढदेखि दुई इन्चसम्म भासिसकेकाले सबै पुल जोखिममा छन् । सिर्सिया खोलाको नयाँ पुल बनाउन मात्र कम्तीमा २५ करोड रुपैयाँ आवश्यक पर्छ ।


प्रकाशित : श्रावण १९, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?