कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक बन्धन तोड्दै मुस्लिम महिला

रोजगारमूलक शिक्षाले जीवनयापन सहज हुने देखेको समुदाय त्यसप्रति उदार बन्न थालेको छ
सन्तोष सिंह

धनुषा — जनकपुरधाम उपमहानगरपालिका ८ दशरथ नगरकी २० वर्षीया किशोरी रिफत परविन बीएससी एम एल टी प्राविधिक शिक्षा अध्ययन गर्दै छिन् । धार्मिक पढाइले आफ्नो खुट्टामा उभिन नसकिने भएर प्राविधिक विषयको अध्ययन थालेको बताउँछिन् ।

सामाजिक बन्धन तोड्दै मुस्लिम महिला

समयसँगै मुस्लिम समुदायमा समेत मजहबी पढाईका साथसाथै एकेडमिक कोर्स पनि गराउनुपर्छ भन्ने सोच विकास भएको उनी बताउँछिन् । मुस्लिम समुदायमा अझै पनि धार्मिक र मजहबी पढाउने परम्परा छ । बिना बुर्का निस्किन न हुने समुदायबाट पैन्ट–सर्ट लगाएर स्कुल, कलेज पढ्न जानु र केटाहरूको बीचमा बसेर विभिन्न विषयमा छलफल गर्न पाउनुले मुस्लिम समाज लचक भएको रिफतले बताइन् ।


आमाले छोरीलाई धेरै पढाउनुपर्छ भनेर बुवालाई कन्भिन्स गरेर प्राविधिक शिक्षा पढनु मुस्लिम समुदायको ठूलो परिवर्तनका रूपमा उनी लिन्छिन् । ‘मुस्लिम महिला महिनावारीबारे घरमा कसैलाई जानकारी गराउन पाउँदैनन्,’ उनले भनिन्, ‘सामाजिक बन्धनलाई तोडदै आमाबुवाले बजारबाट सेनिटरी प्याड ल्याइदिन्छन् ।’ जनकपुरका अधिवक्ता अब्दुल अजिज आलम मुस्लिम महिलाका लागि आधुनिक शिक्षामा जोड दिन्छन् । ‘महिला शिक्षित नभएसम्म कुप्रथा अन्त नहुने र शिक्षाका लागि घर बाहिर निस्किनु पर्ने हुन्छ,’ अधिवक्ता अब्दुल अजिज भने ।


किशोरीलाई प्राविधिक शिक्षाका लागि अनुमति दिएको मुस्लिम समुदायमा महिलाको नाममा सम्पत्ति समेत राख्न थालेका छन् । श्रीमतीकै नाममा पनि श्रीमान्ले जग्गा पास गर्नेदेखि लिएर लुगा लगाउने तरिका र घर व्यवहारमा परिवर्तन आएको जनकपुरधाम ८ की ७० वर्षीया बदो खातुन बताउँछिन् । ‘इश्लाम धर्मावलम्वी महिला बिना बुर्का बाहिर निस्किन नपाउने अवस्था अब छैन,’ उनले भनिन्, ‘महिलाले घरका धेरै बन्देज तोडेका छन् ।’ जनकपुर ८ कै तैय्यब राइन मुस्लिम महिलामा स्वतन्त्रताको खाँचो रहेको बताउँछन् ।


गाउँभन्दा सहरमा मुस्लिम समुदायका महिला स्वतन्त्रत छन्, उनले भने, ‘महिनावारी भएको समयमा कुरान सरिफ छुन मिल्दैन । श्रीमान् श्रीमतीसँगै खान मिल्दैन । तर, सामाजिक बन्धन तोड्दै सँगै खान थालेका छन् ।’ मुस्लिम समुदाय परिवार नियोजनलाई गुनाह मान्छन् ।


तर, पछिल्लो सयमा मुस्लिम महिला परिवार नियोजनका साधन प्रयोग गर्न थालेको जनकपुरकी मरियम खातुन बताउँछिन । समुदायमा परिवार नियोजनमा बन्देज रहे पनि विशेष अवस्थामा परिवार नियोजनको इजाजत रहको जनकपुर १६ स्थित फैजाने मदिना मदर्साका मौलवी मुफ्ती उस्मान बरकाती बताउँछन् । तीनपटक तलाख भनेपछि श्रीमान्बाट छुटिने मुस्लिम महिला प्राविधिक शिक्षा, सम्पत्तिमा अधिकार र समाजको सीमा तोड्दै अगाडि आउनु उदाहरणीय परिवर्तन भएको उनले बताए ।


अन्य महिला सरह स्वतन्त्र भएर बाँच्ने अधिकार मुस्लिम महिलालाई पनि राज्यले दिएको छ । राज्यले दिएको अधिकार व्यवहारमा लागु भए मुस्लिम महिलासमेत समाज निर्माणका लागि काँधमा काँध मिलाउन सक्ने महिला अधिकारकर्मी गायत्री मिश्र बताउँछिन् ।

‘मुस्लिम समुदायका महिला सम्मान पूर्वक बाँच्न पाउने अधिकारबाट अझै वञ्चित छन्,’ मिश्रले भनिन्, ‘महिला अधिकारका लागि बर्सेनि करोडौं खर्च हुन्छ ।


तर, पिछडिएका मुस्लिम महिलाको जीवन घरको चार चौखटमा सीमित छ । आकल झुकल उनीहरू घर, समाज र धर्म गुरुको सीमालाई तोडेर परिवर्तनको पथमा अगाडि बढेका छन् ।’ जनकपुरमा मुस्लिम महिला प्राविधिक शिक्षा, सामाजिक स्विकृति र रहन–सहनमा समेत परिवर्तन भएको पाइएको छ ।

प्रकाशित : श्रावण ९, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?